सौन्दर्यविद डाक्टर होइन तर सौन्दर्य विशेषज्ञ हो : टिडा विबाटाडा (भिडियाे)

सुनिता लामा

काठमाडौं

सौन्दर्यताको दुनियाँमा एउटा छुट्टै पहिचान बोकेको जुम ब्युटी एकेडेमीले एक साता लामो अन्तर्राष्ट्रिय स्तरको ब्युटी प्रशिक्षण सम्पन्न गरेको छ।

गत पुस ४ गतेदेखि १० गतेसम्म भएको उक्त प्रशिक्षणमा उपत्यका बाहिरबाट समेत उल्लेख्य संख्यामा महिला सहभागिता रहेको थियो। पर्मानेन्ट मेकअप, बिबिग्लो फेसिएल, हाइड्रा फेसिएललगायत विभिन्न कोर्षका कक्षाहरुको प्रशिक्षण थाइल्याण्डस्थित बैंककको बायोटच ब्युटी एकेडेमीका निर्देशक टिडा विबाटाडाले दिएकी थिइन्।

दोस्राे पटकको नेपाल बसाइमा आफूलाई अत्यन्त सहज र पारिवारिक अनुभवका साथ काम गर्न पाएकोमा उनले खुशी व्यक्त गरिन्। यस पटकको प्रशिक्षणमा धेरै महिला प्रशिक्षार्थीहरुको उत्साहजनक सहभागिता रहेकोले आफूलाई निकै खुशी लागेको पनि बताइन्।

नेपालमा भर्खर मात्र फस्टाउँदै गइरहेको पर्मानेन्ट मेकअप र बिबिग्लो फेसियलले धेरै महिलाहरुको ध्यानाकार्षण गरिरहेको बताउँदै यसले व्यक्तिको सुन्दरता मात्र नभइ आत्मविश्वास बढ्ने पनि बताइन्।

तालिम सकेको भोलिपल्टबाटै काम सुरु गर्न सकिने पर्मानेन्ट मेकअप र बिबिग्लो फेसियल सुन्दर देखिन मात्र होइन, अनुहारको छाला स्वस्थ र सफा हुनु चाहिँ महत्वपूर्ण कुरा हो। यसको निम्ति व्यक्ति आफैँ पनि आफ्नो अनुहारको छालाको प्रकृति र स्वस्थताप्रति उत्तिकै सचेत र सजग हुनु पर्दछ।

'एउटा सौन्दर्यविद डाक्टर त होइन तर सौन्दर्य विशेषज्ञ भने हो। किनकि, डाक्टरले रोग हेरेर तुरुन्तै उपचार र औषधि दिन्छन् भने सौन्दर्यविदले व्यक्तिको अनुहारको छालाको प्रकृति हेरेर लामो समयसम्म उपचार गर्दछ। त्यसैले यो एउटा पार्लरको पेशा मात्र होइन, यो एउटा शिक्षा लिने र दिने प्रक्रिया पनि हो। जसमा डाक्टरको जस्तै स्नातक, स्नातकोत्तरलगायत विभिन्न तहको शिक्षा लिन सकिन्छ', टिडा भन्छिन्।

नेपाली महिलाहरुले आगामी दिनमा पनि अनलाइनको माध्यमबाट यस्ता सौन्दर्य सम्बन्धित विभिन्न कोर्षहरुको कक्षा लिन सकिने पनि उनले बताएकी छिन्।

बाँकी जानकारी टिडाको आवाजमा जस्ताको तस्तै :

प्रकाशित मिति: : 2022-12-26 15:28:00

प्रतिकृया दिनुहोस्