के सन्दीप लामिछाने दोषी हुन् त ?

BreaknLinks
BreaknLinks

नेपाली समाजमा हिजोआज बलात्कारका घटना अत्यधिक बढिरहेका छन्। बलात्कार जघन्य अपराध हो भन्ने थाहा हुँदाहुँदै पनि पटक-पटक यस्तो घटनाहरु किन बढिरहेका छन् र बढ्नुका पछाडिको तात्विक रहस्य के हो? संविधान, कानुन, ऐन, नियम केहीले पनि बलात्कारलाई कुनै हालतमा साधारण घटनाको रुपमा स्वीकार गरेको छैन। तरपनि मानिसले बुझेर हो कि नबुझेर दिनानुदिन यस्ता समस्याहरु बढिरहनुले जैविक रुपमा मानिसमा आएको भौतिक विचलन हो कि नैतिक विचलन हो?

मानिसले आजको समयमा किन असल आचरण बिर्सँदै गयो? भन्ने प्रश्नहरु खडा गर्नुपर्ने देखियो। यौन उन्मादले उन्मत्त भएर आज के बाल, के प्रौढ वा के वृद्धा किन यसरी सामाजिक रुपमा आपराधिक बन्दै गयो त? यसलाई रोकथाम गर्ने र निरुपण गर्ने समाधानहरु भएपनि नभए जस्तो हुँदै गएको देख्दा उदेक लाग्नु पनि स्वभाविक हो।

आज संसारभरी मानिसलाई सचेत गर्ने र गराउने सञ्चार माध्यमहरुको विकास भइसक्यो। विद्यालय, कलेज, विश्वविद्यालयहरु पनि प्रशस्त भइसके तर पनि मानिस नियन्त्रित हुन सकेको छैन। बरु बलात्कार अपराध अत्यधिक मात्रामा वृद्धितर्फ गइरहेको छ।

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अहिलेको हटन्यूज बनिरहेका छन् भने बलात्कृत बालिकालाई गोप्य राखिएको छ। यसअघि मात्रै नेपाली फिल्म इण्डष्ट्रीका एक अभिनेता पल शाह पनि यस्तै प्रकारको अभियोग लागि हाल जेलमा सजाय भोगिरहेका छन्।

अझ पूर्व सभामुख कृष्णबहादुर महरासमेतले पनि यस्तै प्रकारको घटना अभियोग खेप्नु पर्याे र त्याेबाट सफाइ पनि पाए। तर यसरी राष्ट्रिय रुपमै नामी व्यक्तिहरुसमेत बलात्कारको आरोप लागेर थुनिएको दृष्य आँखैसामु हुँदाहुँदै नेपालको खेल जगतको पहिचानको रुपमा रहेका राष्ट्रकै शिर उच्च बनाएका व्यक्तिसमेत कसरी परे यस्तो दुर्घटनामा?

के वास्तवमै सन्दीपले अपराध गरेकै हुन् त? बजारमा आएको हल्ला र सार्वजनिक समाचारहरुबाट आएका खबरहरुबाट उनीमाथि लागेको आरोप प्रमाणित हुने स्थिति छ कि छैन? भएमा केसम्म सजाय हुन सक्छ त? यसबारेमा केही चर्चा गर्नुपर्ने देखिन्छ।

नेपालको संविधानले हरेक नेपाली नागरिकलाई सार्वभौम मानेको। संविधानको पुर्नस्थापनाको पहिलो वाक्य नै ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ भनी उल्लेख भएको अवस्थासंगै संविधानको धारा १६ देखि ४ड सम्म नागरिकका मौलिक हकलाई एकपछि अर्को व्यवस्था गरिएको छ।

सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको, समानताको हक, सञ्चारको हक, न्यायसम्बन्धी हक, अपराध पीडितको हक, यातनाविरुद्धको हक, महिलाको हक, जेष्ठ नागरिकको हकलगायत थुप्रै हकहरु स्थापित छन्। यद्यपि आज समाजको आपराधिक रोग निमिट्यान्न भएको छैन, हुन सकेको छैन।

जनसंख्याको वृद्धि अत्यधिक मात्रामा बढिरहेको छ, गरिबी झन् बढिरहेको छ भने गरिबीका कारण नागरिकहरु आपराधिक गतिविधिमा संलग्न हुनुपर्ने बाध्यता पनि बढेर भएको देखिन्छ एकातिर त अर्कोतिर सम्पन्न वर्गका मानिसहरु बढीभन्दा बढी भोगाविलास पट्टी लाग्नाले निक्कै विकृतिहरु पनि बढिरहेको छ।

वर्गीय धरातलमा रहेको हाम्रो समाजमा सबै समस्यालाई वर्गीय आँखाले हेर्नुपर्छ भन्ने मान्यता त छ, तर कुनै प्रकारको अपराध वर्ग विशेष र जात विशेष हुँदैन। यो समय र वातावरणले जन्माउने रोग हो। जस्तो वातावरणले मानिसलाई प्रभाव पारिरहेको छ। त्यस्तै प्रतिफल पनि जन्मिरहेको छ। नेपाली समाजमा आज मानिसहरुलाई विकृत बनाउन वातावरणले पनि प्रभाव पारेको छ भन्न सकिन्छ।

उत्तरआधुनिकता, प्रविधिको दुरुपयोग, गलत संगत र सफलताको उन्मादले धेरै मानिसहरु पोख्खिरहेका छन्। यसको ज्वलन्त उदाहरणको रुपमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने हुन्। यद्यपि उनीमाथि लागेको कसुर, आरोप प्रमाणित भने भइसकेको छैन।

एउटा उखान छ नि हावा नचली पात हल्लिन्न भनेर, मान्छे हो गल्ती कमीकमजोरी सबैका छन्। तर सच्याउन नसकिने कमजोरी जब मान्छेले गर्छ, तब त्यो समाजले पचाउँदैन र कानुनले पनि पचाउँदैन। कानुनको नजरमा सबै समान छन्, कानुनले कोही ठुलो, कोही सानो वा उच्च पद वा सानो पद भन्दैन। खास गरी सन्दीप लामिछानेको विवाद जसरी एकाएक बाहिरियो, त्यो कानुनले छुट्कारा दिने विवाद होइन।

हुन सक्छ उनी निर्दोष छन्, हुन सक्छ उनलाई कोही कसैले चरित्रहत्या गर्न वा अगाडि बढ्न नदिन षड्यन्त्र गर्याे, हुन सक्छ उनको प्रगति उन्नती देखेर जल्नेहरुले लफडा खडा गरे। तर एउटा महिलाको पक्षबाट वा किशोरीको पक्षबाट हेर्दा आज जसरी महिलाहरु, किशोरीहरु हिंसा हुने बित्तिकै सार्वजनिक गर्नुपर्छ भनेर साहस देखाइरहेका छन् यसले के प्रमाणित गर्छ भने धेरै छोरीहरुमा, महिलाहरुमा जागरण भने आएको छ।

अब सवाल यो हो कि सन्दीप लामिछाने दोषी हुन् या निर्दोष उनले अदालती प्रकृयामा गएर आफूलाई कानुनको कठघरामा उभ्याउनुपर्छ। आवेग, रिस वा प्रतिशोध बोक्नुभन्दा उनको विकल्प अरु केही नभएर कानुनको ढाेकाभित्र पस्नु नै उत्तम हुनेछ। के सन्दीपले आफू निर्दोष भएर पनि दोषी सो सरह अपमान सहनुपर्छ त?

निर्दोष सावित गर्ने उनका आधारहरु के के हुन् भन्दा जब कुनै छात्रालाई होस्टलमा रहेको अवस्थामा होस् या बाहिर रहेको अवस्था होस् भेट्न बोलाएर आफैँ गाडी लिएर जाने, गाडीमा लिएर होटल बुक गरेर गलत उदेश्यको योजना नै बनाइ उनीमाथि बलात्कार गर्ने कार्य कोही पुरुषले गर्छ भने त्यो बलात्कर भन्न सकिन्छ। सन्दीप र पीडित भनिएकी छात्राबीच कुन प्रकारको सम्बन्ध थियो? कसरी सम्बन्ध विकास हुँदै आयो? सहमतिमा दुई जनाबीच शारीरिक सम्बन्ध भने पनि नेपालको संविधानले १८ वर्ष उमेर पुरा भएको व्यक्तिले मताधिकारको हक पाउने तथा १८ वर्ष उमेर पुरा भएपछि मात्र बालिग हुने, २० वर्ष पुरा भएपछि मात्र विवाह गर्ने भनी उमेर हदबन्दी तोकेको छ।

खासगरी बालिग र विवाहको उमेर बालवालिकाको शारीरिक, मानसिक, भौतिक, वैचारिक, व्यवहारिक सबै प्रकारको विकासलाई तथ्यगत रुपमा अध्ययन गरेर निर्धारण गरेको विषय हो। तथ्य र प्रमाणहरु पुष्टि गर्नका लागि नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले प्राविधिक काम गरिरहेकै होला तर कानुनले दोषी भन्न सकिने पहिलो अवस्था पीडित भनिएकी बालिकाको उमेर हो।

१८ वर्ष उमेर पुरा नभएको बालबालिका कुनै पनि प्रकारको महत्वपूर्ण निर्णय गर्न सक्ने क्षमताको नहुने भएकोले र बालिकाको शारीरिक, मानसिक परिपक्वता नभइसकेको स्थितिले जुनसुकै प्रकारको शारीरिक सम्पर्क भएपनि त्यो बलात्कार मानिन्छ। यसलाई जधन्य अपराधको संज्ञा दिइन्छ।

भनिन्छ, बलात्कारको सम्बन्धमा मलाई यसरी बलात्कार गर्यो भनेर कुनै पनि किशोरी वा महिलाले साविती बयान दिनु पनि एउटा सबैभन्दा ठुलो प्रमाण हो। किनकि बलात्कर गर्यो भन्नलाई त महिलालाई ठुलो नाफा हुने र ठुलै मानपदवी मिल्ने विषय हो भन्ने त लाग्दैन। त्यसकारण पीडित किशोरीले अदालतमा गएर बयान नफेरे वा प्राविधिक रुपमा त्रुटि देखिए मात्रै सन्दीप निर्दोष रहने बुझ्नुपर्छ।

सन्दीपले नेपालको कानुनअनुसार दोषी ठहर भए मुलुकी अपराध संहिताको दफा २१९ (२) को (२) अनुसार दश (२०) वर्ष देखि १२ (१२) वर्ष सम्म जेल सजाय भोग्नुपर्नेछ। साथै दफा २२८ बमोजिम पीडितलाई कसुरदारले क्षतिपूर्तिसमेत दिलाइ भराइ गर्नुपर्नेछ।

हाम्रो नेपालको शिर खेल जगतमा उच्च राख्दै आएका सन्दीपलाई ध्वस्त पार्न षड्यन्त्र रचेको हो भने मात्रै नत्र अपराध चाहे राष्ट्रपतिले गरोस् वा प्रधानमन्त्रीले अपराध अपराध नै हो। अपराध गर्ने हरेक तह र तप्काको मानिस कानुनभन्दा माथि हुन सक्दैन। कानुनले दोषी ठहर गरे सन्दीप १० देखि १२ वर्ष जेल जानेमा कुनै पनि शंका नगरे हुन्छ।

पीडितले सन्दीपले कसुर नगरेको रहेछ र गलत आरोप लगाएको रहेछ भने उनलाई के कस्तो सजायको व्यवस्था छ त? यसकाे सामान्यमा पनि चर्चा गरौं। हो, गल्ली नभइकन कसैको पनि इज्जत प्रतिष्ठामा आँच आउने प्रोपेगण्डा चलाउन पाइँदैन।

हिजोआज नेपाली समाजमा महिला हिंसा र बलात्कारका मुद्धाहरु निकै सस्तो र गलत उदेश्यबाट प्रभावित भइरहेका छन्। धेरैजसो नेपालभित्रका र बाहिरका संघ संस्थालगायत एनजिओ, आइएनजिओको योजनाबाट साधारण घटनाहरु पनि असाधारण घटनाका रुपमा विकास हुँदै गएको पाइन्छ। जसले वास्तवमा निर्दोष मानिस पनि अनावश्यक तनावमा जान बाध्य भएको हामी पाउँछौ।

के सन्दीप लामिछानेलाई निर्दोष सावित हुने अधिकार छैन त अवश्य छ? कानुन उनका लागि मात्र लागु हुन्न, उनको डिफेन्स (प्रतिरक्षा) मा पनि कानुन उभिन्छ। अतः झुठा आरोप लगाएर मानिसलाई सामाजिक रुपमा लज्जित बनाउन पाइँदैन।

अब सन्दिप लामिछानेलाई सञ्चार माध्यमबाट आरोप लगाउने पीडित भनिएकी बालिकालाई यदि उनले लगाएको आरोप झुठा रहेछ भने वा झुठा छ भनी आफ्नो तर्फबाट कुनै प्रकारको न्यायिक प्रकृयामा जान मिल्छ कि मिल्दैन त? मिल्दा कुन कानुनको प्रकृया अपनाउनुपर्ने हो। कानुन आरोप लगाउने मात्रै हो त कि आरोपितको पनि हो? आरोपितले म निर्दोष छु भनी कानुनी उपचार पाउँछ कि पाउँदैन भन्दा अवश्य पाउँछ। कोही पनि व्यक्तिलाई उसको इज्जत प्रतिष्ठामा आँच आउने, गोपनीयता भंग हुने, आत्म सम्मानमा ठेस पुग्ने कार्य गर्न मिल्दैन। त्यो कानुनी रुपमकै दण्डनीय पनि छ।

अपराध संहिता २०७४ को दफा २९२, २९४, २९५, २९६, २९७, २९८, २९९, २००, २०१, २०२, २०३, २०४ त्यस्तै २०५, २०६, २०७ र २०८ मा प्रष्ट रुपमा उल्लेख गरिएको छ कि वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धमा कसुर गर्न हुँदैन र गरेमा कानुनबमोजिम दण्डनीय हुन्छ भनेर।

यसर्थ बलात्कार आरोपका आरोपित खेल जगतका नायक सन्दीप लामिछाने दोषी पनि हुन सक्छन्, निर्दोष पनि हुन सक्छन्। ठोस प्रमाण र तथ्यबाट प्रमाणित भए दोषी ठहर्छन् भने प्रमाणित नभए निर्दोष रहन्छन्। तर सञ्चार माध्यममा प्रकाशित वा प्रशारित हुँदैमा वा आरोप लगाउँदैमा मानिस अपराधी हुँदैन भने अर्को बिर्सिन नहुने पक्ष भनेको बलात्कार कुनै रहर र उक्साहटमा बाहिर ल्याइँदैन भन्ने सवाल हो।

प्रकाशित मिति: : 2022-10-06 08:58:00

प्रतिकृया दिनुहोस्