मन्दिरा अधिकारी
साेमबार दिउँसाे २ बजेतिर थापाथलीस्थित सुकुम्बासी बस्तीमा एक्कासी डाेजर चलेकाे आवाज सुनियाे। सुकुम्बासी बस्तीमा सबै मानिसहरु आ–आफ्नाे काममा व्यस्त थिए। काेही घरकाे कामधन्दामा व्यस्त थिए भने काेही आफ्नै नियमित काममा गएका थिए। डाेजर चर्काे आवाज सुनेपछि सबैले आश्चर्य मान्दै बाहिर निस्केर हेरे।
उनीहरु बाहिर निस्किँदा महानगर प्रहरीकाे टाेलीसहित डाेजर बस्ती छिर्न खाेजिरहेकाे थियाे। बस्तीमा एक्कासी डाेजर छिर्न खाेजेकाे थाहा पाएपछि काममा गएका मानिसहरु पनि भेला भए। सबैले महानगरले आफूहरूलाई हटाउन डाेजर चलाएकाे अड्कल लगाए। र, हतार–हतार गर्दै सामान पाेकाे पार्न लागे। कसैले सामान बाहिर निकाले त कसैले घरभित्र नै छाडे। घरभित्रका सामान बाहिर थुपारेर बसेकका उनीहरुले सोमबारको चिसाे रात बाहिरै काटे।
साेमबार दिउँसाेदेखि तनावगस्त बनेकाे बस्ती मंगलबार पनि उस्तै तनावग्रस्त रह्यो। बुधबार भने सुकुम्बासीहरुले माैन अवस्थमा रहे। अहिले पनि सुकुम्बासीका सामानहरू यत्रतत्र छरपस्ट छन्।
झापाकी रमा सुनार साेमबार दिउँसाे छाेरालाई लिन स्कुल गएकी थिइन्। छाेरालाई लिन स्कुल गएकी रमा छाेराे लिएर फर्कदाँ बस्ती तनावगस्त थियाे। बस्तीमा डाेजर छिरेकाे थियाे, मानिसहरू आक्रामक बनिसकेका थिए, कसैले ढुङ्गा/मुढा प्रहार गर्दै थिए त कसैले काठमाडाैँका मेयर बालेन शाहविरुद्ध नारा लगाइरहेका थिए।
‘म छाेरालाई लिन स्कुल गएकी थिएँ। स्कुल जाँदासम्म काेही पनि भएकाे थिएन। सबै ठिक नै थियाे तर स्कुलबाट फर्किँदा त बस्ती पूरै रणमैदान भएकाे रहेछ,’ रमाले बिएल नेपाली सेवासँग भनिन्।
रमा १७ वर्षअघि विवाह गरेर उक्त बस्तीमा भित्रिएकी हुन्। सुरूमा काठमाडाैँ आउँदा कसैले साथ नदिँएपछि उनले त्यहीँ बस्तीमा घर बनाएकी थिइन्। लामाे समयदेखि बस्दै आएकाे यहाँ अहिले महानगरले गरेकाे कार्यप्रति उनी दुःखी छिन्। उनी महानगरले पुनः डाेजर चलाएमा के गर्ने हाे भन्ने त्रासमा बसेकी छन्। उनी रातमा पनि साेमबार दिउँसाे भएकाे घटनाले डराँउछिन् र झस्किने गर्छिन्। रमालाई महानगरले फेरि पनि डाेजर लिएर आउँछ कि भन्ने डर छ।
‘हामीलाई अहिले पनि कतिबेला डाेजर चल्छ भन्ने डर लागिरहन्छ,’ उनले सुनाइनन्। सुरुमा यहाँ झाडी भएकाे र आफूहरुले व्यवस्थित बनाएर बसेकाे उनले सुनाइन्।
यस्तै विरगञ्जकी मिना कुमारी पनि १७ वर्षदेखि यहीँ बस्तीमा बस्दै आएकी छन्। उनीलाई पनि रमाकाे जस्तै पिर छ। महानगरले फेरि पनि डाेजर लिएर आए के गर्ने ?
मिनाले यहीँ बस्तीमा बाल्यकाल बिताएकी हुन्। उनले २०५० सालमा तराईमा बाढी पसेर घरबारविहीन बनेपछि काठमाडौं यही गलैँचा बुन्ने काम गर्न थालेकी थिइन्। १७ वर्षअघि काठमाडौंमा घरबारविहीन सकुम्बासीलाई माओवादीले थापाथलीको बागमती किनारमा बस्न पठायाे। र, उनी त्यतिबेलादेखि यहीँ बस्तीमा बस्न थालिन्।
घरकाे कमजाेर आर्थिक अवस्था उकास्न उनका श्रीमान १२ वर्षअघि कतार गएका थिए। सुरूमा त श्रीमानले घरमा पैसा नपठाएका पनि हाेइनन् तर पछि भने वास्ता गर्न छाडे। ज्याला मजदुरी गर्दै आएकी उनले छाेराछाेरीलाई स्नातकसम्म पढाएकी छिन्।
मिना आफूलाई श्रीमानका साथ साथै भाग्यले पनि ठगेकाे बताउँछिन्। ‘पहिला श्रीमानले वास्ता गर्न छाडे, अहिले भएकाे एउटा बस्ने ठाउँ पनि महानगरले उठाउँदै छ,’ उनले सुनाइन्,‘वैदेशिक राेजगारीकाे शिलशिलामा कतार पुगेका श्रीमानले पनि छाडेर गए, धेरै दुःख गरेर बच्चाहरू पठाएकाे छु। याे बास चाहिँ नखेसेकाे भए हुने थियाे।’
खुला आकाशमुनि रात कटाउन बाध्य उनीहरू सरकार तथा महानगरकाे तर्फबाट कुनै सूचना प्राप्त नभएकाे बताउँछन्। तर, काठमाडौँ महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो।
यता, सुकुम्बासीहरूले भने विकल्प नदिई आफूहरू बस्तीबाट नहट्ने बताइरहेका छन्। उनीहरूले डोजर चलाउने डरले आफूहरूको सामान भने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन्।
थापाथलीस्थित बागमती नदी किनारमा बसेका भूमिहीनहरुलाई महानगरपालिकाले एक महिनाअघि नै सूचना निकालेर ठाउँ खाली गर्न भनेको थियो। तर, निर्वाचनका कारण केही समय राेकिएको महनगर निर्वाचन सकिए लगत्तै डोजर लिएर बस्तीमा हटाउन पुगेकाे हाे। डाेजर पुगेपछि त्यहाँका सुकुम्वासीहरुले ढुङ्गामुढा प्रहार गर्नुका साथै टायर बालेर विरोध जनाएका छन।
यसैगरी संयुक्त सुकुम्बासी माेर्चाका सल्लाहकार दलमाेहन कामी महानगरले आफूहरूकाे माग पूरा नगरेसम्म अनशन बसिरहने बताउँछन्।
‘हामी हाम्राे माग पूरा नभएसम्म अनशनमा बस्छाैँ। हामीलाई सुरक्षित बासकाे व्यवस्था हुनुपर्याे,’ उनी भन्छन्,‘हामीले कुनै पनि गलत काम गरेका छैनाैँ, सुरूमा भाेट माग्न आउँदा हामी सुकुम्बासीकाे व्यवस्थापन गरेपछि मात्र बस्ती हटाउने बताएका थिए तर अहिले एक्कासी हाम्राे घर भत्काउन महानगरले डाेजर पठायाे। हामीले यसबारे राम्राे जानकारीसमेत पाएका छैन।’
यस्तै उनी सुकुम्बासीहरू विकासकाे विराेधी नभएकाे बताउँछन्।
‘हामी सुकुम्बासी विकासकाे विराेधी हाेइनाैँ तर हामीलाई हाम्राे अधिकारबाट वञ्चित गराउन पाइदैन। हामी पनि यही देशकाे नागिरक हाैँ। न हामीलाई व्यवथित गराइयाे, न कुनै विकल्प दिइयाे। अहिले नै जा भनेर कसरी जान सकिन्छ। महानगरले बस्ती हटाउन नगर प्रहरीकाे भेषमा गुण्डा पठाएर हाम्राे विजाेक बनायाे,’ उनले दुखेसाे पाेखे।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया