हामी चुनावमा जान्छौँ तर प्रदेश संरचना सुधार गर्नैपर्छ : दिपक विश्वकर्मा (भिडियाेसहित)

आगामी मङ्सिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचन मिति तोकिएसंगै राजनीतिक दलकाे सक्रियता बढ्दै गएको छ। दलहरुले निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम पनि जारी राखेका छन्।

तिनै दलहरू आफ्नो पार्टीको सिद्धान्त, विचार, योजनाहरु बुझाउँदै जनताको मत आफूतिर तान्ने प्रयासमा देश दौडाहामा छन्। यसैबीचमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनाव केन्द्रित रहेर संगठन विस्तार गर्दै आएको छ।

आगामी चुनावको तयारी र योजनाकाे विषयमा केन्द्रित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश सभापति दिपक विश्वकर्मासंग बिएल नेपाली सेवाका लागि रविन पुन मगर (आइडु) ले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :

मङ्सिर ४ काे निर्वाचन नजिकिँदै छ, चुनावकाे तयारी कसरी गर्दै हुनुहुन्छ?

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको छोटो समयमै हामीले तयारी व्यापक गर्दै आएका छौँ। विभिन्न जिल्लामा भेला, पालिका भेला, संगठन विस्तारलगायत हामी निर्वाचन केन्द्रित कार्यक्रममा लागेका छौँ।

नेपालमा यति धेरै पार्टीहरु छन्, तपाईंहरुले चाहिँ के उदेश्य लिएर नयाँ पार्टी खोल्नु भयो, एजेण्डा के हो?

तपाईंले एकदमै राम्रो प्रश्न उठाउनुभयो, नेपालमा थुप्रै पार्टीहरु छन्, उनीहरुका आफ्नै एजेण्डा, सिद्धान्तहरु छन्। उनीहरुभन्दा फरक एजेण्डा केही बोकेका छैनौँ र हाम्रो उदेश्य पनि केही फरक छैन। तर यस अर्थमा कि ती एजेण्डाहरुलाई जनस्तरसम्मै सुधार गरेर आम जनताको खुसी, सुख, समृद्धिलगायत कुराहरूमा व्यवहारिक रुपमा लैजाने भन्ने नै हाम्रो मुख्य एजेण्डा हो।

नयाँ-पुराना सबै पार्टीले एउटा न एउटा वाद बोकेर हिँडेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीको वाद के हो?

अहिले तपाईंले भने जस्तै हामीसंग माओवाद पनि छैन, जनवाद, साम्यवाद पनि छैन। एक हिसाबमा हामीसंग कुनै वाद नै छैन। तर हामीले हाम्रो दस्तावेजमा संवैधानिक समाजवाद भनेका छौँ। त्यो भनेको चाहिँ अहिलेको संविधानले परिकल्पना गरेको समाजवाद हो। जनतालाई अधिकार सम्पन्न गराउने, यो व्यवस्थाबाट जनताले पाउन नसकेका सुविधाहरु र यो व्यवस्थाका नेतृत्वले गरेका बेथिति विसंगतिहरुलाई सुधार गरेर जनस्तरमा वास्तविक खुसी-सुख ल्याउने वाद नै हाम्रो वाद हो। खासमा हाम्रो वाद सुधारवाद हो।

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको पार्टी दर्ता गर्दा नै स्वतन्त्र शब्दको अपमान भयो भन्ने कुरा उठेकाे थियाे, यसलाई कसरी खण्डन गर्नुहुन्छ?

यो विषसयमा निर्वाचन आयोगमा उजुरी पनि परेको थियो, स्वतन्त्र शब्द हटाउनुपर्छ भनेर। तर हटाउनुपर्ने भएको भए हटिसक्थ्यो होला। स्वतन्त्र शब्द खासमा पार्टीभित्रै हुनुपर्ने स्वतन्त्रताको लागि पनि स्वतन्त्र पार्टी आवश्यक हो। पार्टीमा रहँदासमेत स्वतन्त्र हुनुपर्छ। अरु पार्टी जस्तो अनावश्यक कुरालाई निर्देशित रुपमा मान्नै पर्छ भन्ने हुँदैन। हरेक व्यक्तिको स्वतन्त्रताको लागि पनि यो आवश्यक थियो र छ।

अहिले कतिपय स्वतन्त्र उम्मेदवारहरु आइराख्नु भएको छ, उहाँहरुलाई समेट्ने योजना के छन्?

उहाँहरुलाई हामीले स्वागत गरिरहेकै छौँ। उहाँहरु र हाम्रो एजेण्डा मिल्ने, विचार मिल्ने हुँदा हामीले हाम्रो पार्टीको चुनाव चिन्ह लिएर जानुस् भनेका छौँ। हामी निरन्तर वार्तामै छौँ। तर स्वतन्त्र भन्दैमा जनहितविपरीत पार्टीको सिद्धान्त नै नमिल्लेसंग चाहिँ हामी टाढै छौँ। मुलभूत रुपमा जनताको हकहितको पक्षमा विचार मिल्न गएमा हामीसंगै छौँ, हुनुपर्छ।

पहिलोपल्ट चुनावमा जाँदै हुनुहुन्छ, जनताले पत्याउलान्?

जनताले पत्याउने कुरा र नपत्याउने कुरामा त अहिलेसम्म हामीले गरेका सभा, सम्मेलनमा स्वतन्त्र रुपमा आउनुभएको छ। पुराना पार्टीले जस्तो मासुभात, पेट्रोल, पैसा बाँडेका छैनौँ। हाम्रो पार्टीप्रतिको विश्वास र आशले गर्दा जनताहरु अग्रसर भएर आउनुहुन्छ, हामीसंग जोडिनुहुन्छ। हामीलाई पत्याइराख्नु भएको छ।

तपाईंहरुको सभा, सम्मेलनमा जम्मा भएका भीडलाई निर्वाचनको दिनसम्म कसरी अड्याइराख्नुहुन्छ त?

हामीले पैसा बाँड्न सक्दैनौँ, अनावश्यक आश देखाउन पनि सक्दैनौँ। हामीले त आम जनमानसमा हाम्रो एजेण्डाहरु बुझाउने हो। हामीले भड्किलो खर्च गर्ने, झण्डा बोकेर हिँड्ने हामी भन्दैनौँ। मात्रै के हो भने तपाईं हामी आम मानिसका समस्याहरू समाधान गर्नका लागि मङ्सिर ४ गते घन्टी चुनाव चिन्हमा भोट हाल्ने बनाउँछौँ।

प्रदेशसभामा उम्मेदवारी नदिने तपाईंकाे पार्टीले निर्णय गरेकाे छ, उम्मेदवारकै खाँचो परेर त हाेइन नि?

त्यसो त पक्कै होइन, हाम्रो पार्टीले प्रदेशसभामा उम्मेदवार नपठाउने भनेर भन्दा पनि कति धेरै जना चुनावमा जान चाहने व्यक्तिहरु हुनुहुन्छ। हाम्राे पार्टीभित्र सक्षम उम्मेदवार हुनुहुन्छ। उम्मेदवारको खाँचो हामीलाई हैन। मुख्य कुरा नैतिक सवाल हो।

प्रदेश सरकारबाट अनावश्यक रुपमा राज्यको पैसा दोहान भइरहेको छ। त्यहाँ भएको बेथिति र सुधार गर्नुपर्ने कुराहरु सुधार नगरुन्जेल हामी प्रदेश सरकारमा जाँदैनौँ।आम जनताबाट नै प्रदेश सरकार खारेज गर्नुपर्ने गुनासाहरु आएपछि हामीले प्रदेश सरकारलाई गम्भीर रुपमा लिएका छौँ। जबसम्म सुधार गर्दैनौँ, हामी त्यतिन्जेलसम्म प्रदेश सरकारमा जादैनौँ।

प्रदेश सरकारको संरचना सच्याउनुपर्छ भन्नुहुन्छ, तपाईंहरुले चाहेको प्रदेश संरचना कस्तो हो त?

हामीले एक खालको परिकल्पना गरेका छाैँ। प्रदेश सरकारमा जनताबाट प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने, मुख्यमन्त्रीले फरक लिङ्गको उप-मुख्यमन्त्री छनौट गर्ने, मुख्यमन्त्रीले आफ्नो प्रदेशभित्रका सबै जिल्लाबाट एक-एक जना व्यक्ति छनौट गर्ने, अहिलेको प्रदेश सरकार खारेज गर्ने, जिसस पनि खारेज गर्ने अनि अनावश्यक मन्त्रीहरुको पद पनि हटाउनुपर्ने कुरा छ।

रविन्द्र मिश्रको पार्टी जस्तै भएर सकिन्छ भन्ने आम मानिसकाे बुझाइ छ नि, यसमा तपाईं के भन्नुहुन्छ?

यसो छ, रविन्द्र मिश्रजीको पार्टीकाे एजेण्डा पनि जनताले मन पराउनु भएकै हो। उहाँहरु के कारण र किन असफल हुनुभएको हाे भन्ने कुरालाई हामीले सुक्ष्म रुपमा अध्ययन गरेर अगाडि बढ्दै छौँ। उहाँहरुले गर्नुभएको भुल हामी गर्दैनौँ। हामी वैकल्पिक पार्टीको रुपमा आउँदै छौँ। अहिलेकाे विद्यमान विकृतिहरुको अन्त्यका लागि हामीले हाम्रो पार्टीलाई ल्याउँदै छौँ। हामीले हाम्रो पार्टी एजेण्डा, योजना सबै कुरालाई बँचाएर, जोगाएर, सच्याएर अगाडि बढ्ने छौँ। त्यो दिन आउन हामी दिने छैनौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राजतन्त्रको वकालत गर्छ भन्छन् नि, के याे सत्य हाे?

हाम्रो पार्टीले प्रष्ट भनिसकेको छ, हामी कुनै व्यवस्था बदल्न आएका हैनौँ। हामी कुनै तन्त्रलाई फाल्न र लिन आएका हैनौँ। अहिलेको व्यवस्थामै भएको कुराहरूलाई समुचित रुपमा संविधानभित्र रहेर जनताले पाउनुपर्ने कुराहरु दिनुपर्छ भनेर व्यवहारिक रुपमा लागू गरिनुपर्छ भन्ने हाम्रो मुख्य उदेश्य हो।

मङ्सिर ४ मा घण्टीमै किन भोट हाल्ने?

जनताका सामान्य कुराहरू जस्तै सरकारी कार्यलयमा जाँदा घुस नखाइदिए हुन्थ्यो, आफ्नो काम १/२ घन्टामै भइदिए हुन्थ्यो, ढिलासुस्ती नगरिकन सहज ढंगले काम भए हुन्थ्यो, आफ्नै देशमा स्वरोजगार हुन पाए हुन्थ्यो भन्ने जनताका मागहरू, अधिकारहरु पुरा होस् भन्ने हो। जनताको ती आधारभूत कुराहरु सहजै रुपमा पुरा होस् भन्ने जनताको चाहना हो। त्यसैले हामीले कम्तिमा यी कुराहरूमा सुधार लिन्छौँ। त्यसपछि समृद्धिका कुरा, अन्य विकासका कुरा गर्नेछौँ। जसका लागि मङ्सिर ४ गते घन्टीमै भोट हाल्नुहोस्। तपाईं हामी मिलेर हाम्रा समस्या समाधान गरौँ।

प्रकाशित मिति: : 2022-09-09 17:42:00

प्रतिकृया दिनुहोस्