अहिलेको चुनाव नौटङ्की मात्रै हो: राजकुमार हिङमाङ (भिडियो)

देश यतिबेला आम निर्वाचनमा केन्द्रित छ। ५ वर्षपछि नेताहरु विभिन्न एजेण्डासहित चुनावी अभियान लिएर जनताको घर–घरमा पुगेका छन्।

तर, यही माहाेलमा विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुनाव बिथाेल्ने औपचारिक निर्णयसहित मैदानमा उत्रिएका छन्।

अधिकांश नेपाली निर्वाचनमा हाेमिएका बेला किन उनीहरूले बहिष्कार गरे ? किन उनीहरू चुनाव बिथाेल्न चाहन्छन् ? यी र यिनै विषयमा रहेर वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका सचिवालय सदस्य राजकुमार हिङमाङसँग बिएल नेपाली सेवाकाे लागि ध्रुब बस्यालले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ :


किन तपाईंहरुले चुनाव बिथोल्न खोजेको ?

हामीले चुनाव बिथोल्ने भन्दा पनि यो बहिष्कार एवम् दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने नीति तयार गरेका हौँ। किनभने, यो संसदीय व्यवस्थाले संसारभरका समाजलाई अगाडि लैजान सकेको छैन र नेपाललाई पनि अगाडि लग्दैन। यो प्रणाली भनेको दलाल पुँजीवादी संसदीय प्रणाली हो। यसले संसारभरका समस्यालाई हल गर्न सकेको छैन। नेपालमा पनि वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गीक समाजमा भएका समस्याको हल गर्न सक्दैन। त्यसैले हामीले यो निर्वाचन बहिष्कार गर्न खोजेका हौँ।

यो त जनताले मत दिएर प्रतिनिधि चुन्ने अधिकारमाथिको ठाडो प्रहार हाेइन र ?

यो प्रणालीमा जनताले चुनेर पठाउने हाेइन, जनताको अधिकार कुण्ठित गर्ने प्रणाली हो। यो प्रणाली सरकारवालाहरुको निर्णय लागु गर्न केवल प्रनिधित्व गरेर जाने र ५/६ करोड पैसा खर्च गर्न सक्ने प्रतिनिधिको प्रणली भएका कारण यो जनताकाे अधिकार सुनिश्चित गर्नभन्दा पनि निर्वाचनमा जनतालाई कुण्ठित गर्ने भएकाले निर्वाचन खारेजी हुनुपर्छ, यो दलाल संसदीय व्यवस्था खारेज हुनुपर्छ भनेकाे हाे, हामीले।

तपाईंहरु अब पनि सडकमा आगो बालेर, ढुङ्गा–मुढा र बम पड्काएर व्यवस्था परिर्वतन गर्न सकिन्छ भन्ने भ्रममा हुनुहुन्छ हाे ?

जनताको अधिकार सुनिश्चित गर्नका लागि सत्तावालाहरुले प्रहरी, आर्मीको बल लगाएर आफ्नाे अहमता कायम गर्न खोज्छ, आफ्नाे बल प्रयोग गरेर जनतालाई कुण्ठित गरिरहेको हुन्छ। राज्य आफैंले दमनकारी तरीकाले काम गर्छ भने त्यसको प्रतिरोध गर्न निकै जरुरी देखिन्छ। राज्यले शान्तिपूर्ण रुपले आमनागरीकको स्वतन्त्रताको उपभोग गर्न र आफ्नाे विचारलाई शान्तिपूर्ण रुपले प्रवाह गर्न दिए यो ढुङ्गा–मुढा गर्न आवश्यक हुँदैन। तर, आफैं राज्य दमनकारी रुपमा प्रस्तुत भयो भने मात्र प्रतिरोधका लागि यस्ता कदम आवश्यक हुन्छ।

तपाईंहरुसँग चुनाव लड्ने सार्मथ्य नभएर चुनावमा नगएको त हाेइन नि ?

यो देशका दलाल शासकहरु र त्यसका वरिपरि घुम्ने मान्छेहरुलाई यस्तो लाग्न सक्छ। यी मान्छेहरुसँग पनि त १०० प्रतिशत नै भोट कुनै हालतमा खस्दैन तर १०/१५ प्रतिशत भोट आए पनि स्विकार्न बाध्य व्यवस्था छ। त्यसकारण यो संसदीय व्यवस्थामा रमाउनेहरुले यस्तो तर्क, प्रश्न गर्छन्। हामीलाई यसकाे कुनै प्रवाह हुँदैन, हामी विचारमा अडिग छौँ।

तपाईंहरुको यति सानो शक्तिबाट चुनाव राेक्न कसरी सम्भव छ ?

हेर्दा अहिले हाम्रो जनशक्ति सानो देखिन्छ होला, अहिले नै चुनाव रोक्ने तागत नहोला तर जनतालाई यो पुँजीवादी संरचनाले उत्पीडित वर्गको मुक्ति हुँदैन भन्ने हाम्रो आह्वान हो। जनताको अधिकारमाथि कुण्ठित भएकाहरुले आफूलाई सफल भएको ठान्लानेहरूले हामीलाई कमजोर ठान्लान्। वास्तविक जनताको अधिकार सुनिश्चित नभएसम्म नेपाली जनता र समाजको समस्याको समाधन हुँदैन।

याे निर्वाचन प्रणलीले दलित, किसान, महिला, श्रमिक, मजदुर र उत्पीडित वर्गको समस्या समाधान गर्दैन्। जनता महंगीकाे खोरभित्र बाँचिरहेका छन्, दलाल पुँजीवादले पूरै आक्रमण गरिसकेको छ। धनी निकै धनी भइरहेका छन् भने गरीब झनै पीडित बनिरहेका छन्। यस्ता समस्याको समाधन संसदीय प्रणालीबाट हुँदैन। त्यसैले भण्डाफोर, तिरष्कार, बहिष्कार गरी जनताको व्यवस्था जनताले निमार्ण गर्नुपर्छ। हाम्रो विचार प्रष्ट रुपमा जनताको माझ प्रस्तुत गर्छाैँ। सत्यको जित अवश्य हुनेछ।

तपाईंहरुको यो कदमलाई आम जनताहरुले कसरी बुझ्ने ?

जनता यत्तिबेला नेताहरु देखेर दिक्क भइसकेका छन्। अझ यो व्यवस्था ठिक छैन भनिरहेको देखिन्छ। जनताको आवाज नसुन्ने दमनकारी संस्कृतिक राज्य व्यवस्था अथवा यो चुनावको नौटङ्कि गरिरहेका छन्। त्यसैले हाम्रो निर्वाचन बहिष्कारले परिर्वतन गर्नका लागि जनताहरुलाई केही हदसम्म टेवा पुग्छ।

अब नेपालमा कस्तो व्यवस्था आए मात्र परिर्वतन सम्भव छ ?

कुनै पनि देशको राज्य प्रणाली उचित भएन भने राज्य व्यवस्था परिर्वतन गर्नुपर्छ। परिर्वतन गरिरहँदा यसका तीनवटा पक्ष छन्, देशको अर्थ प्रणाली वा उत्पादित अर्थतन्त्र र सामाजिक व्यवस्था अथवा राजनीतिक प्रशासनिक प्रणाली। यिनै कुराबाट निर्माण हुने संस्कृतिलाई परिवर्तन गर्नुपर्छ। त्यही परिर्वतनको निम्ति हामीले आजकै दिनदेखि समुदायमा आवश्यक अर्थ प्रणली निमार्ण, अत्मनिर्भर र राजनीतिक प्रशासनिक अथवा सामाजिक व्यवस्था परिर्वतनको कोणबाट हेर्दा जनताको सरोकार गर्ने सरकारवालाहरुले निर्णय गर्ने र प्रतिनिधिहरुले केवल लागु मात्र गर्ने नीति निमार्ण र भौतिकवादी संस्कृतिको विकास गरी अगाडि बढ्याे भने समान्तर व्यवस्थाको निमार्ण हुन्छ। र, यो दलाल संसदीय प्रणाली ढल्छ र वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना हुन्छ।

यही व्यवस्था आए मात्र परिर्वतन हुन्छ। यो सम्भव छ। संसदीय व्यवस्थाभित्र पसेर यस्तो जुठो पिरो खाएर अन्त्य गर्न सम्भव छैन। त्यसैले हामी वैज्ञानिक समाजवादी व्यवस्था निमार्ण गर्छाैँ। याे सम्भावना छ। राजनीतिक सामाजिक संस्कार बनाउन निक्कै आवश्यक छ। असम्भव भन्ने केही छैन।

अन्तयमा, आम जनतालाई के भन्न चाहनुहुन्छ ?

आम नेपाली युवालाई पुँजीवादी संसदीय व्यवस्थाले नेपालमा सम्पन्न खालकाे राज्य प्रणाली व्यवस्था कल्पान गर्न सकिँदैन। विभिन्न अन्तरविराेधहरू छन्, यसको समाधान विना परिर्वतन सम्भव छैन। जात, जात व्यवस्था, लैङ्गिक, वर्गीय अन्तरविराेध र क्षेत्रीय अन्तरविराेधलगायतका कुराहरु छन्। संसदीय राज्य व्यवस्थाले यसको अन्त्यका लागि काम गर्न सकिँदैन, जनताको जीवनमा परिर्वतन आउँदैन। महंगीले चुली नाधिसक्यो उत्पादक र उपभोक्तामा बिक्री मुल्य निकै भिन्नता छ। त्यसैले राज्यको संरक्षणमा बाँचिरहेका जुनसुकै युवा आए पनि यो संसदीय व्यवस्थाबाट परिवर्तन हुँदैन। यसका लागि पूर्णरुपमा यो व्यवस्था खारेज हुन जरुरी छ।

वैज्ञानिक समाजवादी व्यवस्था आए मात्र व्यवस्था परिवर्तन हुन्छ। त्यसैले यो दलाल संसदीय व्यवस्था खारेज गरौँ, आमनिर्वाचन खारेज गरौँ। हाम्रो निर्वाचन बहिष्कारमा सहभागी हुन समेत आह्वान गर्दछु।

प्रकाशित मिति: : 2022-11-07 22:10:00

प्रतिकृया दिनुहोस्