खुसी हुन छोडेर केलाई रुन्छ्यौ आमा ?

हुस्सुले छोपेको दिनमा घामका किरणहरू निस्सासिरहेका थिए। गीतकार कृष्णसिंह पेला र म धनगढीदेखि कञ्चनपुरस्थित रतनपुर गाउँसम्म पुग्ने सोचमा यात्रारत थियौँ। कृष्णसिंह पेला तिनै गीतकार हुन्, जसका शब्द पहिलो पटक गायका थिए गायक/संगीतकार तिलकसिंह पेलाले। उनका थुप्रै गीतहरू निकै नै लोकप्रिय बनेका थिए त्यतिखेरै। कहानी बनेन् केही यस्तै भो मेरो जिन्दगी, लुकाउन खोज्दा पनि आँसु नखसेको हाेइन देखि निर्जन किनार लगायतका गीतहरू अहिले पनि जनजिब्रोमा झुण्डिएकै छन्। एक फकिर जस्ता देखिने सरल र सफा दिलका ती गीतकारसँग महिनौँसम्म यात्रा गर्न पाए नि हुन्थ्यो जस्तो लाग्थ्यो। तर, हामीसँग त्यतिखेरै पनि समय निकै कम थियो। भारतको सीमाना नजिकको बाटोमा एकोहोरो गाडी गुडाइरहेका थिए उनी। छेउमै बसेर सुन्तलाका बोक्रा छोडाउँदै थिएँ म। सँग सँगै एकातिर समयका पत्रहरू पनि पल्टिरहेका थिए भने अर्कोतिर अतितका सुमधुर पत्रहरू पल्टाउँदै थिए उनी। गफ्फिदै गर्दा आइपुग्छ रतनपुरको बस्ती। एउटा सानो चिटिक्क परेको घर। आँगनमा एक बृद्ध आमा कुन्नी के-के सोचेर टोलाइरहनु भएको थियो। आमाभन्दा केही पर परिवारका अन्य सदस्यहरू खाजाको तयारीमा व्यस्त थिए।

आँगनमा हाम्रो प्रवेश भएसँगै नजिकै आइ पुग्नु भयो आमा र दाइ शमशेर सिंह पेला। कृष्णसिंह पेला परिवारकै सदस्य भहाले। म भने नयाँ अनुहार थिएँ उहाँहरूका लागि। ‘म तम्रा छोरा तिलको साथी हुँ आमा’, आमाको छेउमा पुगेर भनेँ। आमाको मुहार हँसिलो देखियो। कुराकानी गर्न इच्छुक हुनु भयो। तिलकको गीत संगीतप्रतिको लत र हालको लोकप्रियताका बारेमा सुनाउँदा आमाका आँखाबाट झर्न थाले आँसुका थोपा। अहिलेको गीत सुन्या हौ आमा ? मैले जिज्ञासा व्यक्त गरेँ।

आमाले टाउको हल्लाएरै सुनेको कुरा व्यक्त मात्र गर्नुभएन क्षणभरमै ओढिराखेको पछ्यौरीले अनुहार छोपेर रुन थाल्नु भयो। मलाई थाहा थियो ती खुसीका आँसु हुन्। खुसी सम्हाल्न नसक्दा आमा भक्कानिनु भएको छ। तै पनि नबुझेझैँ गरेर प्रश्न गर्छु, चारैतिर हाइ हाइ चल्या छ। यो तिलकसिंह पेला भणेको को हो ? भण्णछन् मान्स। उनरो नाउ नसुण्णे कोइ छैनन्। तमः रुन्नाछौँ आमा के हो इसो ?

बिस्तारै आँखाका परेली पुछेर भन्न थाल्नु भयो, खुसी त छु। क्यारु पुराना दुःखका दिन सम्झियाले झन आउना आँसु।

यति सुनेपछि थप प्रश्न गर्न कठिन हुन्छ मलाई। म कुनै कथाको प्लट खोज्न त्यहाँ पुगेको थिएन। कुनै समाचार लेख्ने उद्देश्य पनि थिएन। मात्र भेटघाट गर्ने उद्देश्य थियो। त्यसैले बृद्ध आमासँग अरु कुरा सोधिनँ पनि। आमा भने एकछिन आफ्नै सुरमा टोलाइरहनु भयो। शायद पुराना दिन सम्झिनु भयो होला।

एक समय थियो। जतिबेला खान लगाउन समस्या थियो। पैसा हुँदा पनि किन्न जाने ठाउँ भनेका टनकपुर, ब्रह्मदेव, मालाखेती थिए। जुन ठाउँ पुगेर फर्किदासम्म साता बितिसक्थ्यो। काठमाडौँलाई नैपाल भनिन्थ्यो। त्यो नैपालले सुदूरपश्चिमका जनता पनि मेरै जनता हुन् भन्ने आभास दिलाउन सकेको थिएन। त्यो कठिन समय। घरभरि स-साना बालबच्चाहरूलाई छोडेर कलिलो उमेरमै क्षितिज पारिको यात्रा तय गर्नुभयो तिलकका बुवा वीरसिंह पेलाले। जतिखेर तिलकका जेठा दाइ शमशेर १३ वर्षका थिए। तिलक पाँच वर्षका थिए। त्यो बेलाका केही घटना याद भए पनि तिलकको सम्झनामा बुवाको स्पष्ट अनुहार आउन सकेको छैन। ती दिनहरूको सम्झि भावुक हुँदै बताउँछन् उनी, ‘म सानै थिएँ खेतमा काम गर्न जाँदा सँगै जान्थे। एकदिन ढोकाको चाबी डोरीमा बाँधेर मेरो घाँटीमा माला लगाएझैँ झुण्ड्याइदिनु भएको थियो। बुबा आमा खेतमा बदाम गोडिराख्नु भएको थियो। आफ्नै सुरमा खेतमा खेल्ने क्रममा चाबी उतै छोडेछु। पछि घर पग्दा चाबी नदेखेपछि बुबाले मलाई फकाउँदै चाबी छोडेको ठाउँ याद गर्न भन्नु भयो र गएर ल्यायौँ। त्यस्तै बुबा बिमारी हुँदा धामी काँपेको जस्ता केही घटना सम्झिन्छु।’

चार जना सन्तानका लागि आमा र बुवा आफैं बन्नु भयो आमा पशुपति देवी। कडा परिश्रम नगरी गुजरा चल्दैन थियो। कम्मरमा पटुका बाँधेर आमाले सबै सन्ततिलाई हुर्काएकी थिइन्। त्यो विगत एकातिर नाचिरहन्छ सम्झनामा। अर्कोतिर नाचिरहन्छ कान्छो छोरा तिलकको मुहार। आमालाई लाग्दो हो सबैको घरबार भैसक्यो कान्छो छोरो एक्लै जोगी जस्तो कहाँ-कहाँ डुलिरहन्छ। कुन्नी के कस्तो पो छ।

सन्तानले जतिसुकै चर्चा बटुले पनि, जतिसुकै कमाइ गरे पनि घरपरिवारबाट टाढा बसिरहँदा हुँदो रहेनछ मन शान्त। एकातिर हर्षका आँसु बगिरहन्छन्। अर्कोतिर सुर्ता बोकिरहन्छिन् आमा। यतिखेर सम्झनामा आइरहन्छन् विगतमा कुनै डेउडियाले रचेको डेउडा गीतको यो पंक्ति:

छ मैना वर्ष दिन काटेँ एकै कुर्ताले 
जीउ सुकी माछिको काँडो तेरा सुर्ताले 

डोटेली भाषामा सुर्ताको अर्थ हुन्छ: चिन्ता, फिक्री, पीर। तिलकसिंह पेलाकी आमा भन्नु हुन्छ, ‘पनातिसमेत देखिसकेँ। अचेल सबै ठिकै छ बाबु तर पनि मन ठेगानमा छैन। तिलको पीर लाग्छ।’

उनले निकै नाउँ कमाएका छन् आमा। अचेल उनलाई नचिन्ने कमै हुन्ना। तमु क्याखिलाई पीर माण्णि छौ ? आमाका कुरा सिद्धिन नपाउँदै प्रश्न तेस्याउँछु।

अरु त ठिकै थ्यो। ऊ एकलोइ काँ ब डुलिरन्छ। खायो भोको कसो छ। के गद्द लाग्या होलो ? यसाइ कुरा सम्झिबट उइकै चिन्ता लाग्दो ब्वा (बाबु) क्या गरु ?  हृदय मन्नैन ब्वा(बाबु) रोइरन्छ।

आमाको मन पूर्ण रुपेण सन्तुष्ट कहाँ हुँदो हो आफूबाट टाढा बसिरहेको छोराले जतिसुकै प्रगति गरे पनि। जतिजति छोराको चर्चा सुनिन्छ उति उति यादले सताइरहन्छ। छेउमै भए त चिउँडो मुसार्दी हुन्। खाने कुरा दिँदि हुन्। तर, आमा बस्ने ठाउँबाट देखिदैन छोराको बस्ने ठाउँ। क्षणभरमै छोरासँग फोनमा कुरा गर्न थालेकी आमाले कुरा गर्दै गर्दा भनेकी थिइन, जाडो होला बाक्ला लत्ता लाइहालेइ हा ब्वा अर्थात् चिसो धेरै होला जीउमा बाक्लो कपडा पहिरी हाल्नू है छोरा। हरेक आमाका लागि सन्ततिको स्वास्थ्य पहिलो प्राथमिकतामा पर्छ। त्यसैले त आमाहरू सुरुमा सोध्न थाल्छिन् खाना खायौ कि भोकै छौ ?

आमाका यिनै कुराले एकछिन छोराको बोली बन्द हुन्छ। नजिकै बसेका दाइ भन्न थाल्छन्, अब ऊ पनि रोयो। सबै ठिक छ खुसी हुन छोडेर केलाई रुन्छ्यौ आमा ?

आमालाई सम्झाउन खोज्ने दाजु पनि कम हुनु हुन्नथ्यो आँसु झार्नमा। दाजुसँग कुरा गर्न खोज्दा विगत सम्झिदै भन्नु भयो, ‘घरको परिस्थिति राम्रो थिएन। मैले जागिर खाँदा सबैजना अटाउने यस्तो घर बनाउँछु भनेर काल्पनिक नक्सा बनाउँथे। तर, त्यस्तो घर आजका दिनसम्म बनाउन सकेको छैन। हामीले उसका लागि त झन केही गर्न सकेनौं। चाहेर पनि उसलाई त्यो माहोल नै दिन सकेनौं’, हत्केलाले आँसु पुछ्दै सुनाउन थाल्नु भयो, ‘उसको साधना देखेर केही गर्छ भन्ने त लागेको थियो तर यति चर्चा पाउला सोचेको थिइनँ। कुल देवता दाइना भए। राम्रो भयो। आज उसले पेला कुललाई नै चिनाएको छ। पेला कुलकै दीपक बनेको छ। मेरा भाइको अझै प्रगतिको कामना गर्छु।’ दाइ घोप्टो परेर आँसु पुछ्न थाल्नु भयाे। हाम्रा पनि आँखा रसाउन थाले। क्षणभरमै थालभरि पकौडा जेरी आइ पुग्यो। त्यो नास्ता उचित समयमा आइ पुगेको थियो। जसले प्रसङ्ग मोड्न सघाउ पुर्‍यायो। सबै जनाको ध्यान खाजाले आफूतिर खिच्यो।

छोटो समयको भेटघाटपछि हामी बिदा मागेर छुटिट्ने बेलामा ८०औँ वसन्त पार गरिसकेकी आमाले मेरो चिउँडो मुसार्दै भन्नु भएको थियो, पछि तिलकसँग आएइ हा ब्वा (पछि तिलक आउने बेला पनि आउनू है छोरा) म बोल्न सकिरहेको थिएन। मात्र टाउको हल्लाएर हुन्छ भन्ने संकेत दिइरहेँ। हामी गाडीमा बस्दा सडकमा आएर हात हल्लाइ रहनुभएको थियो आमा। आमा मभित्र तिलकको अनुहार खोज्दै हुनुहुन्थ्यो होला, म ती आमाको मुहारमा मेरी आमाको झल्को भेटिरहेको थिएँ। लाग्थ्यो वर्षौ बिछोडिएका आमा छोराको मिलन भएको छ।

प्रकाशित मिति: : 2023-02-06 21:00:00

प्रतिकृया दिनुहोस्

    कस्तो मन छोयो यो लेख पढेर! हो नी आमा को लागी छोरा छोरीको पिर संधै मनमा परीरहन्छ चाहे छोरा छोरीहरु जती नै उमेर पुगेको होस। आखिर म पनी त एक आमा हुं, मलाई थाहा छ आमाको पीर, आमाको चिन्ता सन्तान प्रति को! यो लेख पढेर श्रद्धेय गुरु, संगीतकार तथा गायक तिलक सिंग पेला ज्यू को पूजनीय आमा तथा परिवारको बिषयमा पनी अरु बुझ्ने मौका पाउंदा खुसी लाग्यो।

    • एक बर्ष अगाडि
    • सरला श्रेष्ठ

    संघर्शशिल जिवनको सफता र सफलतामा झर्ने खुशीको आशु साच्चिकै वर्णन गर्न नसकिने हुन्छ्न र लेखकका शब्द अनि वडो मार्मिक

    • एक बर्ष अगाडि
    • Marx Birendra

    पेला परिवार मा सत् सत् नमन। आमा का आँशु नै आशीर्वाद हुन् । जहाँ जति बगे पनि केवल शुभकामना सफलता का निम्ति पुकारिरहेका हुन्छन्। धन्य आमा। चरण वन्दना गर्दछु 🙏🏻💖।

    • एक बर्ष अगाडि
    • विमुन्स पौडेल