चुनाव जितेकाे ७२ घण्टा नबित्दै शर्माले शुभारम्भ गरे मतदाताकाे उपचारका लागि नि:शुल्क क्याबिन

माेरङ ३ का नवनिर्वाचित सांसद एवम कांग्रेस नेता डा. सुनिल शर्माले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याविन सेवाको उद्घाटन गरेका छन्।

चुनावमा मतदातासँग भोट माग्ने क्रममा उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शैया  क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरेअनुसार सेवा शुभारम्भ गर्नु गरेका हुन्।

शनिबार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गरे।

मोरङ ३ का मतदाता लक्षित उक्त सेवा  शुभारम्भ गर्दै शर्माले  भविष्यमा अझ बिस्तार गरिने बताए। ‘हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रुपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियाे। अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन्’, डा. शर्माले भने।

सेवा शुभारम्भ गर्दै शर्माले निर्वाचनमा जनतासामु गरेका हरेक वाचा पूरा गर्ने गरी काम सुरु भएको बताएका छन्। जनताले ठुलो विश्वास र भरोसाका साथ आफूलाई निर्वाचित गरेको भन्दै शर्माले आफू जनताको त्यो विश्वास र भरोसा टुट्न नदिने गरि काम गर्ने बताए।

जनतासँग मत लिने र एकै पटक पाँच वर्षपछि भोट माग्न आउने प्रवृति विरुद्ध जनताले भोट दिएका कारण जनताको त्यो आशिर्वाद सधैं शिरमा राखेर हिँड्ने शर्माको भनाइ थियो।

शर्माले मोरङ ३ बाट पूर्व मन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ को फराकिलो मतान्तरले हराएका थिए। उनले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले नेता भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गरे। यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको यो पहिलो जित पनि हो।

प्रकाशित मिति: : 2022-11-27 14:14:00

प्रतिकृया दिनुहोस्