प्रचण्डको भारी बोकेर पुड्को बनेका देउवा

ओम आचार्य

विराटनगर
फाइल तस्विर
फाइल तस्विर

नेपाली कांग्रेस १४औं महाधिवेशनपछि खतरनाक मोडमा पुगेको छ। पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि आफूलाई शेरकै रुपमा स्थापित गर्न देउवा क्रियाशील देखिएका छन्।

उनकाे मनोबल यति बढेको छ कि संस्थापन इतर पक्षलाई पेलेर नै अगाडि बढ्ने मनस्थिति देखिनु मात्रै हैन, भातृ संगठन र हालसालै नियुक्त गरिएका केन्द्रीय सदस्यहरुको मनोनयनबाट पनि देखिन्छ। मनोनीत भएका केन्द्रीय सदस्यमा प्रकाशमान सिंह हुन् या कृष्णप्रसाद सिटौला, रामचन्द्र पाैडेल, शशांक काेइराला आखिर हुन्, ती देउवा समूहका नै हुन्। अहिले सिटौला, प्रकाशमान, रामचन्द्र, शशांक यिनिहरुको आफ्नो स्वतन्त्र अस्तित्व छैन भनेपनि हुन्छ।

गिरिजाप्रसाद कोइरालासंग राजनीतिक मतभेद राख्दै पार्टी नै फुटाएर अलग पार्टी बनाएका देउवा पुन: मातृ पार्टी नेपाली कांग्रेसमै फर्केपछि अहिले त्यही पार्टीको दुईकाल सभापति बनिसकेका छन्।

कांग्रेसकाे १४औं महाधिवेसनको दोस्राे चरणको निर्वाचनमा रामचन्द्र पौडेल, शशांक कोइराला, सुजाता कोइरालाको साथ पाएका देउवा निक्कै हौसिएका छन् र पार्टीमा आफूलाई शक्तिशाली रुपमा प्रस्तुत हुन संस्थापन इतर पक्षलाई पेलेरै लाने मुडमा पुगेका छन्।

संस्थापन इतर समूहका नेताका रुपमा देखिएका डा. शेखर कोइराला समूहको अहिले तीव्र विरोध र असन्तुष्टि देखिएको छ। यो समूहले मंसिर ४ मा हुने निर्वाचनमा ४० प्रतिशत भागबण्डा कुरा राख्नु देउवाको संस्थापन इतरलाई पेलेर नै लाने रणनीतिकै कारण आएको हुन सक्छ।

देउवा र शेखरको वार्तामा अब अहिलेसम्म जे भयो अब उप्रान्त सल्लाह गरेर नै अगाडि बढ्ने भन्ने देउवाको विचारले संस्थापन इतर आश्वस्त हुन नसकेको किन पाइन्छ भने त्यसपछि पनि यी दुई समूहमा द्वन्द्व बढिरहेको छ।

अहिले सामाजिक सञ्जालमा शेखर समूहले पार्टी नै फुटाएर भएपनि आफ्नो र आफ्नो समूहको रक्षामा जानेसम्मका समाचार आएका छन्। यस्ता समाचार आउनुमा कांग्रेस देउवा पक्षको कब्जामा जाँदै गरेकोले पनि हो। जस्तो कि अब शेरबहादुर देउवा पत्नी आरजु राणालाई प्रधानमन्त्रीसम्म बनाउने रणनीति संस्थापनको देखिन्छ। पाँचदलीय गठवबन्धनको अर्को भित्री रहस्य यो पनि हो र यसैलाई नतिजामूलक बनाउन गठबन्धनको नाममा सकेसम्म आफ्ना समूहलाई स्थापित गर्दै शेखर समूहलाई सिट बाँडफाँटमा निराशाजनक अवस्थामा पुर्याउन पनि हो।

पाँचदलीय गठबन्धनको सरकार छ र त्यो सरकारको नेतृत्व कांग्रेस सभापति रहेका देउवा प्रधानमन्त्री छन्, तर सरकारमा एक्टिभ रोल भने प्रचण्डको छ। सरकारमा प्रचण्ड भारी देखिएका छन् र उनकाे त्यो भार देउवाले बाेकिरहेका छन्। त्यो भारले देउवा पुड्को हुँदै गइरहेका भएपनि आरजुलाई प्रधानमन्त्री बनाउने सवालमा प्रचण्डको भार खपेका छन्।

अहिले कांग्रेस फुट्न सक्ने आँकलन भइरहेता पनि त्यो सायद हुँदैन। कोइराला परिवारको उर्जाबाट जन्मेको कांग्रेस, कोइराला विरासतबाट उर्वर बनेको कांग्रेस, वीपीको नामसंग जोडिएको कांग्रेस डा. शेखर कोइरालाले पार्टी फुटाएर अलग पार्टी बनाउछँन्। त्यो सायद हुँदैन, त्यो सायद नगर्लान्, किनभने देउवालाई त अझ सहज हुनेछ।

रुख र चारतारा कोइराला परिवारबाट देउवा परिवारमा हस्तान्तरित हुनेछ। देउवाले पार्टी फुटाउनु, कांग्रेसबाट अलग हुनु नेपाली कांग्रेसको इतिहासमा केही फरक परेको थिएन। तर डा. शेखर कोइरालाले पार्टी फुटाउनु भनेको नेपाली कांग्रेस देउवालाई जिम्मा लगाउनु हो। त्यो भुल नगर्लान्, बरु पार्टीभित्रै संघर्ष गर्ने, त्यहीँ आफ्नो जनमत बढाउने र विचार, सिद्धान्त र निष्ठाले देउवालाई कमजोर बनाउँदै लैजाने रणनीति नै शेखरले अख्तियार गर्ने सोच बनाउनुपर्छ या बनाएको हुनसक्छ।

प्रकाशित मिति: : 2022-08-17 22:00:00

प्रतिकृया दिनुहोस्