नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले एक जना उपसभापतिसहित ७ जना कार्यकर्तालाई कारबाही सिफारिस गरेको छ। उपसभापति दीपक शाही लगायत ७ जनालाई काबाहीको लागि केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो।
जिल्ला सभापति कर्णबहादुर शाहीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनीहरूलाई काबाहीका लागि सिफारिस गरिएको जनाइएको छ।
उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्तबहादुर रोकाया, चन्दननाथ नगरपालिकाका सभापति रवि थापा, गोविन्दबहादुर शाही, आसे बस्नेत, भक्त रोकाया र गोरबहादुर सुनारलाई काबाहीका लागि सिफारिस गरिएको पार्टी सभापति कर्णबहादुर शाहीले बताए।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवार विरुद्ध पार्टीको विधान र हित विपरीत कार्य गरेको पाइएकोले कांग्रेसले कात्तिक १४ गते उनीहरूलाई स्पष्टीकरण सोधेको थियो। तर नगर सभापति रवि थापाले मात्रै स्पष्टीकरण दिएका थिए।
निजको स्पष्टीकरण पनि चितबुझ्दो नभएको सभापति शाहीले जानकारी दिए। यद्यपि अन्य पदाधिकारीले स्पष्टीकरण समेत नदिएको जुम्ला कांग्रेसले जनाएको छ।