
भारतकाे राजधानी नयाँ दिल्लीको कोठीमा बेचिएका ९ नेपाली युवतीलाई प्रहरीले उद्दार गरेको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बेचबिखनमा परेका ९ जना युवतीलाई दिल्लीस्थित कोठीबाट उद्धार गरी नेपाल ल्याएको हो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक एसपी कृष्णप्रसाद पंगेनीकाअनुसार काठमाडौंका विभिन्न डान्स बार तथा दोहोरी साँझमा काम गर्ने युवतीरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर दिल्ली पुर्याइएकाे थियो। दिल्ली पुर्याएपछि भने ती युवतीहरुलाई बन्धक बनाएर जबरजस्ती वेश्यावृत्तिमा लगाइएको थियो।
बेचबिखनमा परेका युवतीहरूलाई भारतीय प्रहरी, भारतस्थित नेपाली राजदूतावास, भारतीय सामाजिक संस्था केआईएन इण्डिया, नेपालस्थित शक्ति समूहको सहयोगमा चैत ७ गते उद्धार गरेर नेपाल ल्याएको हो। अहिले उनीहरुलाई काठमाडाैँको एक सामाजिक संस्थाको संरक्षणमा राखिएको छ।
ब्युरोले दिल्लीको कोठीमा पुर्याउने गिरोहका दुई युवतीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरको भीमफेदी गाउँपालिका ९ की २० वर्षीया सम्झना तामाङ भनिने सेन्जी तामाङ, धादिङको धुनीबेँसी नगरपालिका २ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुष्मा मग्राती रहेका छन्।
प्रहरीका अनुसार उनीहरुले काठमाडौंको माछापोखरी, बसपार्कलगायतका ठाँउहरूमा डान्स बार तथा दोहोरी साँझमा काम गर्ने युवतीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी प्रलोभनमा पारी दिल्ली पुर्याएका थिए।
गिरोहले २०७९ सालको असोज महिनादेखि फागुनसम्म नौ जना युवतीहरूलाई काठमाडौंदेखि दिल्ली पुर्याएकाे प्रहरी अनुसन्धानबाट खुलेको छ।
पीडितमध्ये केही युवतीहरूलाई प्राइभेट गाडीमा राखी प्याकिङ खाना तथा जुसमा औषधि मिसाई बेहोस बनाएर नेपाल भारत सीमा पार गराएको पाइएको छ।
पीडित युवतीहरूलाई दिल्ली पुगेको केही दिनमा नयाँ मोबाइल तथा भारतीय नम्बरको सिम उपलब्ध गराई फेसबुक आइडीसमेत खोलिदिई सोको पासवर्डसमेत आफैंले राखी अनलाइन निगरानी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
पीडित युवतीहरूलाई दिल्ली किशनगढस्थित पंजावीढावा भन्ने स्थानमा भाडामा लिएको फ्ल्याटमा सीसी क्यामेराको निगरानीमा राखिएको, सम्पर्कमा आएका व्यक्तिहरूलाई ह्वाटसएपमार्फत पीडित युवतीहरूको फोटो पठाई उनीहरूले छानेका युवतीहरूलाई होटल र घरमा ट्याक्सी बुक गरी पुर्याइदिने गरेको पाइएको छ।
आफ्ना चिनजानका विश्वासिला ट्याक्सी ड्राइभरमार्फत सम्बन्धित ग्राहकले भनेको स्थानमा पठाउने र ग्राहकसँगको कारोबार अनलाइनमार्फत कोठी सञ्चालकलाई नै तिर्ने गरेको खुलेको छ।
उद्धार गरिएकी एक युवतीले हरेक महिना कम्तीमा १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने दबाब दिने गरेको पीडित युवतीले बताएका छन्।
१ .
२ .
३ .
४ .
५ .