सडक मानवको सहारा बनिरहेको मानव सेवा आश्रम (भिडियोसहित)

जहाँबाट ८ हजार बढीले पाए सेवा

‘जसका कोही हुँदैनन्, जसको केही हुँदैन’ उनैको सेवामा सर्पित छ, ‘मानव सेवा आश्रम’। जहाँ १५ सय जनाभन्दा बढी मानिस आश्रित छन्। ७ वटै प्रदेशमा छरिएको उक्त आश्रममा असहाय, अशक्त, अनाथ, मानसिक तथा शारीरिक रुपमा कमजोर र सन्तानबाट अपहेलना भएका बाआमा छन्। उनीहरूकै सेवामा एक दशकदेखि निरन्तर खटिरहेको छ, मानव सेवा आश्रम।


काठमाडौंको रानीवनमा छ, ‘मानव सेवा आश्रम’। जहाँ छन् अशक्त, असहाय, अनाथ र मानसिक तथा शारीरिक रुपमा कमजोर भएका दुई सय जना मानिस। उनीहरूकै सेवाका लागि दिनरात नभनी खटिरहेकाे छ, मानव सेवा।

दुई सयभन्दा बढीलाई सहारा दिएको उक्त आश्रमको उद्देश्य नै मानवमुक्त सडक बनाउने रहेको आश्रम उपत्यका इञ्चार्ज सुमिरा लामा बताउँछिन्।

असहाय, अशक्त, अनाथ, मानसिक तथा शारीरिक रुपमा कमजोरहरुलाई सहाराकाे छाना दिने उद्देश्यले स्थापना भएको मानव सेवा आश्रम नेपालभरि नै सडक मानवमुक्त बनाउने संस्था रहेको उनका बुझाई छ।

‘यो संस्था नेपालकै पहिलो त्यस्तो संस्था हो, जसले सडक मानवमुक्त बनाउने लक्ष्य राखेको छ’, इञ्चार्ज लामाले भनिन्, ‘संस्थाले मानवकाे सेवा पनि गर्दै आइरहेकाे छ।’

कस्तो संस्था हो, मानव सेवा आश्रम?

मानिसकै रुपमा जन्मिएर पनि साधारण मानिस सरह बाँच्न नपाइरहेका, खुला आकाशमुनी सडकपेटी एंव सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गरिरहेका, स्वयम् आफ्नो लागि केही गर्न नसक्ने अवस्थामा रहेका, संरक्षण र पालनपोषण गरिदिने समेत कोही नभएका, सहयोगापेक्षी, सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थाका लागि औषधोपचार, पालपोषण र जीवन रक्षाका लागि बनेको संस्था नै हो, मानव सेवा आश्रम। जहाँ असहाय, अशक्त, अनाथ, मानसिक तथा शारीरिक रुपमा कमजोर र सन्तानबाट अपहेलना भएका बाआमाहरु आश्रित छन्। 

१० वर्षअघि सुरु भएको उक्त आश्रम १९ वटा जिल्लामा छन् भने २३ वटा स्थानमा सञ्चालन भइरहेका छन्। १५ सयभन्दा बढी आश्रित रहेको मानव सेवा शाखामा हालसम्म ७ हजार ४३६ जनाले सेवा पाइसकेका छन्।

त्यसैगरी आश्रमले २ हजार ८६७ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ भने ८२६ जनाको दाहसंस्कार गरिसकेको छ। त्यसमध्ये २ हजार २२० जना भने उपचारपश्चात स्वेच्छाले नै बाहिरिसकेका छन्।

कसरी सुरु भयो मानव सेवा आश्रम ? 

वि.स २०६९ सालमा मकवानपुरको हेटौंडामा स्थापना भएको संस्था हो, ‘मानव सेवा आश्रम’। जुन सडक मानवमुक्त गर्ने उद्देश्यले सुरुवात गरिएको हो।

‘मानव सेवा आश्रमको मुख्य उद्देश्य नै सडक मानवमुक्त बनाउनु हो’ लामा भन्छिन्, ‘नेपालमा सबै आश्रम छन्, तर सडक मानवको लागि कुनै आश्रम छैन। त्यसैले यो आश्रमको सुरुवात भएको हो।’

एक दशकअघि सडकमा बेवारिसे भएका मानवहरुलाई ‘खाना, नाना र छाना’ प्रदान गर्ने लक्ष्यका साथ रामजी अधिकारीले हेटौंडाबाट सुरु गरेको आश्रमले हजारौँ जनाको जीवनमा आमूल परिवर्तन ल्याउने इञ्चार्ज लामाले बताउँछिन्। 

पहिलोपटक ४५ जना सडक मानवलाई उठाएर सुरु गरेको आश्रम संघर्षले सञ्चालन भएको उनी सम्झन्छिन्।

‘आश्रमको स्थापना गर्दा सबैभन्दा ठूलो समस्या भनेकै उद्धार गरेर ल्याएका मानिसहरुलाई घरको व्यवस्था गराउनुथियो’, ८ वर्षअघिको कुरा सम्झँदै उनी भन्छिन्, ‘त्योबेला हामीले धेरै नै संघर्ष गरेका थियौँ।’

झण्डै ८ हजारभन्दा बढी बेसहाराहरुका लागि सहारा बनेको आश्रम ‘मुठ्ठी’ दानले सुरु भएको लामाले बताइन्। खुला आकाशमुनी जीवन बिताइरहेकाहरूलाई आश्रय दिएर टोलटोलमा खानेकुरा माग्न गएको उनलाई अझै याद छ।

चामलको बोरा बोक्दै घरघरमा ‘मुठ्ठी’ दान लिन गएकी आफूले कतै ‘मानो’ र कतै गाली पाएको उनलाई हिजाेझैँ लाग्छ। बोराको धाेक्रो थाप्दै डुल्दा छिमेकीले ‘कुकुर’ फुकाएर लखेटेको र गाली गरेर पठाएकाे सम्झँदा उनलाई दुख लाग्छ।

‘आश्रमको लागि धेरै गरियो दुख र संघर्ष, त्यसैले यो आश्रमको धेरै माया लाग्छ’, उनी भन्छिन्, ‘याे संस्थाप्रति मेराे लगाव धेरै छ, त्यसैले म याे संस्था छाेड्न सक्दिनँ। बाँचुन्जेल सक्दाे सेवा गरिरहनेछु।’

कसरी चलिरहेको छ मानव सेवा आश्रम?

मुठ्ठी दानबाट सुरु गरिएको मानव सेवा आश्रममा अहिले दाताहरुको सहयोग छ। एक दशकअघि स्थापना भएको संस्था विदेशी पैसाले नभई मनकारी नेपालीको मनले चलिरहेको उनको दाबी छ।

‘बाहिरी रुपमा हेर्दा मानिसले विदेशी पैसाले संस्था चलिरहेको छ भन्छन् तर त्यसो होइन। मनकारी नेपालीहरुले गर्नुभएको सहयोगले संस्था चलिरहेको छ’, उनले बिएल नेपाली सेवासंग भनिन्, ‘यो संस्थाले अहिलेसम्म विदेशी एक रुपैयाँ पनि खाएको छैन र खाने पनि छैन।’ 

दुई सय जनाको संख्या भएको रानीवनस्थित आश्रममा मासिक १३ लाखभन्दा बढी खर्च हुने उनी बताउँछिन्। बाआमालगायत बालबालिकालाई लक्षित गरेर संस्थाभित्रै राखिएको मेडिकलले गर्दा पनि आश्रममा बढी खर्च भएको उनको भनाइ छ।

‘हाम्रो आश्रममा मानसिक रोगीहरु पनि हुनुहुन्छ, त्यसैले उहाँहरुको खर्च र स्वास्थ्यलाई मध्यनजरमा गरेर हामीले मेडिकल राखेका हौँ’, उनले भनिन्, ‘उहाँहरुलाई आश्रममा सुरक्षित र निरोगी राख्नु हाम्रो कर्तव्य हो।’

त्यसैगरी संस्थामा खानेपानीको पनि समस्या भएको उनको गुनासो छ। मासिक तीन लाख खानेपानीमा खर्च हुने बताउँदै उनले भनिन्, ‘यदि खानेपानीको समस्या समाधान भए खर्च कम हुन्थ्यो होला।’

मानव सेवा आश्रमको के छ भावी योजनाहरु?

सडक मानवमुक्त बनाउने उद्देश्यले हुर्किएको आश्रमको भावी योजना भनेकै खुल्ला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुलाई विस्तरा बनाई कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका घरपरिवारविहीन सहयोगापेक्षी सडक आश्रित मानवरहित राष्ट्र नेपाल निर्माण गर्ने र मानवता अध्ययन केन्द्र सञ्चालन गर्ने हो।

प्रकाशित मिति: : 2023-03-03 21:15:00

प्रतिकृया दिनुहोस्