हर्क र बालेनले मात्र होइन, स्वतन्त्र सबैले सहयोग गर्छन् : सुमन सायमी (भिडियो)

काठमाडाैँको नेवा समुदायमा जन्मिएका एक व्यापारी तथा काठमाडौँको संस्कृति संरक्षणका अभियान्ता हुन्, सुमन सायमी। उनले उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति अध्यक्ष, उपत्यका सरोकार मञ्चकाे अध्यक्षको जिम्मेवारी तथा भाषा, संस्कृति, मठ-मन्दिर, गुठी संरक्षण र त्यसकाे आन्दोलनमा अग्रस्थानमा रहेर नेतृत्वसमेत गरेका थिए।

सायामी वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाकाे प्रमुखमा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए। उनी निर्वाचनमा १३ हजार ७ सय ७० मत ल्याएर पराजित भएका हुन्।

पछिल्लाे समय देशभर स्वतन्त्र उम्मेदवारी दिनेहरूको लहर नै चिलिरहेकाे बेला सायमीले प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर ८ बाट स्वतन्त्र उम्मेदवारी दिने घाेषणा गरिसकेका छन्।

अब देशको नेतृत्व युवाले गर्नुपर्छ भनिरहेका उनै सायमीसंग बिएल नेपाली सेवाका लागि ध्रुव बस्यालले गरेको कुराकानीको सम्पादित अश प्रस्तुत छ:

गएकाे स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरमा स्वतन्त्रबाट मेयर पदको उम्मेदवार बन्नुभयो अनि हर्नुभयो, फेरि काठमाडौं-८ बाट प्रतिनिधिसभा सदस्य लड्ने चर्चा छ, कति सत्य हो?

मेरो उम्मेदवारीको चर्चा सत्य हो। हिजो स्थानीय तहको निर्वाचनमा हारेँ तर मैले हारेको महसुस गरेकै छैन। निर्वाचन हारे पनि बाजीगर बनेको मैले महसुस गरेको छु। किनभने मैले १४ मात्र दिनको मेहनतले १४ हजार मत प्राप्त गरेको हुँ, त्यो मत अरुको भन्दा फरक तथा जनविश्वासको स्वतन्त्र अर्गानिक मत हो। मैले मेरो मतको अवमूल्यन गर्नु हुँदैन भन्ने महसुस गरेर मैले काठमाडाैँ क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने घोषणा गरेको छु।

फेरि पनि स्वतन्त्रबाट चुनाव लड्ने कि कुनै राजनीतिक पार्टीको फेरो समातेर चुनावी मैदानमा जाने भन्ने सोच त बनाउनुभएको छैन नि?

अहिले राजनैतिक दलको विद्यमान चरित्र र प्रवृत्तिका कारण जनतालाई केन्द्रित गर्न सकिरहेका छैनन्, राष्ट्रलाई केन्द्रित बनाएर लैजान सकेका छैनन्। उनीहरुको जुन धरातल छ त्यही धरातलमा काम गरे भने अन्याय, दमन तथा मौलिक हकहरु नपाउने, अझ आफ्नै घर भत्किने भएकाले भत्किएको घर बनाउन ग्राहो हुन्छ। त्यसैले स्थानीय निर्वाचनमा जुन प्रकारको मत आएको छ, त्यसले जनता लागि खुल्ला रुपमा आवाज उठाउन मार्ग पनि हाे।
म कसैको दबाबमा बाँच्नु परेको छैन, हामीले स्वतन्त्र रुपमा काम गर्न पाएको छौँ। देशमा जुन दलीय व्यवस्था छ, आम जनताले बुझिसकेका छन्। तर दल खोलेर मात्र त हुँदैन। हरेक कुरा व्यवस्थित गरेर जानुपर्छ। त्यसैले हामी विचार निर्माण गरेर संगठन बलियो बनाउन लागिरहेका छौँ। २/४ वर्षको योजनासमेत तयार गरेर राखेका छौँ। त्यसैले अहिलेको निर्वाचनमा अन्य दलसंग मिलेर जाने सम्भावना छैन।

स्वतन्त्रबाट चुनावी मैदानमा जान कति सजिलो छ?

निर्वाचन हो सहजै छ भन्न सकिँदैन। सुरुवाती दिन त कठिन नै हुन्छ। जस्तो कि मैले पत्रकारिता गर्छु भनेर हुँदैन, त्यो कुरामा म सक्षम हुँदिन। हरेक कुरा गर्दै गएपछि सहज हुने हो। अहिलेको निर्वाचन सहज लागिरहेको छ, किनभने अरुको लागि बाँच्न सिकियो भने जनताले पनि विश्वास गर्दै जान्छन्, त्यही विश्वास नै हाम्रो सहजता हो। त्यसैले कर्म गरौँ, धैर्यता लिदैँ जाने हो। एक दिन सफल नहुने भन्ने हुँदैन।

तपाईंका मुख्य एजेण्डाहरु के कस्ता छन्?

सबैभन्दा ठुलो कुरा त नीति निर्माण गर्ने हो। कानुन बनाउन गलत भयो भने आवाज उठाउने हो। तत्कालै बहुमत आउँछ भनेर ठोकुवा गर्नु हुँदैन।  यो सुरुवाती चरण हो। स्वतन्त्र भनेकै जनतालाई परेको समस्याकाे बारेमा बाेलिदिने, गलत प्रकारको कानुनको विरोध तथा सडक, सदन तताउने बाटो बनाउने माध्यम हो।
मुख्य एजेण्डा भनेको जनतालाई परेको समस्यामा ध्यान दिने हो। आज देशमा गरिबी मौलाईरहेको छ, हातमुख जोड्नसमेत मुस्किल छ। यी यावत समस्यामा ध्यान दिनुका साथै संविधानले दिएको मौलिक हकलाई कार्यान्वयन गर्नुपर्छ। यस्ता कुरा लागु गरे जनता खुशी हुन्छन्। मेरो योजना भनेको कागजमा लेखिएको कुरा आफूबाट परिवर्तन गरेर जनतालाई सेवा दिने हाे।

तपाईंकाे प्रचारमा बालेन शाह, हर्क साम्पाङ आउनुहुन्छ?

मलाई विश्वास छ, राम्रो गर्नेलाई सबैले सहयोग गर्छन्। यसमा दुईमत छैन। बालेनले मात्र होइन, स्वतन्त्र सबैले सहयोग गर्छन्। म ढुक्क छु।

स्वतन्त्र भनेको त पार्टी पनि छ नि, यसबारे के भन्नुहुन्छ?

रविजीहरुको पार्टीप्रति मेरो कुनै टिप्पणी छैन। लोकतन्त्र हो, स्वतन्त्र छ। जसलाई दल दर्ता गर्न मन लाग्छ, गर्न पाइन्छ। निर्वाचन आयोगको नीति नियमअनुसार जे-जे नाम राख्न मन छ, पाइन्छ। रविजी अहिले केही गरौँ भन्ने उद्धेश्यले परिवर्तन गर्न खोज्नुभएको छ, यो केही हदसम्म ठिक छ।

भोलि विचार, एजेण्डा र घोषणापत्र मिले सहकार्य गरेर जान पनि सकिन्छ। केही दिन पहिले मात्र हाम्रो भेट भएको थियो, उहाँले तपाईंहरुको उम्मेदवारी भएको ठाउँमा हामी उम्मेदवारी दिँदैनौँ, तपाईंहरु पनि त्यही गर्नु भन्ने सहमति भएको छ। राम्रो व्यक्ति र मुद्धासंग सहकार्य हुन्छ नै, यो अहिलेको नितान्त आवश्यक हो।

के रविलामिछानेको पार्टीले तपाईंलाई समर्थन गर्न सक्छ?

मैले पहिले नै भनिसकेको छु, राम्रो कुरामा समर्थन हुन्छ। हाम्रो मौखिक रुपमा सहमति भएको छ। रविजीले आफैँ नै तपाईंहरुलाई हामी सहयोग गछौँ भन्नुभएको छ।

तपाईंहरु र रवि लामिछानेबीच फरक छ?

सबैले आ-आफ्नो विचार र मुद्धा बाेकेर हिँडेका छौँ। समग्र रुपमा हेर्दा सबैले जनताको मुद्धा नै बाेकेका छन्, सबैको मुद्धाकाे फरक-फरक छन्। सबैले चाहेको परिवर्तन हो। हामीबीच फरक भनेकै आफ्नो एजेण्डा र मुद्धा हुन्।

स्वतन्त्र उम्मेदवारले स्थानीय निर्वाचन जितेको देखेर कतै जितिन्छ कि भनेर उम्मेदवारी घोषणा गर्नुभएको त होइन नि?

यो विषयलाई यसरी बुझनु हुँदैन, सामूहिक समस्यालाई लिएर मैले उम्मेदवारी दिएको हो। मेरो योजना भनेको मेरो मुद्धालाई स्थापित गर्नु हो। निर्वाचन हारे पनि मुद्धाको समर्थन गर्नुपर्ने बाध्यता रहेको थियो, त्यो पनि मेरो जित हो। यस्तै-यस्तै सरकार पक्षको अनेकन कियाकलापले गर्दा स्वतन्त्र उम्मेदवार जन्मिएको हो।

अन्य विकल्य नदेखेर विकल्पको लागि दास मानसिककताबाट मुक्त हुनु आजको आवश्यकता हो, त्यसैले जित-हार खेलको नियम हो, राम्रो गर्नुपर्छ भन्ने मानसिकताले मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ।

स्थानीय तहमा मतदाताले अनुमोदन नगरेपछि पनि फेरि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुपर्छ भन्नेमा कसरी पुग्नुभयो। जनताबाट कस्तो प्रतिकृया पाउनुभएको छ?

स्थानीय तहको निर्वाचन छोटो समय थियो। यो समयमा सबै कुराको समाधान हुन सकेन, निर्वाचन हारियो। म २० दिनको अवधिमा निर्वाचन केन्द्रित भएको थिएँ। राम्रोसंग प्रचार हुन सकेन। केही मेरो सहयाेगीहरुबाट तपाईंको पनि उम्मेरदवार थ्यो र भन्ने प्रश्न आयो, तर अब अहिलेबाटै निर्वाचन केन्द्रित हुँदैछु। आजसम्म कुनै गलत काम गरेको छैन, जनताले मूल्यांनकन गर्नेछन्। को-कस्तो हाे भनेर बुझ्न अचेल गुगल सर्च गरे पुग्छ। युवाले मलाई बुझेका छन्, अब सबैले बुझ्ने छन् भन्ने लागेर मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ, अरुको लहैलहैमा लागेर उम्मेदवारी दिने साेच बनाएकाे हाेइन।

तपाईं आफैँ पनि जनतासँग हिंडिरहनुभएको छ, तपाईंप्रतिको समर्थन स्थानीय निर्वाचनभन्दा घटेको पाउनुभयो कि बढेको?

स्थानीय तह निर्वाचनकाे तुलनामा निकै फरक छ। स्थानीय र प्रतिनिधिसभा क्षेत्र नै फरक हो। त्यसैले आम स्वतन्त्रको नेतृत्व मैले लिएको छु। सम्पूर्ण उम्मेदवारसंग सहकार्य गरेर अगाडि बढ्ने छौँ। मैले मात्र स्वतन्त्र एक्लै जितेर खासै अर्थ हुँदैन, कम्तिमा पनि १५ देखि २० जनाले जिते आवाज ठुलो हुनेछ। अब केही दिनपछि सबैको साझा घोषणापत्र पनि सार्वजनिक हुँदैछ। मतदाताबाट राम्रो प्रतिक्रिया पाएको छु।

के देशको नेतृत्व स्वतन्त्र उम्मेदवारले गर्न सक्छ?

स्वतन्त्रहरुले देशको नेतृत्व गर्छ भन्ने म मान्यता राख्दिनँ। दलीय व्यवस्थामा दलको विकल्प दल हो, तर अहिले नै दल खोल्नका लागि गृहकार्य नभएकाले स्वतन्त्र रुपमा आउनुपर्यो। दल भनेको एउटा माध्यम हो, तर दल चलाइरहेका मान्छे गलत भएकाले जनताले दुख पाएका छन्। दीर्घकालीन रुपमा जाँदा दलीय व्यवस्था आवश्यक छ, योजना बनिरहेको छ। आजको स्वतन्त्र भोलि कुनै दलमा परिणत हुनेछ, तयारी गरिरहेका छौँ। 

संसदीय व्यवस्थामा देशको नेतृत्व गर्न बहुमत चाहिन्छ। तत्काललाई स्वतन्त्र उम्मेदवारको सम्भावना देखिँदैन नि, के भन्नुहुन्छ?

संसदीय व्यवस्थामा भएपनि स्वतन्त्रको सम्भावना धेरै नै रहेको छ। मैले विभिन्न आन्दोलनको समेत नेतृत्व गरिसकेको छु। जनताले मूल्यांनकन गरिरहेको छन्। मिसन र भिजन स्पष्ट भएपछि जे पनि सम्भावना छ।
काठमाडाैँमा बालेन शाहले गरिरहनुभएको छ नै, अब देशको नेतृत्व युवाले लिर्नुपर्छ। पुरानो सोचविचार बाेकेकाहरुले पुस्तान्तरण गर्नुपर्छ। आजसम्मका दलहरुले कुर्सीका लागि मात्र राजनीति गरेका छन्। अहिले त झन यो गठबन्धन भन्नेले कुर्सी तन्त्रका लागि अंकगणीतको राजनीति गरिरहेकोछ। दल र नेताको वरिपर रहेर चलिरहेको र प्रधानमन्त्री, मन्त्री बन्ने जोडघटाउ गरिरहेका छन्। त्यसैले परिवर्तनका लागि हामी तयार छौँ। युवा बाहिर आउनुपर्छ। सबै मिलेर जाने प्रयास भइरहेको छ। यदि स्वतन्त्रहरु मिल्न नचाहे पनि मिलाउने कोसिस गरेर अगाडि बढिरहेका छौँ।

काठमाडाैँको नेतृत्व गर्न सक्छ भन्ने आधार जनताले सुमन सायमीलाई जिताउनु मात्रै हो?

काठमाडाैँ क्षेत्र नम्बर ८ सुमन सायमीले जित्नुपर्छ भन्ने मेरो मान्यता हैन। मैले त्यसरी कहिले पनि सोच्दिनँ। जसले राम्रो काम गरेको छ,  उसलाई  जनताले मूल्यांनकन गरेका छन्। त्यो व्यत्तिले जित्नुप्रर्छ। सबैभन्दा शक्त्तिशाली भनेको जनता हुन्। देशमा परिवर्तन लिने भनेकै जनताले हुन्। त्यसैले यो पटकको मंसिर ४ को निर्वाचनमा स्वविवेक प्रयोग गरेर जनताले मतदान गर्ने छन्। पुरानो सोचविचार, परिवर्तन अहिलेको आवश्यकता रहेको छ। यो पटक नयाँलाई मौका दिनुपर्छ भन्ने मेरो मान्यता हो। 

प्रकाशित मिति: : 2022-08-28 07:02:00

प्रतिकृया दिनुहोस्