आमनिर्वाचनः देशैभर मतदान सुरू

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत देशैभर मतदान सुरु भएको छ। पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा उत्साहपूर्ण सहभागिता देखिएको छ। मतदाताहरू बिहानैदेखि लामवद्ध छन्। आम नागरिकले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन्।

संविधान जारी भएपछि दोस्रोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मतदाताहरूले भाग लिँदैछन्।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँचसय ७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्र रहेका छन्।

प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

त्यस्तै, प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचन सुरक्षाको लागि देशभर कुल २ लाख ९८ हजार ५ सय ७९ जना सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयले जनाएको छ। जसमा ७४ हजार ८ सय ४९ नेपाली सेना, ७१ हजार ६ सय ९३ नेपाल प्रहरी, ३५ हजार १ सय १७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १ लाख १५ हजार म्यादी प्रहरी छन्।

प्रकाशित मिति: : 2022-11-20 06:55:00

प्रतिकृया दिनुहोस्