‘गल्ती नगर्ने राष्ट्रपति’ ले सडक जाम नगरेर पुग्दैन

सन्त गाहा मगर

काठमाडाैँ

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई! तनहुँको बाहुनपोखरामा जन्मिएका ७८ वर्षीय पौडेलको ६ दशक लामो राजनीतिक संघर्ष नै राष्ट्रपति बन्ने आधारभूमि हो भन्दा अन्यथा नहोला।

लामो समय नेपाली कांग्रेसमा आबद्ध पौडेलको काँधमा राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी आएको छ।

भनिरहनुनपर्ला, पार्टीगत, व्यक्तिगत वा अन्य स्वार्थभन्दा माथि नउठी ‘गल्ती नगर्ने राष्ट्रपति’ को संवैधानिक दायित्व पूरा हुनै सक्दैन।

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनको औपचारिक परिणाम सार्वजनिक नहुँदै पौडेललाई बधाई दिन भ्याए। राष्ट्रपति संस्थाको गरिमा र मर्यादा बचाउन तेस्रो राष्ट्रपतिले सबैभन्दा पहिला गर्नुपर्ने नै देउवा वा कांग्रेसका अन्य नेताको अनुचित दबाब अस्वीकार हो।

२०५१ सालमा सभामुख हुँदा जस्तो आलोचकलाई संवैधानिक पदमा बसेर ‘कांग्रेस मोह’ नत्यागेको आरोप लगाउने मौका कुनै हालतमा दिनु हुँदैन। कर्तव्यच्युत भइसकेपछि सल्लाहकार वा आसेपासेलाई दोष लगाउनु पश्चात्ताप बाहेक केही हुँदैन।

एक पटक मुलुकको कार्यकारी प्रमुख र पार्टी प्रमुख बन्ने अभिलाषा बोकेका पौडेल कांग्रेसभित्रको ‘कोइराला क्याम्प’ छाडेर ‘देउवा क्याम्प’ मा प्रवेश गरेको छोटो समयमै राष्ट्र प्रमुख बन्न सफल भए। यद्यपि विगतको सम्बन्ध केलाउँदा उनी देउवाको ‘एस म्यान’ बन्दैनन् भनेर शङ्काको सुविधा दिन सकिने आधारहरू छन्। लोकतान्त्रिक पृष्ठभूमिले पनि उनी संविधानले निर्धारण गरेको काम, कर्तव्य र अधिकार क्षेत्रभन्दा बाहिर जाँदैनन् भन्ने विश्वास गर्न सकिन्छ।

आफ्नै शब्दमा पौडेल गत वर्ष सम्पन्न १४औं महाधिवेशनदेखि नै कांग्रेस राजनीतिको ‘मझधार’ बाट बाहिरिइसकेका थिए। त्यति वेला पौडेलले ‘मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आएको थिएँ, त्यसमा विचलन आएको अनुभव गर्नुपरेको छ, पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले जुन आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडाबोध भइरहेछ’ भनेका थिए। त्यस्तो पीडाबोध उनको मनैबाट आएको हो भने पार्टी राजनीतिभन्दा माथि उठेर राष्ट्र प्रमुखको भूमिका पूरा गर्ने अवसर प्राप्त भएको छ।

प्रकाशित मिति: : 2023-03-10 06:49:00

प्रतिकृया दिनुहोस्