ट्रम्प र बाइडनपछि पेन्सको घरमा पनि गोप्य कागजात

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी बर्तमान राष्ट्रपति जो बाइडन र निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका घरमा गोप्य कागजात फेला परेपछि छानबिन चलिरहेकै बेला ट्रम्पका उपराष्ट्रपति माइक पेन्सका घरमा पनि गोप्य कागजात भेटिएका छन् ।

अझ पेन्सका घरमा त बाइडन उपराष्ट्रपतिभएको बेलाका गोप्य  कागजात भेटिएको बताइएको छ । 

पेन्सको इण्डियानास्थित घरमा भेटिएका गोप्य कागजातका बारेमा उनका सहयोगीहरूले आफै जानकारी दिएर  संघीय अनुसन्धान व्यूरो (एफबीआई) लाई बुझाइदिएकाले उनीमाथि भने छानबिन अधिकारी नियुक्त गरिएको छैन । 

भेटिएका कागजात गोप्य हुन कि हैनन् भनेर एफबीआई अधिकारीहरूले छानबीन गरिरहेको बताइएको छ । 

एकपछि अर्को गरेर गोप्य कागजातहरू भेटिएपछि एक नेताले अर्को नेताको भन्दा आफ्नो परिस्थिति र कागजात भिन्न भएको बताएका छन् । राष्ट्रपति बाइडनले गोप्य कागजातहरूको बारेमा आफै जानकारी दिएको र यी कागजातहरू गलत मनसायले आफ्नो निजी कार्यालय र निबासमा नपुगेको भन्दै आफ्नो बचाउ गरेका छन् । उनले राष्ट्रपति ट्रम्पले त आफूलाई फाइदा हुने किसिमले लगेर लुकाएको आरोप लगाएका छन् ।

अमेरिकी बर्तमान र निवर्तमान राष्ट्रपतिका निजी कार्यालय र घरमा  भेटिएका गोप्य कागजातमाथि छानबिन चलिरहेकै बेला ट्रम्पका उपराष्ट्रपति  पेन्सका घरमा पनि गोप्य कागजात भेटिएका छन् । श्रृंखलावद्ध यी घटनालाई लिएर ह्ववाइटहाउसको नियत र विश्वसनियतामाथि प्रश्न उठेका छन् । 

उता, माइक पेन्सले भने केही बोलेका छैनन् । निस्पक्ष छानबिन होस् भन्दै उनले छानबीनलाई पूर्ण रूपमा सघाउने बताएका छन् ।

तर, ट्रम्पले भने ती कागजातहरू गोप्य नभएको भन्दै अदालतमा ुमद्दा मात्र हालेका छैनन्, अनुसन्धानलाई सघाइरहेका पनि छैनन् । उनले उल्टै राष्ट्रपति बाइडन बहालवाला राष्ट्रपति भएकाले उनी नैतिक रूपमा पनि ह्वाइट हाउसमा रहन योग्य नभएको टिप्पणी गरेका छन् ।

यसरी गोप्य कागजात भेटाइएका नेताहरूले आआफ्ना तर्क राखेर एकले अर्कालाई धारेहात लगाइरहेको बेला आमअमेरिकीले भने राष्ट्रिय सुरक्षा पद्धति र नेताहरूको नियत र व्यवस्थापनमाथि नै प्रश्न उठाउन थालेका छन् । केहीले यी घटनालाई नियोजित भनेका छन् केहीले अमेरिकी नेताहरूको विश्वसनियतासँग जोड्ने गरेका छन् । उनीहरूको तर्क छ, यी घटनाहरूले अमेरिकी प्रतिष्ठामा चोट पुगेको छ । मानिसहरूले भन्न पाउँनेछन्, अमेरिकामा त यस्तो हुन्छ, हाम्रो के कुरा भयो र ? यस्तो सुन्दा जो कोही अमेरिकीको पनि शीर गर्वले ठाडो हुदैन ।'

प्रकाशित मिति: : 2023-01-26 01:03:00

प्रतिकृया दिनुहोस्