‘रविकरण’ भइरहेको एमाले र नैतिकता बिर्सिएका ‘रवि दाइ’

BreaknLinks
BreaknLinks

‘नेपाली नागरिकता’को नयाँ प्रमाण–पत्र बोकेर हिँडिरहेका ‘भाइरल म्यान’ रवि लामिछानेप्रति अनेकौं प्रश्न जन्मिएका छन्। तर उनी सुशासन र नैतिकताको प्रश्नबाट भागिरहेका छन्। उनी लामिछानेतन्त्र कायमै राख्न चाहन्थे। कानुनी राजमा त्यो सम्भव भएन। नेपाली राजनीतिमा नयाँ ‘फन्डा’ प्रयोग गर्दागर्दै लामिछाने ‘सर्वोच्च कानुन’को कसीमा बाँधिए। सांसद पद गयो। ३३ दिने गृहमन्त्रीको कुर्सीबाट भूइँमा बजारिए।

नागरिकताका सन्दर्भमा सर्वोच्च अदालतको संवैधानिक इजलासले पुरानो नागरिकता कायम नरहेको आदेश दिएपछि अब राहदानीबारे अनुसन्धान गर्ने बाटो खुलेको छ। राहदानी ऐन, २०७६ को दफा २१(क)मा झुटा विवरण दिइ राहदानी लिएमा कसुर गरेको मानिने व्यवस्था छ। त्यसको पुष्टि भएमा ऐनमा २ देखि ५ लाख जरिवाना, १ देखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। लामिछानेलाई यो कानुन आकर्षित हुने देखिन्छ। उनी सकेसम्म त्यो कानुन छल्न लागिपरेका छन्। फेरि गृह नै ताकेका छन्। सके आफू, नसके आफ्नो पार्टीबाट आफूजस्तै विवादित पात्रलाई पठाउन चाहन्छन्।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गएलगतै फेरि सभापति पदमा फर्किए। लाग्छ– ‘रास्वपा’ पार्टी होइन, एउटा ‘क्लब’ हो। जहाँ भगवानका भक्तजस्तै सदस्यदहरू छन्। उनीहरू निर्वाचन आयोगको नीति–विधि मान्दैनन्। उनीहरूको बेग्लै विधान छ। विधिको शासन र सुशासनको चर्को नारा घन्काउने लामिछानेलाई सर्वोच्च अदालतले गतिलो पाठ सिकाएको छ। उनी दुईदिन नबित्दै पार्टी विधानको उल्लघंन गर्नेमा अग्रपंक्तिमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार पार्टीको पदाधिकारी हुन कम्तिमा एक वर्ष साधारण सदस्य हुनुपर्ने कुरालाई लामिछानेले लत्याए। भो..! त्यतातिर धेरै नबोलौँ, त्यो रवि लामिछाने अमेरिकी नागरिक हुँदाताका खोलेको उनकै पार्टी हो। तर उनले नेपाली नागरिकता पुनः प्राप्ति गरेलगतै किन गृह प्रशासन ताकेका छन्? यो मुख्य चासोको विषय हो। उनी आफूले सत्ता र शक्तिको आडमा जे गर्दापनि उन्मुक्ति पाउँछु भन्ने पुरानै ‘ह्याङ’मा बाँचिरहेका छन्। यो उनको ठूलो कमजोरी हो।

सांसद, मन्त्री, पार्टी सभापति र नागरिकताको अन्यौल सल्टिए पनि राहदानी दुरुपयोगको विषय बाँकी नै छ। उनी दोहोरो राहदानी लिएको कसुरबाट भाग्न सक्दैनन्। अमेरिकी राहदानी बोकिरहेका बेला नेपाली राहदानी पनि सँगै बोकेका लामिछाने गम्भीर फौजदारी अपराधबाट लुक्न सक्दैनन्। त्यसकारण पनि उनी फेरि गृहमन्त्रालय फर्किनु हुँदैन। त्यसो त भीडले जन्माएको रवि लामिछानेलाई कानुनले तह लगाएको छ। उनी आजपनि आफूलाई समर्थकको आडमा कानुनभन्दा माथि र नैतिकताभन्दा परै ठान्छन्। यो उनको सबैभन्दा ठूलो महाभ्रम हो।

रवि लामिछानेबारे यसो भनौँ– अब उनीसँग एकमुठ्ठी पनि नैतिकता छैन। उनी अनैतिक भइसके। जुनदिन आफूमाथि राज्य प्रशासनले छानविन गरिरहेको थियो, त्यही दिन गृहमन्त्रालय रोजे। गृह प्रशासन रोजेर ‘स्वार्थको द्वन्द्व’ निम्त्यिाए। प्रमुख जिल्ला अधिकारीदेखि न्यायाधीवक्ता स्वभाविक रुपले उनीसँगै लाग्थे, अन्ततः लगाएपनि।

रवि प्रकरणमा यी पात्र कुनैपनि कोणबाट राजनीतिको रंग सफा गर्छु भन्दै हिँडिरहेका ‘नयाँ रवि लामिछाने’ देखिएनन्। उनी पुरानै बोतलका नयाँ रक्सी मात्रै रहे। लामिछाने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजस्तै देखिए। उनले गृहमन्त्री पाउनुमा सबैभन्दा ठूलो हात ओली र प्रधानमन्त्री प्रचण्डको छ। सत्ता स्वार्थमा रुमल्लिएका ओली–प्रचण्डले समयको उपयोग गरेर लामिछानेको भागमा शक्तिशाली मन्त्रालय सुम्पे।

नागरिकता र राहदानी विवाद चलिरहेकै बखत एउटा अनैतिक पात्रलाई अदालत, मन्त्रालय, प्रशासनसँग मनपरी गर्न दिने यिनै दुई अनैतिक महापात्र हुन्। ओली र प्रचण्डले गरिरहेको फोहोरी राजनीति सफा गर्नभन्दै चिच्याएका लामिछाने आफैँ फोहोर दलेर फर्किएका छन्। उनी यतिसम्म गिरेका छन् कि दोहोरो राहदानीबारे अनुसन्धान भइरहेका बेला फेरि गृहमन्त्रालय माग्दै प्रधानमन्त्री निवास बालुवाटार पुगे।

आइतबार बेलुकी बालुवाटार गएका लामिछानेले ‘लाजघिन’ पचाएर फेरि त्यही मन्त्रालय खोजे। गृह मन्त्रालय आफ्नो मुठ्ठीमा राखेर प्रहरी प्रशासनमा आतंक मच्चाउन खोजिरहेका प्रधानमन्त्री दाहालले अनुहार अमिलो बनाएपनि लामिछानेको समर्थमा एमाले अध्यक्ष ओली उत्रिएका छन्। निर्वाचनताका नेपाली कांग्रेस र शेरबहादुर देउवालाई प्रचण्डीकरण भएको आरोप लगाउँदै हिँडिरहेकाे एमाले र ओली आजकल रविकरण भइरहेको छ। एमाले अध्यक्ष ओली मात्रै होइन, त्यो पार्टीका महासचिव शंकर पोखरेल पनि आँखामा कालो पट्टी बाँधेर लामिछानेको बचाउमा लागेका छन्। मानौँ– यी रवि लामिछाने भनेका एमालेका गोकुल बाँस्कोटा, महेश बस्नेत वा भानुभक्त ढकालको नयाँ रुप हुन्।

‘भाइरल म्यान’ रवि लामिछाने र उर्लिँदो भीडको सहानुभूति बटुलने नाउमा केपी शर्मा ओली अग्रपंक्तिमा तैनाथ छन्। गृह प्रशासन लामिछानेको काँधमा राखेर ‘पृथ्वीबहादुर शाह’जस्ता कैयौं पात्र ताकिरहेका ओली बढी नै भावनामा डुबेकाे भान हुन्छ। ओलीतन्त्र, दाहालतन्त्र र लामिछानेतन्त्र सत्ता र शक्तिको आडमा जे पनि गर्न सकिन्छ भन्ने ध्याउन्न छ। विधिको शासन र कानुनी राज मान्नेहरूका लागि यो बिल्कुल स्विर्काय छैन।

सत्तासीन दलका नाइकेहरू ओली, प्रचण्ड र लामिछानेसँग पछिल्लो सन्दर्भ हेर्दा एकइन्च पनि सुशासन र नैतिकता देखिएन। उनीहरूले कहिँ न कहिँ स्वार्थको द्वन्द्व निम्त्याइरहेका छन्। सत्ता स्वार्थमा चुर्लुम्मै डुबेकाहरू नेपाली नागरिकलाई अनेकौं तमासा देखाउँदै ‘हामी तीन भाइ’ भन्दै हिँडिरहेका छन्। राजनीति यस्तै हो, यात्रा चलिरहोस्, शुभयात्रा ‘तीन भाइ’...!

प्रकाशित मिति: : 2023-01-31 08:25:00

प्रतिकृया दिनुहोस्