गम्भीर विषय, सरल प्रस्तुति: अ म्यान कल्ड ओट्टो

BreaknLinks
BreaknLinks

स्विडेनका प्रसिद्ध उपन्यासकार फेड्रिक ब्याकम्यानको चर्चित कृति 'अ म्यान कल्ड ओब' मा आधारित सिनेमा 'अ म्यान कल्ड ओट्टो' गत महिना रिलिज भएको छ। एउटाको मृत्यु हुँदैमा अर्काको जीवन सकिँदैन, जस्तो दुख आए पनि जीवनलाई खुशीका साथ बिताउनुको कुनै विकल्प छैन। सबै आफ्नै-आफ्नै समस्याले घेरिएको हुँदा अर्काको दुखमा कसैलाई पनि वास्ता नहुने कटु सत्य हास्यरसमा बताउने यो सिनेमाको प्रमुख पात्र ओट्टो एन्डरसनको रुपमा टम ह्याङ्क्सले अभिनय गरेका छन्।

ओट्टो एन्डरसन एक स्टिल कम्पनीबाट सेवानिवृत कर्मचारी हुन्। उनी पत्नीको मृत्युपछि आफ्नो जीवनसँग निराश छन्। उनले धेरै पटक आत्महत्याको प्रयास गरेका थिए तर हरेक पटक उनलाई बचाउन कोही न कोही आइहाल्छ। आफ्ना छिमेकीहरुसँग विनाकारण झगडा गर्नु उनको स्वभाव हो। जब उनको नयाँ छिमेकी मेरिसोल (मारियाना ट्रेविनो) सँग मित्रता हुन्छ, त्यसपछि उनलाई आफ्नो जीवनप्रति माया लाग्दै आउँछ। उनी आत्महत्या कुनै समस्याको समाधान होइन भन्ने निष्कर्षमा पुग्छन्।

ह्याङ्क्सको सिनेमामा अन्य कलाकारहरुको खासै ठुलो भूमिका हुँदैन तर पनि रचेल केलर, क्यामरुन ब्रिटन, म्याक बेदालगायतका सहायक कलाकारहरुको पनि सानो-सानो भूमिका छ। युवा ओट्टोको भूमिकामा अभिनेता ह्याङ्क्सका कान्छो छोरा ट्र्युम्यान ह्याङ्क्सले पहिलो पटक अभिनयमा पाइला राखेका छन्। सिनेमाको विषय गम्भीर हुँदा पनि यसलाई सरलताका साथ प्रस्तुत गरिएको छ। धेरै पटक भावनात्मक दृशमा आँखा रसिलो हुन जान्छ, जो निर्देशकको सफलता हो।

अभिनयको विषयमा नायक ह्याङ्क्सको अभिनय अत्यन्तै उत्कृष्ट छ। यो सिनेमा ह्याङ्क्सको 'वान म्यान शो' भएको कारण अन्य कलाकारहरुको अभिनय सामान्य लाग्छ। डेबिड म्याग्गीको लेखनलाई निर्देशक मार्क फोस्टरले अत्यन्तै सरलतापूर्वक देखाउन सफल छन्। थोमस न्युम्यानको सङ्गीत, मेथिएस कोनिग्सविजरको सिनेमोटोग्राफी, म्याट चेजको सम्पादनको कारण पनि सिनेमा हेर्न लायक भएको छ।

यदि तपाईं नायक ह्याङ्क्सको प्रसंसक र अर्थपूर्ण सिनेमाको सौखिन हुन हुन्छ भने एकपटक अवश्य हेर्नुहोला। स्मरण रहोस् नायक ह्याङ्क्सद्वारा अभिनित सन् १९९४ मा रिलिज भएको सिनेमा 'फरेस्ट गम्प', जसमा उनले एक मन्द बुद्धिको युवकको अभिनय गरेक थिए, जुन सिनेमाको सन् २०२२ मा हिन्दी रिमेक (लाल सिंह चड्ढा) गरिएको थियो। यो सिनेमाको प्रमुख भूमिकामा आमिर खानले अभिनय गरेका थिए, तर ह्याङ्क्स र खानको तुलना गर्ने हो भने 'कताको राजाराम कताको गने भण्डारी' भनेको जस्तो छ।

प्रकाशित मिति: : 2023-02-26 12:35:00

प्रतिकृया दिनुहोस्