विश्वकप फुटबल: १९३० देखि २०१८ सम्म क–कसले जिते 'गोल्डेन बुट' ?

कतारमा जारी २२औँ संस्करणकाे विश्वकप फुटबलकाे क्वाटरफाइनलअन्तर्गतका सबै खेलहरू सकिसकेका छन्। मंगलबारबाट सेमिफाइनलका खेलहरू हुनेछन्। २०२२ काे विश्वकपकाे उपाधि कसले हात पार्ला भन्ने काैतुहलता पनि सबैमा छ।

हरेक खेलाडीको एउटै चाहना हुन्छ, उत्कृष्ट खेल प्रदर्शन गरेर उपाधि जित्ने। तर, विश्वकप फुटबलमा खेल नजिते पनि कतिपय खेलाडीले विश्वकप इतिहासमा आफ्नो नाम लेखाउन सफल भएका छन्। विश्वकप फुटबलमा खेल अवधिभर सर्वाधिक गोल गर्ने खेलाडीलाई ‘गोल्डेन बुट अवार्ड’ दिने गरिन्छ।

विश्वकप हरेक संस्करणमा सर्वाधिक गाेल गर्ने खेलाडीहरूले गोल्डेन बुट प्राप्त गर्ने गरेका छन्। विश्वकपका धेरै जसाे संस्करणहरूमा व्यक्तिगत र केही संस्करणमा संयुक्त रूपमा पनि बुट अवार्ड प्रदान गरिएकाे छ।

सन् १९३० देखि २०१८ सम्म को-को खेलाडीले जिते गोल्डेन बुट?

सन् १९३० मा पहिलोपटक भएको विश्वकप फुटबलमा गोल्डेन बुट जित्ने खेलाडी (अर्जेन्टिना)का गुइलेर्मो स्टाबिल हुन्। उनले उक्त विश्वकपमा ८ गोल गरेर गोल्डेन बुट जित्न सफल भएका थिए।

त्यसैगरी सन् १९३४ इटालीमा भएको विश्वकपमा चेकोस्लोभाकियाका खेलाडी ओल्डरिच नेजेडलीले गोल्डेन बुट जितेका थिए। उनले त्यतिबेला सर्वाधिक ५ गोल गरेर गोल्डेन बुट हासिल गरेका थिए।

फ्रान्सले सन् १९३८ मा आयोजना गरेको विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी ब्राजिलका लियोनिडास थिए। उनले ७ गोल गरेर बुट हासिल गरेका थिए।

यस्तै सन् १९५० मा ब्राजिलले आयोजना गरेको विश्वकपमा ब्राजिलकै खेलाडी एडेमिरले ८ गोल गरी गोल्डेन बुटको हकदार बनेका थिए।

यता स्विरजल्याण्डले सन् १९५४ मा आयोजना गरेको विश्वकपमा हंगेरीका खेलाडी सान्डोर कोक्सिसले गोल्डेन बुट जितेका थिए। उनी हालसम्मको विश्वकपमा दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी हुन्। कोक्सिसले त्यसबेला ११ गोल गरेका थिए।

अहिलेसम्मकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्, फ्रान्सका जस्ट फोन्टेन। सन् १९५८ मा स्वीडेनमा आयोजित विश्वकपमा उनले १३ गोल गरेर गोल्डेन बुट आफ्नो पक्षमा पार्न सफल भएका थिए।

सन् १९६२ मा भएको विश्वकपमा ६ जना खेलाडी सयुंक्त रुपमा गोल्डेन बुटको हकदार बनेका थिए। हंगेरीका फ्लोरयन अल्बर्ट, सोभियत संघका भ्यालेन्टिन इभानोभ, युगोस्लाभियाका ड्राजन जार्कोभिच, चिलीका लियोनल सान्चेज, ब्राजिलका वाभा र गारिन्चाले गोल्डेन बुट जितेका थिए। उनीहरुले सो विश्वकपमा ४-४ गोल गरी गोल्डेन बुट प्राप्त गरेका थिए।

यसैगरी सन् १९६६ मा इंग्ल्याण्डले आयोजना गरेको विश्वकपमा पोर्चुगलका खेलाडी युसेबियोले ९ गोल गरी गोल्डेन बुट पाएका थिए।

मेक्सिकोले सन् १९७० मा आयोजना गरेको विश्वकपमा जर्मनीका खेलाडी गर्ड मुलरले बुट जितेका थिए। उनले सर्वाधिक १० गोल गरी गोल्डेन बुट पाए हुन्।

त्यसैगरी जर्मनीले आयोजना गरेको सन् १९७४ को विश्वकपमा पोल्यान्डका खेलाडी ग्रजेगोर्ज लाटोले ७ गोल गरी गोल्डेन बुट आफ्नाे नाममा पारे।

अर्जेन्टिनाका खेलाडी मारियो केम्पसले सन् १९७८ मा अर्जेन्टिनाले आयोजना गरेको विश्वकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका थिए। उनले घरेलु मैदानमै ६ गोल गरी बुट जितेका हुन्।

सन् १९८२ मा स्पनेले आयोजना गरेको विश्वकपमा इटालीका खेलाडी पाउलो रोसीले ६ गोल गरी उक्त वर्षको गोल्डेन बुट हासिल गरेका थिए।

इंग्ल्याण्डका खेलाडी ग्यारी लिनेकर सन् १९८६ मा मेक्सिकोले आयोजना गरेको विश्वकपमा ६ गोल गरेर गोल्डेन बुटको हकदार बनेका थिए।

सन् १९९० मा इटालीले आयोजना गरेको विश्वकपमा (इटाली)का खेलाडी साल्भाटोर सिलाचीले गोल्डेन बुट जितेका थिए। उनले पनि घरेलु मैदानमा ६ गोल गरी उपाधि हासिल गरेका हुन्।

रुसका ओलेग सालेन्को र ह्रिस्टो तथा बुल्गेरियाका स्टोच्कोभले सन् १९९४ मा सयुंक्त राष्ट्र अमेरिकाले आयोजना गरेको विश्वकपमा ६-६ गोल गरी गोल्डेन बुट जित्न सफल भएका थिए।

सन् १९९८ मा फ्रान्सले आयोजनामा भएकाे विश्वकपमा क्रोएसियाका खेलाडी डाभोर सुकरले गोल्डेन बुट अवार्ड जितेका थिए। उनले सर्वाधिक ६ गोल गरी अवार्ड जितेका हुन्।

सन् २००२ मा एसियाका दुई देश जापान र दक्षिणा कोरियाले सयुंक्त रुपमा आयोजना गरेको विश्वकपमा ब्राजिलका खेलाडी रोनाल्डोले ८ गोल गरी गोल्डेन बुटको अवार्ड जितेका थिए।

जर्मनीका खेलाडी मिरोस्लाभ क्लोज सन् २००६ मा जर्मनीमै आयोजित विश्वकपमा गोल्डेन बुटका हकदार बनेका थिए। उनी पनि घरेलु मैदानमा सो बुटका हकदार भए।

यसैगरी सन् २०१० मा दक्षिणा अफ्रिकाले आयोजना गरेको विश्वकपमा (जर्मनी)का खेलाडी थोमस मुलरले ५ गोल गरी गोल्डेन बुटको अवार्ड प्राप्त गरेका थिए।

कोलम्बियाका खेलाडी जेम्स रोड्रिगुएजले सन् २०१४ मा ब्राजिलले आयोजित विश्वकपमा गोल्डेन बुटको अवार्ड जितेका थिए भने सन् २०१८ मा रसियाले आयोजना गरेको विश्वकपमा इंग्ल्याण्डका खेलाडी ह्यारी केनले ६ गोल गरी गोल्डेन बुट प्राप्त गरेका थिए।

२०२२ को विश्वकपमा गोल्डेन बुटको हकदारमा को-को छन्?

केलियन एमबाप्पे (फ्रान्स): ५ गोल 
लियोनल मेस्सी (अर्जेन्टिना): ४ गोल 
ओलिभर जेरुड (फ्रान्स) : ४ गोल 

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2022-12-12 21:50:00

प्रतिकृया दिनुहोस्