मधेस राजनीति र उपेन्द्रको पराजय

BreaknLinks
BreaknLinks

यसपल्टको निर्वाचनको परिणामले सबैभन्दा बढी माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई झस्काएको छ। मधेसका ‘मसिहा’को रुपमा सम्मान पाएका जसपा उपेन्द्र यादव सप्तरी–२ बाट पराजित हुनुभएको छ।

मधेस र मधेसी समुदायको लागि पटकपटक आन्दोलन हाँक्ने व्यक्ति, सोही समुदायको वर्चस्व रहेको निर्वाचन क्षेत्रबाट पराजित हुने विषयलाई गहिरो ढङ्गले विश्लेषण गर्नुपर्छ। राजनीतिमा लामो अनुभव र १५ वर्षदेखि अनवरत रुपमा पार्टीको अध्यक्ष पदमा आसिन व्यक्ति अप्रत्यासित रुपमा भारी मतले पराजित भएपछि विभिन्न किसिमका प्रश्न उठ्नु स्वाभाविक हो।

यो पराजयको मुख्य कारण खोतल्नुभन्दा पहिले विगतका पृष्ठभूमिलाई समेत स्मरण गर्नुपर्छ। माओवादी जनयुद्ध लडेर अन्ततः राष्ट्रको मूलधारमा समाहित भएको हो। अन्तरिम संविधानमा सङ्घीयता नसमेटिएको भनेर मधेसी जनअधिकार फोरम नामक मञ्चमार्फत उपेन्द्र यादवलगायतले सो संविधानको प्रतिलिपि जलाएपछि पक्राउमा पर्नुभएको थियो।

लहानमा रमेश महतोको मृत्युपछि पहिलो मधेस आन्दोलन भएको थियो। उक्त आन्दोलनले उपेन्द्रको उचाई ह्वात्तै बढायो। उपेन्द्र यादवको नेतृत्वमा तीनपटक मधेस आन्दोलन भएको छ। २०६४ सालको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले मधेसमा र माओवादीले राष्ट्रव्यापी रुपमा अपार जनसमर्थनका साथ जितेको थियो। माओवादी केन्द्रले एक्लै प्रत्यक्षतर्फको पचास प्रतिशत सिटमा जित हात पारेको थियो।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मधेसी जनअधिकार फोरम सरकारमा सहभागी भएकाे थियाे। माओवादीमा जनयुद्ध धङ्धङीको प्रभावले गर्दा प्रधानसेनापति रुकमाङ्गद कटवाललाई नै हटाउने निर्णय गर्यो। कटवाल त हटेनन्, तर प्रचण्डले आफैं राजीनामा गरेर बाहिरिए। त्यसपछि नयाँ सरकारको गठनको विषयमा विवाद हुँदा अन्ततः फोरम फुट्यो। त्यससंगै फुट्ने र जुट्ने क्रम चलिररह्यो। पहिलो संविधान सभाबाट संविधान निर्माण हुन सकेन्।

संविधान निर्माणको प्राथमिकताभन्दा मन्त्री बन्नका लागि तछाडमछाड देखेर मधेसी जनतामा वितृष्णा उत्पन्न भयो। सो कारणले २०७० सालको दोस्राे निर्वाचनमा उपेन्द्रको पार्टी र माओवादीले नराम्ररी पराजयको पीडा भोग्नु पर्यो। २०७२ सालमा संविधान निर्माणको प्रक्रिया सुरु हुनासाथ मधेस केन्द्रित दलहरुले संसदमा आफ्नो पक्ष राख्नुभन्दा सडक सङ्घर्ष रोज्यो। संसद्मा कडा विरोध गर्नुपर्ने थियो। साेही आन्दोलनमा मधेसमा दर्जनौं व्यक्तिको मृत्यु भयो भने एक सयभन्दा बढी घाइते भएका थिए। आन्दोलनको क्रममा केपी शर्मा ओलीको कटाक्षको मधेसमा व्यापक विरोध भयो। उहाँको अर्नगल कुराले गर्दा मधेसी समुदाय झन आक्रोसित भएका थिए। मुलुकमा संविधान जारीपछि उपेन्द्र यादवहरुले केपी ओलीलाई मधेसमा निषेधको घोषणा गरे।

त्यसको जवाफमा सप्तरीको मलेठमा केपी ओलीको उपस्थितिमा एमालेको आमसभा भयो। सो आमसभाको क्रममा गोली चल्दा अनाहकमा पाँच जनाको मृत्यु भयो। मोरङको रङ्गेलीमा एमालेको कार्यक्रम हुँदा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भयो। मधेसमा अहिले पनि केपी ओलीप्रति मधेसी समुदायमा नकारात्मक सोचाइ छ। यो कुरा उपेन्द्रले सम्झेर पनि बलमिच्याँइ गरी चुनावी तालमेल गर्नुभयो।

२०७२ मा जारी संविधानमा मधेसीको हक अधिकारलाई समेटिएको थिएन भने चुनाव बहिष्कार गर्ने आँट देखाउनुपर्ने थियो। विरोध पनि गर्ने र सोही संविधानमार्फत निर्वाचनमा सहभागी हुने दोधारे नीति अपनाएर मधेस केन्द्रित दलहरु स्थानीय तहका साथै २०७४ को केन्द्र र प्रदेशको निर्वाचनमा सहभागी भए। उहाँहरुले संविधानको पुनर्लेखन गराउने वाचासहित चुनावमा सहभागी भए।

ओलीको कट्टर आलोचक राजेन्द्र महतोले जनकपुरबाट चुनाव जित्नका लागि एमालेको अप्रत्यक्ष सहयोग लिएका थिए। यो कुरा उहाँले घुमाउरो ढङ्गले सञ्चारकर्मीसमक्ष स्वीकार गर्नुभएको हो। जे भएपनि मधेसमा मधेस केन्द्रित दलले संसदीय र प्रदेशसभाको निर्वाचनमा राम्रै सफलता प्राप्त गर्यो। उक्त निर्वाचनमा बाम गठबन्धनले झण्डै दुई तिहाई सिट जितेको थियो। ओलीलाई सरकार बनाउनका लागि मधेस केन्द्रित दलको आवश्यकता थिएन। उपेन्द्रलाई प्रतिपक्षमा बसेर संविधान संशोधनका लागि दवाव बनाउनुपर्ने थियो। संविधान निर्माणको क्रममा मधेस आन्दोलनको दमन र मलेठ एवम् रङ्गेली घटनाको दोषीमाथि कारवाही, पीडितलाई राहत र आन्दोलनको क्रममा चलाइएका मुद्धा फिर्ताका लागि संंसद्मा जोडदार आवाज उठाउनुपर्ने थियो।

जुन ओलीलाई सत्तोसराप गर्नुहुन्थ्यो, अन्ततः सोही ओलीको नेतृत्वमा मन्त्री बन्नका लागि प्रचण्डमार्फत प्रयास गर्नुभयो। प्रचण्डले नै यो कुरा सार्वजनिक गरेका थिए। उपेन्द्र यादव मन्त्री त बन्नुभयो। उपेन्द्रलाई मन्त्री बनाउनु एक किसिमले ओलीको सबैभन्दा ठुलो जित थियो। ‘जसले मलाई (केपी) सत्तोसराप गर्दथ्यो, पुत्ला जलाउँथ्यो र मधेसमा निषेधको घोषणा गरेको थियो। त्यस व्यक्तिलाई आफ्नो मन्त्रिमण्डलमा ठाउँ दिएको छु। मभन्दा बढी उदारवादी नेता कोही छ र !’ जस्तो सन्देश ओलीले दिएकै रुपमा सम्झनु पर्छ।

एक वर्षपछि उपेन्द्र यादवले मन्त्री पद छोड्नुभयो। ओलीको विरोधमा खुलेर उत्रनुभयो। ओलीले पार्टी फुटाउनका अध्यादेशमार्फत विधेयक ल्याएका थिए। सो समयमा उपेन्द्रको पार्टीमा आन्तरिक कलह छताछुल्ल भइसकेको थियो। पार्टी विभाजनलाई रोक्नका लागि रातारात उपेन्द्र यादवले महन्थ ठाकुरसँग छलफल गरी जनता समाजवादी पार्टीको गठन गरे। पार्टी एक भएपनि मन मिल्न सकेन। ओलीलाई हटाउन र बचाउनका लागि जसपा विभाजित भयो। महन्थ ठाकुरहरुले ओलीलाई समर्थन गर्ने निर्णय गरेपछि आठ जनाले मन्त्री बन्ने शौभाग्य पाएका थिए। सो घटनापछि उपेन्द्र यादव झन आक्रोसित हुँदै ओलीलाई प्रतिगमनकारीको संज्ञा दिएका थिए। ओली हटेपछि सत्ता गठबन्धनमार्फत जसपा सरकारमा सहभागी भयाे। निर्वाचनमा गठबन्धनमा सिटको विषयमा कुरा नमिलेको भनेर उहाँले ओलीसँग चुनावी तालमेल गर्नुभयो।

यस्तो किन? २००७ सालको क्रान्तिको समयदेखि नै गजेन्द्रनारायण सिंह काँग्रेसी थिए। मुलुकमा पञ्चायती व्यवस्था लादिएपछि सप्तरी काँग्रेसभित्रको किचलोको कारण पार्टी छोडेर छुट्टै पार्टी गठन गरे। तर, उहाँको हृदयको एक प्रतिशत भएपनि काँग्रेसको ठाउँ थियो। बामपन्थी पृष्ठभूमिबाट उपेन्द्र यादव र हृदयेश त्रिपाठीको मातृ पार्टी कम्युनिष्ट नै हो। त्रिपाठीजी अन्तोगत्वा एमालेको उम्मेदवारको रुपमा सांसद बने। उपेन्द्रजी एमालेबाट २०४८ सालमा चुनाव लडेका थिए। त्यसपछि एमाले परित्याग गरी माओवादी केन्द्रमा पुगे। त्यता पनि पार्टी छोडेर आफ्नै नेतृत्वमा पार्टीको स्थापना गरे। तर, उहाँभित्र कतै न कतै एमाले छ। तसर्थ, पटकपटक ठक्कर खाएपनि सोही पार्टीकाे नजिक पुग्नुहुन्छ।

२०७९ को निर्वाचनमा उपेन्द्र र हृदयेशबाहेक प्रायः मुख्य दलका अध्यक्षहरु निर्वाचित भएका छन्। सप्तरी–२ बाट उहाँलाई जित्नका लागि फलामे चिउरा चपाउने सरह हुन्छ भनेर आँकलन गरिएको थियो। सुनिन्छ, अन्तिम समयमा उहाँले सोही क्षेत्रबाट चुनाव लड्ने निर्णय लिनुभयो। यो घातक निर्णय सुझाउने को को हुन्? चितवनको हावाको अनुभव गरेर प्रचण्ड गोरखा पुगे। क्षेत्र परिवर्तनको विषयलाई प्रतिष्ठाको विषय बनाउनु थिएन। डा. सिके राउतलाई मधेसमा आफ्नो वर्चस्व कायम गर्नु छ। उनको निर्णय आफ्नो ठाउँमा सहि थियो। त्यो प्रमाणित पनि भयो।

मधेसी समुदायको गढ मानिएकाे सो क्षेत्रबाट उपेन्द्र यादवको पराजयले के सन्देश दिएको छ भने जनताले भावनात्मक रुपमा एकपटक सहयोग गर्छन्। पटकपटक सहयोगका लागि जनताको भावनालाई सम्झनु पर्दछ। नत्र, दुधमा खसेको झिँगालाई जसरी औंलाले फालिन्छ, त्यसरी नेतालाई फाल्नमा जनताले बेर लगाउँदैनन्। यो उपेन्द्र यादवमा मात्रै लागु हुँदैन। यो लोकोक्ति सवै निर्वाचित प्रतिनिधिमा लागु हुन्छ।

मधेसमा ‘हर्न’को आवाज र देशमा ‘घण्टी’को मीठो ध्वनीले राजनीतिक वातावरणलाई तरङ्गित बनाएको छ। निर्वाचन जित हात पारेपछि उहाँहरु जनमानसमा चर्चा परिचर्चाको केन्द्रविन्दुमा रहेको देखिन्छ। मधेस र मधेसी समुदाय कसैको विरासत नरहेको भनेर मधेस केन्द्रित दललाई मधेस जनताले मतदानमार्फत सचेत गराएको र ठुला दलहरुका लागि रवि लामिछानेले खतराको घण्टी बजाएको रुपमा व्याख्या हुन थालेका छन्। अब पनि मुख्य दलहरु नसच्चिए भने आउँदो निर्वाचनमा रविको घण्टी मुख्य दलका लागि खतराको घण्टीमा परिणत हुनेछ।

उपेन्द्रको पराजयको मुख्य कारण

सप्तरी–२ बाट उपेन्द्र यादवलाई भारी पराजयको सामना गर्नु पर्यो। डा. सिके राउतको विद्वता र आफू जमिनसँग जोडिएका व्यक्तिको रुपमा जनतासमक्ष प्रस्तुत गर्न सफल भएकाले उहाँको पक्षमा जनलहर नै देखिए। यसपल्टको निर्वाचनमा अधिकांश मतदाताले जातपात, धर्म, समुदाय र सिद्धान्तबाट माथि उठेर मतदान गरेका छन्। लोकतन्त्रको लागि यसलाई शुभ सङ्केतको रुपमा लिनुपर्छ। जनताले मतदानमार्फत परिवर्तन गर्नतर्फ बढी झुकाव राखेको स्पष्ट हुन्छ।

उपेन्द्र यादवले केपी ओलीसँग गरेकाे चुनावी तालमेललाई नै मधेस प्रदेशमा उनकाे पराजयको मुख्य कारणको रुपमा विश्लेषण गर्न थालिएको छ। केपी ओलीले यादवलाई सत्ता गठबन्धनबाट अलग पार्नमा सफल भए। सत्ता गठबन्धनबाट पूर्णरुपले सम्बन्धविच्छेद गरेर जसपाले एमालेसँग तालमेल गर्यो। तर, मधेस प्रदेशमा आफ्नो अनुकूल क्षेत्रमा केपीले एउटा पनि सिट छाडेनन्। जसपालाई ‘यता न उता’को अवस्थामा राख्ने केपी ओलीकाे रणनीति सफल भएको देखिन्छ। मधेसमा काँग्रेस बलियो भयो भने जसपा कमजोर हुने उपेन्द्रको पुरानो सोच नै घातक भयो। राजनीतिज्ञलाई दूरगामी सोच र जनताको झुकाव सम्झने क्षमता राख्नुपर्छ।

डा. राउतले सटिक रणनीति अपनाएका थिए। सामाजिक सञ्जालको व्यापक प्रयोग गरेका थिए। मधेसी समुदायमा विपन्न वर्गको मन छुने खालका गीतका साथै समस्याहरु उजागर गरेका थिए। अर्कोतर्फ मधेसी महिलाको घरआँगनमा बसेर उनीहरुसँग गफगाफ गरेर आकर्षित पार्न प्रयासरत ररे।

उपेन्द्र यादवले सत्ताको राजनीति गरेको र मधेसको अधिकारको लागि आवाज उठाउनमा असफल रहेको भनेर डा. राउतले जनमानसलाई सम्झाउनमा सफल रहे। उपेन्द्र यादव चुनाव जितेर कतिपटक गाउँमा आएर तपाईंहरुसँग भलाकुसारी गरे भनेर डा. राउतहरु सोध्ने गर्दथे। यो कुरा त सत्य हो कि उपेन्द्र यादव कार्यकर्ताबीचमै घेरिने र आफ्ना क्षेत्रका सर्वसाधारण जनतासँग घुलमिल गर्नमा कमी गर्नुहुन्छ। सोही कारणले उहाँले प्रत्येक पटक निर्वाचन क्षेत्र परिवर्तन गर्नुहुन्छ। नगर्दा मोरङ र यसपल्टमा सप्तरीबाट दोहाेराएर जित्नु भएन।

उपेन्द्र यादवका कार्यकर्ताहरुले तामझाम बढी देखाउने र उपेन्द्र यादवलाई वास्तविकताबाट टाढा राख्ने गरेको चर्चा छ। जसपाका कार्यकर्ताहरु अन्य जिल्लामा पनि अनावश्यक रुपमा प्रचारप्रसारमा जुट्यो। गफगाफमा पनि जोसिलो कुरा गर्दा कतिपयले जातीय उन्मादको रुपमा व्याख्या पनि गर्न थालेका थिए। निर्वाचन हुनुभन्दा दुई दिनअघि छिनमस्ताको हाटी गाउँमा जसपाका कार्यकर्ताहरुले एक महिलासहित दुई तीन जनालाई कुटपिट गरेको राष्ट्रियस्तरमै चर्चाको विषय बन्यो। सो क्षेत्रका अधिकांश मतदाताहरु उपेन्द्र यादवलाई मत नदिने निर्णयमा पुगे। त्यो कुटपिटले धेरै क्षति गरेको निर्वाचनको परिणामबाट पुष्टि हुन्छ।

अर्कोतर्फ मधेस प्रदेशमा जसपाको नेतृत्वमा पाँच वर्ष प्रदेश सरकारको शासन रह्यो। लालबावु राउतले लोकप्रिय कार्यक्रमको माध्यमबाट जनताको मन जित्ने प्रयास गरेका थिए। त्यो लोकप्रिय कार्यक्रमभित्र कमिशनको खेलले जनतामा नकारात्मक प्रभाव बन्यो। प्रदेश सरकारकाे ‘खेत खेतमा सिँचाइ र हात हातमा रोजगारको नारा’ नारामै सीमित रह्यो। वास्तवमा सो क्षेत्र धेरै पिछडिएको अवस्थामा छ। जनता समाजवादी पार्टीमा आन्तरिक कलहको पनि प्रभाव परेको हुनुपर्छ।

फुटको सङ्घारमा पुगेका सो दलका केही नेताहरुले भित्रभित्रै कतै षड्यन्त्र त गरेनन् भनेर आन्तरिक समीक्षा पनि गर्नुपर्छ। जसपा जितका लागि जातीय मतमाथि निर्भर थियो भन्ने चर्चा थियो। तर, सो क्षेत्रका बहुसङ्ख्यक यादव जातिले मतदान गर्दा जातीयतालाई आधार बनाएन। डा. राउतलाई यादव जातिको राम्रो मत प्राप्त भएको छ। त्यसपछि उहाँले उपेन्द्रभन्दा करिब दोब्बर मतले जित हात पार्नुभएको हो।

सरकार बनाउनका लागि चर्चा परिचर्चा सुरु भइसकेकाे छ। के उपेन्द्र यादव ओलीकै पक्षमा रहने कि नरहने भन्ने विषयमा बहस सुरु भएकाे छ। निर्वाचनको परिणामलाई दृष्टिगत गर्दा काँग्रेस ठुलो पार्टी बन्ने सम्भावना छ। जसपाले थ्रेस होल्ड कटाउनमा सफल भयो भने सरकार निर्माणमा अह्म भूमिका निर्वाह गर्न सक्ने छ।

निर्वाचनमा हारजित भइरहन्छ। हरेस खानु हुँदैन। मोरङ–६ बाट डा. शेखर कोइराला निर्वाचनमा पराजित भएका थिए। अहिले सोही क्षेत्रबाट भारी मतले लालबावु पण्डितलाई हराएर जित्नुभएको छ। पार्टीको सङ्गठनलाई बलियो बनाउनका लागि स्वच्छ छविका कार्यकर्तालाई अगाडि बढाउनु पर्छ। उपेन्द्र यादव एक साहसिक नेता हुन्। यो हारले उहाँलाई नयाँ उर्जा प्रदान गर्नेछ।

प्रकाशित मिति: : 2022-11-29 05:10:00

प्रतिकृया दिनुहोस्