मङ्गलबार, २८ अक्टोबर २०२५

पर्सामा आत्मासुरक्षासम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

News Image
• • •

पर्साको सखुवा पर्सौनी गाउँपालिकामा आत्मासुरक्षासम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। 

मधेश प्रदेशको पर्सा बारा सिरहा जिल्ला भित्रका १० वटा पालिकामा संचालन भइरहेको परियोजना अन्तर्गत आत्मासुरक्षासम्बन्धी तालिम औराहा पचगावा २ मा अवस्थित श्री दीप नारायण आदर्श माध्यमिक विद्यालयमा सम्पन्न भएको हो। 

महिला तथा किशोरीमाथि हुने हिंसाको रोकथामका गर्ने उद्देश्यका साथ सो कार्यक्रम संचालन गरिएको दलित महिला केन्द्र नेपालकी संचिता महर्जनले बताइन्।

अहिले बलात्कारका तथा महिलामाथि हुने दुर्व्यवहार बढ्दो अवस्थामा रहेकाले यस्तो बेलामा स्वयमंको रक्षा कसरी गर्न सकिन्छ भनेर किशोरीहरुलाई आत्मासुरक्षासम्बन्धी तालिमको आयोजना गरिएको हो।

‘यहाँबाट सिकेका अभ्यासहरु बालिकाहरुले स्वयंमको रक्षाका लागि प्रयोग गर्नेछन्। साथै आफ्नो घरपरिवार लगायत आसपासमा रहेका महिला तथा किशोरीहरुलाई पनि सिकाउने छन्। उनले भनिन्, ‘यसरी बालिकाहरु स्वयम सचेत भए अहिले महिलामाथि भइरहेको हिसां तथा दुर्व्यवहारका घटनामा कमी आउने छ।’

सिरहाका करातेका प्रशिक्षक कसम लामा विगत २९ वर्षदेखि करातेका प्रशिक्षक हुन्। अहिले किशोरीहरुलाई आत्मासुरक्षासम्बन्धी तालिम दिइरहेका छन्। प्रशिक्षक लामाले करातेका केही मुभहरुले किशोरीहरुलाई आत्मरक्षा गर्नमा सहयोग पुग्ने बताए। 

‘अहिले नेपालमा महिला हिसांका घटना साथै बलात्कारका घटना त दिनहुँ समाचारमा सुन्न पाइन्छ। यस्तो समयमा महिलाहरुमाथि अचानक यस्तो घटना भए कसरी आफ्नो हातखुट्टाकाे प्रयोग गरेर स्वयमको रक्षा गर्न सक्छिन सो अभ्यास हामीले गराउँदैछौँ’, लामाले भने।

सोलखपुरकी मिना रामलाई आफ्नो सुरक्षा आफैँले कसरी गर्न सकिन्छ भन्ने बारे तालिम लिन पाउँदा आफूहरुको हौसला बढेको बताइन्।

एक छोरीकी आमा मिनालाई आफ्नो सन्तानको सुरक्षा कसरी गर्नेबारे जानकारी पाउँदा अझै सचेत भएको उनको भनाई छ। अहिलेको समाजमा बढिरहेको अपराधिक गतिविधि अनुसार महिलाहरुको लागी यस्तो तालिमको आवश्यक्ता रहेको छ।

अहिले पुरुष सरह महिलाहरुलाई पनि बाहिरी कामकाजका लागि घरबाहिर जानुपर्ने हुन्छ, यस्तो अवस्थामा एकान्तमा आफूमाथि कुनै पुरुषले दुव्यवहार गरे बलबुद्धिको प्रयोग गरी बच्न सकिने जानकारी पाएको २० वर्षीय सुष्मिता चौधरी बताइन्। 

ग्रामिण भेगका विद्यार्थीहरुलाई टाढा स्कुल पुग्नुपर्ने बाध्यता हुन्छ यस्तो अवस्थामा विद्यालय आउँदा अथवा विद्यालयभित्र पनि आफूमाथि कसैले गलत व्यवहार गरे त्यसको प्रतिकार गर्ने तालिम लिन पाउँदा आत्माबल बढेको कक्षा १२ मा अध्ययनरत प्रतिमा कुमारीले भनिन्।

मधेश प्रदेशको सिरहा जिल्लाका ४ वटा पालीका ,बाराको ३ वटा पालिका र पर्साको ३ वटा पालीकामा गरी यस तालिममा अहिलेसम्म ३ सयभन्दा बढी बालिकाहरुलाई दलित महिला केन्द्र नेपालले प्रशिक्षण दिइसकेको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!