संकटालाई सडनडेथमा हराउँदै भारतीय लुका सकर विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगरस्थित शहिद रंगशालामा जारी सातौँ संस्करणको विराट गोल्डकपको पहिलो चरणको अन्तिम खेलमा भारतीय लुका सकर क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार साँझ भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि सडनडेथमा संकटा क्लबमाथि ८–७ गोलअन्तरको नतिजा निकाल्दै लुका सकर सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित समय र अतिरिक्त ३० मिनेटको खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुट आउटमा पनि ५–५ गोल भएको थियो। पेनाल्टीमा पनि बराबर भएपछि खेल सडनडेथमा धकेलियो।

पेनाल्टीमा संकटाका जुनियर, कुलदिप कार्की, सुरज जिंग ठकुरी, चन्दन दास र दिपक घिसिङ्गले गोल गरे भने लुका सकरका चाल्स, रफि, कप्तान अर्सद, क्यामदिन र जुनियर पलले गोल गरेका थिए।

सडनडेथमा लुकाका एन्ड्र एफिया, फहिजान र अबुलालाले गोल गर्दा संकटाका अनिष महर्जनको प्रहार गोलकिपर शानफिरले उत्कृष्ट बचाउदै गर्दै खेल जिताए। सडनडेथमा संकटाका नेल्सन र रोशन पहारीले गोल गरेका थिए।

खेलको म्यान अफ द म्याच घोषित भएका लुका सकरका गोलकिपर महोमद सनफिरले नगद ११ हजार प्राप्त गरेका छन्।

फाइनल प्रवेशमा लागि अब लुका सकरले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नुपर्नेछ। एपीएफ विराट गोल्डकपको साविक विजेता हो।

प्रतियोगिातको पहिलो सेमिफाइनल खेल भोलि घरेलु टोली विराटनगर सिटी एफसी र जावलाखेल युथ क्लबबीच हुनेछ।

प्रकाशित मिति: : 2023-03-27 04:16:00

प्रतिकृया दिनुहोस्