अस्थायीमा ९ पटक वैकल्पिक, पहिलो पटकमै स्थायी शिक्षक

रोल्पाको त्रिवेणी गाउँपालिका–७ की यमकुमारी घर्तीमगर शिक्षक सेवा आयोगले लिएको सबै चरणको परीक्षामा सफल भएर पहिलो पटकमै स्थायी भएकी छन्।

आयोगले लिएको परीक्षामा पहिलो पटक सहभागी भएता पनि घर्तीमगरले शिक्षक बन्नकै लागि दिएको परीक्षा भने यो पहिलो हाेइन। अस्थायी शिक्षकका लागि घर्तीमगरले गरेको संघर्षको इतिहास भने लामो छ। स्थानीय तहहरुले लिने करार शिक्षकका लागि दिएको परीक्षामा ९ पटकसम्म वैकल्पिकमा पारिएको नमिठो अनुभव छ।

जिल्लाका विभिन्न विद्यालयहरुले करार शिक्षक छनौटका लागि लिएका अधिकांश परीक्षामा घर्तीमगरले आवेदन दिइन्। ‘सुरु–सुरुमा १–२ पटक वैकल्पिकमा आउदा अर्काे पटक त कसो सफल नभइएला भन्दै थप तयारी गरेँ,’ उनले भनिन्, ‘तर ९ पटकसम्म पनि वैकल्पिकमा पर्दा मन मरिसक्यो।’

२०७८ माघमा पहिलो पटक बागेश्वरी माध्यामिक विद्यालय माडी गाउँपालिका–५, भाबाङमा निमावि तहको करार शिक्षकका लागि परीक्षा दिएकी घर्तीमगरले लिखितमा पहिलो नम्बरमा नाम निकालिन् तर अन्तिम नतिजामा वैकल्पिकमा नाम आयो।

लगत्तै उनले लुङ्ग्री गाउँपालिका–७, छहरेखुङको फूलबारी आधारभूत विद्यालयमा पनि आवेदन दिइन्। त्यहाँ पनि लिखितमा पहिलो नम्बरमै नाम निस्केको थियो तर अन्तिममा वैकल्पिकमै राखियो।

पहिलो पटक भोगेको जुन नियती उनले यसैगरी माडी गाउँपालिका–५ भाबाङको बागेश्वर मावि, त्रिवेणी गाउँपालिका–१ करेटीको जनसेवा आधारभूत विद्यालय, रोल्पा नगरपालिकाभित्रको मात्रै तीन वटा विद्यालय प्रावि भैसीखुर, प्रावि चङलिङ र डिल्लेश्वरी आधारभूत विद्यालयमा भोग्नु परेको थियो।

लिखित परीक्षामा कसैले उछिन्न नसके पनि अन्तर्वार्तामा पहुँचका आधारमा छनोट हुने गरेकाले सफल हुन नसकेको उनको निष्कर्ष छ। कतिपय विद्यालयका शिक्षकहरुले त पहुँचकै आधारमा अरुको नाम छनौटमा परेको भन्दै उनको बारे दुखेसोसमेत गर्ने गरेका थिए।

अन्तर्वार्ताका क्रममा शिक्षा शाखाका प्रमुखहरुले सोधेका सबै प्रश्नको जवाफ दिएपछि उनीहहरुले चकित हुँदै शिक्षक सेवा आयोगबाट नाम निकाल्नुहुन्छ भन्दै पठाउने गर्दथे। ‘तयारी राम्रो गर्नुभएको रहेछ, अब सिंधै स्थायीमा सफल हुनुहुन्छ। यतातिर नलाग्नुस’, शिक्षा शाखाका कर्मचारीहरुले दिएको सुझाव उनले सुनाइन्।

न्याय पाएको अनुभति

अस्थायी शिक्षकका लागि पैसा र पहुँचको भरमा बञ्चित गराइए पनि अहिले न्याय पाएको काका प्रेम मगरको भनाइ छ।

‘विभिन्न पार्टीका झोले र भ्रष्टहरुका कारण हाम्री छोरीले अस्थायी शिक्षक बन्न पाएनन्’ मगरले भने, ‘तर आज शिक्षक सेवा आयोगले लिएको निष्पक्ष परीक्षाबाट शिक्षक बन्न सफल हुँदा न्याय पाएको अनुभूति भएको छ।’

सफल उम्मेदवारलाई हटाउने इच्छा

अस्थायीमा ९ पटक वैकल्पिक भएपछि स्थायीका लागि दिएको पहिलो परीक्षाबाट लिखित परीक्षामा महिला र जनजातितर्फ नाम निकाल्न सफल घर्तीमगर अन्तर्वार्तापछि महिला तर्फबाट शिफारिस भएकी छन्। स्थायी शिक्षकका लागि शिफारिस भएकी घर्तीमगर सकभर आफूलाई वैकल्पिक पारेर सफल भएका व्यक्तिलाई हटाएर त्यही दरबन्दीमा पदस्थापन हुन चाहन्छिन्। त्यसका लागि उनले सकभर घर पायक र सहज ठाउँमा रोज्ने भएकी छन्।

पैसाको चलखेल

करार शिक्षक भर्ना गर्दा कतिसम्मको चलखेल हुन्छ भन्ने गतिलो उदाहरण हो यो। केही समयअघि तनहुँमा कार्यरत रोल्पाकी एक शिक्षिकाले गृहजिल्लामै सरुवा गर्दा दुई लाख रुपैयाँ माग गरेको पाइएको छ।

गत महिना सरुवा भएर आएकी ती शिक्षिकाले दुई लाख दिन नसक्ने बताएपछि यो कुरा बाहिरिएको थियो। सरुवा भएर आएयता तलब नखाएकाले तलबबाटै पैसा काटिने हो कि भन्ने चिन्तामा रहेको पीडित शिक्षिकाको गुनासो छ।

यस्तै करार शिक्षक भर्नाका लागि तीनदेखि छ महिनासम्मको तलब बुझाउने गरेको पनि स्रोतको भनाइ छ। ‘आवेदन दिँदा नै छ महिनाको तलब दिनुपर्ने शर्तमा सेटिङ हुने गरेको छ’ स्रोतले भन्यो ‘लिखित र अन्तर्वार्ता त प्रक्रिया पूरा गरेको मात्रै हो।’

जिल्लामा यसरी शिक्षक भर्ना र सरुवामा लाखौं चलखेल हुँदा प्रशासन र अन्य सरोकारवाला निकाय भने मौन रहेका छन्।



अस्थायी शिक्षकका लागि प्रतिस्पर्धा गर्दा ६ पटकसम्म वैकल्पिक

प्रकाशित मिति: : 2023-02-25 15:35:00

प्रतिकृया दिनुहोस्