कार्यालय खोलेको भन्दै पहिचानवादीद्वारा उर्लाबारीका वडाध्यक्षमाथि कुटपिट (भिडियाे)

तेजन खड्का

उर्लाबारी

कोशी प्रदेशको विरोधमा आन्दोलनरत पहिचानवादीले उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षलाई कुटपिट गरेका छन्।

कोशी प्रदेशको विरोधमा आन्दोलनरत कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले तालाबन्दी गर्ने क्रममा उर्लाबारी-६ का वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट भएको हो।

कुटपिटबाट वडाध्यक्ष घाइते भएका छन्। पहिचानवादीले कार्यालय किन खोलेको भन्दै हातपात गरेको वडाध्यक्ष पौड्यालले बताए।

वडाध्यक्ष पौड्यालले आफूलाई कुटपिट गर्नेविरुद्ध कारबाहीको माग गर्दै उर्लाबारी प्रहरीमा उजुरी दिएका छन्। प्रहरीमा पथरीशनिश्चरेका मनाेज लिम्बूसहितले कुटपिट गरेकाे उजुरी परेकाे छ।

आन्दोलनकारीहरुले पदम लिम्बू लाजेहाडलाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय तहमा तालाबन्दी गरेका छन्।

यस्तै संघर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरिका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यसअघि नै गरेको थियो। संघर्ष समितिले प्रदेशका गाउँपालिकामा १७ गतेसम्म कामकाज ठप्प गराउने बताएका छन्।

यस्तै, कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्। आन्दोलनकारीहरुले नगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी गरेको नगरप्रमुख गंगा खरेलले जानकारी दिए।

प्रकाशित मिति: : 2023-03-28 13:45:00

प्रतिकृया दिनुहोस्