संघर्षरत तरुन-तन्नेरीको कथाः मायाविनी

Breaknlinks
Breaknlinks

प्रकृतिको नियम हो, हरेक तरुन-तन्नेरीसंग जवानी हुन्छ। प्रेम हुन्छ, माया हुन्छ। संघर्षरत तरुन-तन्नेरीहरु निरन्तर प्राप्तिको प्रयास गर्छन्। त्यसको प्रतिफलसंगै आशाका उजेली लिएर जीवनको गोरेटो तय गर्दछन्।

यस्तै संघर्षरत युवाको जीवन प्राप्तिको बाटोले अवचेतन प्रेम, साथीत्व र मायाबाट मायाविनीको जन्म भएको छ। कालिकोटका लेखक लक्ष्मण पाण्डेले बालापनदेखि जागिरे जीवनसम्मका नालीबेली कोरेको उपन्यास मायविनीले एक संघर्षरत युवाको कथा कोरेको छ।

कालिकोटबाट सुर्खेत हुँदै सपना सजाउन राजधानी हुत्तिएको पात्र बालापनको प्रेम स्मरण गर्दै गर्दा प्रेमिका भेट्दा जागिरको लागि भौँतारिएको बेरोजगार युवा प्रतिस्पर्धात्मक परीक्षा लोकसेवाको तयारी गर्छ भने युवती प्राविधिक स्वास्थ्य सेवाको अध्ययन गर्दै विदेश जाने सोचमा हुन्छन्। घनीभूत प्रेममा बाँधिएका युवा-युवतीहरु घरपरिवारका सदस्यसंग साथीका नाताले नजिकिन्छन्, दुःख-सुखमा सहयात्री बन्छन्, एकअर्काको घर-डेरामा आउने-जाने गर्छन्।

काठमाडौं सहरका गल्ली-गल्ली, पार्टी, पौवा, मन्दिरलगायत घुम्दै हुर्किँदै गरेको प्रेमलाई युवा पात्रको जागिरपछि काठमाडौं सहर छोड्दा बेचैन लाग्छ। कुनै जागिरका लागि तालिमको जाँदै गर्दा प्रेमिकाले आँसु धारा बगाउँदै बिदाइ गर्दै गर्दाको शब्दचित्र कोरेका लेखकले गाउँ-सहरको प्रेमकथा प्रस्तुत गरेका छन्।

युवा अवस्थाको प्रेमले विलिप्त भएको पात्र पारुको व्यग्र प्रतिक्षा गर्दागर्दै एकाएक पारुको बाटो बदलिन्छ। सम्पूर्ण समर्पण गरेकी प्रेमिका पारुको बाटो किन बदलियो भन्ने विषयमा अनुत्तरित रहेका लेखकको उपन्यास वियोगान्तमा आएर बिट मारेको छ।

प्रेम नै प्रेमले सजिएको मायाविनी सबै पाठक वर्गका लागि प्रेमिल जीवन बुझ्न निर्विकल्प पठनीय पुस्तक हो। तरुन-तन्नेरीका लागि यो पुस्तक सर्घष, माया, प्रेम, सद्भाव, साथीत्वलगायत बहुपक्षीय अन्तरवस्तु बुझ्न एक खुराक नै छ। कुनैबेला सुविन भट्टराईका पुस्तकको पछिल्लो पुस्तावारी झल्को दिने यो पुस्तक एक उच्च कोटीमा पर्दछ। जहाँ सबै उमेर समूहअनुसार सबैले सबैलाई पाउने छन्।

कर्णाली साहित्य समाज सुर्खेतले प्रकाशनमा ल्याएको यो पुस्तक तीन सय उन्नाइस रुपैयाँमा देशभर पाउन सकिन्छ। लेखकको पहिलो प्रयासले दुईसय साठी पृष्टमा तयार भएको यो उपन्यासमा प्रविधिक त्रुटिलगायत छन् भने समग्रमा जीवनमा एक पटक पढ्न पर्ने पुस्तक मध्येको हो।

(लेखक उच्च अदालत दिपायलका इजलास अधिकृत हुनुहुन्छ।)

प्रकाशित मिति: : 2022-08-27 18:06:00

प्रतिकृया दिनुहोस्