‘ब्लडमनी तिर्दा पनि छोराको मुख हेर्न पाइनँ, परराष्ट्रमन्त्री डा. खड्कालाई केका लागि भोट दिने?’

आम चुनाव हुन केही दिन मात्रै बाँकी हुँदा दलहरु रस्साकस्सीमा छन्। राजनीतिक दलका नेतादेखि स्वतन्त्र उम्मेदवारसम्म यतिबेला मत माग्न व्यस्त छन्। चुनावको सरगर्मीले माहाेल तात्दै गएको छ। सबैलाई चुनावले भ्याइ-नभ्याइ बनाएकाे छ। तर, उदयपुरकी ७३ वर्षीया गंगादेवी दाहाललाई चुनाव लागेको छैन। उनीमाथि चुनावको रौनकता देखिँदैन।

उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने चौदण्डीगढी नगरपालिका-४ बसाहा कालीखोलाकी ७३ वर्षीया दाहाल नेताहरुलाई भोट दिएर जति जिताए पनि जनताको काम नगर्ने गुनासो गर्छिन्। उनी भन्छिन्, ‘जुन नेतालाई भोट दिए पनि के पाइदो रहेछ र? आपतविपतमा साथ कसैले दिँदैनन्, अहिले सबै गर्छु भन्दै भोट माग्न आउँछन्।’

त्यसो त उनी नेताप्रति आक्रोशित हुनुको व्यथा छुट्टै छ। गंगादेवीका ४० वर्षीय छोरा विकेक दाहाल साउदीको जेलमा परे। विवेक हत्याको आरोपमा १५ वर्षदेखि साउदी अरबमा जेलजीवन बिताइरहेका थिए। उनलाई गत कात्तिक ६ गते साउदीको जुबेल जेलमा मृत्युदण्डको सजाय दिइयो।

छोरालाई मृत्युबाट बचाउन गंगादेवीले धेरै नेतासँग गुहार मागिन्। यही क्षेत्रबाट निर्वाचन जितेर परराष्ट्रमन्त्री बनेका डा. नारायण खड्कालाई छोरो बचाइदिन अनुरोध गर्दा पनि वास्ता नगरेको उनको गुनासो छ।

‘हत्या अभियोगमा विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेको ४० वर्षको (विवेक दाहाल) छोरा बचाउन सकिनँ। राष्ट्रपति, परराष्ट्रमन्त्रीसम्मलाई छोरो बचाइदिन अनुरोध गर्दा पनि कसैले सुनेनन्, के का लागि हामीले भोट दिनु?’ उनले प्रश्न गरिन्।

छोरालाई मृत्युदण्डको सजाय दिएपछि गंगादेवीलाई कुनै नेताको मुख हेर्न मन छैन। नेताहरुले चुनाव जितेपछि आफूहरुलाई बिर्सिने उनको भनाइ छ। छोरा सम्झँदै उनले भनिन्, ‘नेतालाई चुनावको बेला हाम्रै भोट चाहिन्छ तर हामीलाई आपतविपत् पर्दा कसैले हेर्दैनन्।’

गंगादेवीका चार छोरामध्ये विकेक कान्छा छोरा हुन्। अब उनीसँग छोराको फोटोबाहेक केही चिनो छैन। मृत छोरोको तस्बिर देखाउँदै उनले भनिन्, ‘मेरो श्रीमान (विवेका बुवा) को पनि छोरो भेट्ने आशमै तीन वर्षअघि मृत्यु भयो। कान्छो छोरो थियो। घर फर्काउन सकेनौँ। कोही नेताहरूले सहयोग गरेनन्।’

‘ब्लडमनी’ तिर्दा पनि छोराको मुख हेर्न नपाएको उनको गुनासो छ। ‘परराष्ट्र मन्त्रालयले नै आममाफीको लागि ब्लडमनी तिर्न भन्यो, हामीले तिर्याै’, उनले भनिन्, ‘तर, मन्त्री खड्काले भेट दिएर अलि पहल गरिदिएको भए छोरो बाँच्ने थियो। उहाँले गरिदिनुभएन।’

उनका बाँकी रहेका तीन छोरा पनि छुट्टिएर अलग्गै बसिसकेका छन्। कान्छो छोरो आउने आशामा बसेकी दाहाल भन्छिन्, ‘ब्लडमनी तिर्दा पनि छोरोको मृत्युको प्रमाणपत्र पाइएको छैन। मृत्युदण्ड दिएको खबर मात्र आएको छ। शव पाउने त कुरै छाडौँ।’

मृतक दाहालका जेठा दाजु टेकबहादुर दाहालले बुवा पनि भाइसँग भेट्ने आशामै स्वर्गवास भएको बताए। उनले भने, ‘हामीले भाइलाई जीवितै नेपाल ल्याउने ठूलो कोसिस गर्यौँ। १० लाखभन्दा बढी ब्लडमनी बुझायौँ। तर, पनि ल्याउन सकेनौँ।’

उनका अनुसार मृतक विवेकलाई जीवितै नेपाल ल्याउन झन्डै १५ लाख बढी परिवारले खर्च गरेको थियो। उनले भने, ‘परराष्ट्रमन्त्री हाम्रै जिल्ला-क्षेत्रको भए पनि विवेकलाई जीवितै ल्याउन सकेनौँ। खबरको भरमा काजकिरिया गर्नुपर्यो। मृत्युको प्रमाणपत्र कसरी पाउनु?’

दाहाललाई मृत्युदण्ड दिनुअघि परिवारलाई साउदीबाट जानकारी आएको उनले बताए। उनले भने, ‘शव भने नेपाल नपठाएर उतै गाडेको भन्ने खबर छ।’

विवेक वैदेशिक रोजगारीको सिलसिलामा सन् २००६ मा साउदी अरब पुगेका थिए। मृतक विवेकलाई सन् २००७ मा आफ्नै साथी राजेन्द्र विष्टको हत्या र सुडानी नागरिकमाथि हत्या प्रयासको आरोप लागेको थियो।

अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। तल्लो अदालतको आदेशलाई क्रिमिनल कोर्ट हुँदै सर्वोच्च अदालतबाट पनि सदर भएको थियो। दाजु टेकबहादुरले भने, ‘जेलमा हुँदा भाइसँगको टेलिफोन कुराकानीमा भाइले हत्या नगरेको बताएका थिए। पानी बोक्ने ट्यांकर चालक मृतक विवेक जुबेलस्थित भेडाचरण गोठको लागि पानी लिएर जाँदै गर्दा केही व्यक्ति र साथी विष्टबीच झगडा भइरहेको थियो रे’, दाजु दाहालले भने, ‘त्यो देखेपछि छुट्याउन गएको थियो भाइ। झगडा छुट्याउँदै गर्दा अरू भागेपछि विवेकमाथि उल्टै कुटपिटको आरोप लाग्यो।’

उक्त घटनामा विष्टको मृत्यु भएपछि हत्या आरोपमा फसाएको दाजु टेकबहादुरको भनाइ छ। विवेक निर्दोष रहेको परिवारको भनाइ छ। झगडामा सामेल अरू सबै भागेपछि दोष विवेकमाथि थुपारिएको र मालिकले समेत सहयोग नगरेपछि हत्याको आरोप लागेको परिवारले बतायो।

मृतक परिवारलाई दाहाल परिवारले ब्लडमनीबापत झन्डै १० लाख रुपैयाँ दिएको थियो। सन् २०११ मा नेपाली दूतावासले जुबेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो। तर, सुडानी नागरिक उपचारपछि घर फर्किएकाले सम्पर्कविहीन भएपछि विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट माफी नभएकाले मृत्युदण्ड दिएको दाहाल परिवारको भनाइ छ।

प्रकाशित मिति: : 2022-11-15 22:10:00

प्रतिकृया दिनुहोस्