पार्टीले जुन मन्त्रालय दिन्छ, त्यो मन्त्रालय लिन्छुः सांसद बलराम अधिकारी

ध्रुब बस्याल

काठमाडाैँ

पाँचदलीय सत्ता गठबन्धनका उम्मेदवार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रिय पात्र चक्रपाणि खनाललाई दाेब्बर मतले हराएका सांसद तथा नेकपा (एमाले) केन्द्रीय सदस्य हुन्, बलराम अधिकारी।

महासचिव शंकर पाेखरेलनिकट उनी प्रचण्ड नेतृत्वकाे सरकारमा मन्त्रीकाे चर्चामा छन्। कपिलवस्तु–१ बाट निर्वाचिन प्रतिनिधिसभा सदस्य उनी यसपटक मन्त्री भइछाड्ने अडानमा छन्। बलराम मन्त्री पद माग्दै काठमाडाैंदेखि देउखुरीसम्म महासचिव पाेखरेलसँग हिँडिरहेका छन्।

महासचिव पाेखरेलकाे खास पात्र भएकै कारण मन्त्री पदकाे हकदार नभएकाे बलरामले बताएका छन्। यसपटक आफूलाई मन्त्री बन्न एमालेकाे केन्द्रीय मापदण्डले पनि नराेक्ने उनी बताउँछन्।

‘शंकर पोखरेलको नजिकको मान्छे भएर मलाई पार्टीले मन्त्री पद दिन लागेको होइन, मन्त्रालय पार्टीले दिने कुरा हो। मेरो मन्त्रालयको निर्णय पार्टीले गर्छ। आजको आवश्यता मध्यनजर गर्दै पार्टीले केही सोचेको होला? कम्युनिष्ट पार्टीको कार्यकर्ता भएपछि पार्टीको नियम मान्नुप्रर्छ,’ बलरामले भने। 

लुम्बिनी प्रदेशमा महासचिव शंकर पाेखरेल समूहका शीर्ष नेताकाे रूपमा हेरिएका उनी एमालेमा अहिले कुनै गुट उपगुट नभएको समेत दाबी गर्छन्। पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीकाे एउटै लाइन केन्द्रदेखि जिल्लासम्म रहेकाे उनकाे भनाइ छ। 

मन्त्रीका सन्दर्भमा सांसद अधिकारीले पार्टीले जिम्मेवारी दिएको खण्डमा त्याे जिम्मेवारी पूरा गर्नका लागि आफू तयार रहेकाे बताएका छन्। ‘मैले अहिले नै यो वा त्यो मन्त्री चाहिन्छ भनेको छैन, पार्टीले जुन मन्त्रालय दिन्छ त्यो मन्त्रालय लिन्छु,’ उनले भने, ‘सरकारले विश्वासको मत लिइसकेपछि बल्ल हरेक कुराको जानकारी आउला, म मन्त्री बन्ने–नबन्नेबारे कुनै टुङगो लागेको छैन।’

प्रकाशित मिति: : 2023-01-02 07:50:00

प्रतिकृया दिनुहोस्