नक्कली शरणार्थी प्रकरणमा शेखर कोइराला र सुजाता कोइरालाको पनि संलग्नता (अडियोसहित)

जीवन डाँगी

काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सांसद डा. शेखर कोइराला र पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासमेत संलग्न रहेको खुलासा भएको छ।

बिएल नेपाली सेवालाई प्राप्त अडियोकाअनुसार प्रहरी हिरासतमा रहेका अभियुक्त सन्देश शर्माले कांग्रेस नेता डा. शेखर, नेत्री सुजाता र सचिव टेकनारायण पाण्डेसँग नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रक्रिया मिलाउने सन्दर्भमा कुराकानी भइरहेको जनाएका छन्।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ रकम असुलेका शर्माले पीडितसँग गरेको टेलिफोनवार्तामा भनेका छन्, ‘मेरो भर्खरै छलफल भएको छ। मौन अवधि छ। नेताहरू कोही बिजी छैनन्। शेखर कोइराला, सुजाता कोइराला, केशव दुलाल, म, सानु भण्डारी, मोरङको एसपीसँग दिउँसो छलफल भएको थियो।’

अनुसन्धनको क्रममा हालसम्म दर्जन बढी अभियुक्तहरू पक्राउ परेकाे प्रहरीले जनाएकाे छ। प्राप्त अडियोकाअनुसार पीडितलाई फकाउने क्रममा अभियुक्त सन्देश शर्माले उल्टै नेतादेखि गृहसचिवसम्मलाई ५६ देखि ८५ करोडको डिल गरेको दुःखेसो सुनाएका छन्।

शर्माले टेलिफोनका क्रममा पटकपटक प्रहरी हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको नामसमेत लिएका छन्। ‘निर्णय हुने बितिकै शिविरबाट पैसा उठ्छ। सबैले उठाएर दिने हो, गर्ने हो, मिलाउनुपर्छ, टेन्सन नगर, १५ दिन जति चुप्प लागेर बस, भनेर सचिव टेकनारायण पाण्डेले भन्नुभएको छ,’ उनले भनेका छन्।

अमेरिकी सपना देखेर १५ देखि २० लाख दिएको १९ हुँदासम्म काम नभएको भन्दै पीडितहरूले शर्मालाई गुनासो गर्छन्। लगतै, उनले सचिव टेकनारायण पाण्डेसँग समय मिलाएर भेट गर्ने–गराउने आश्वासन दिन्छन्।

अडियाेमा सन्देश शर्मा, सानु भण्डारी, केशव दुलाल बसेर अमेरिका कसरी लैजाने वा पिडितहरूकाे पैसा फिर्ता गर्नेबारे चिन्तन गरिरहेकाे सुनाउँछन्।

यतिबेला नक्कली भुटानी शरणार्थीं प्रकरणमा लहरो तान्दा पहरो निस्किएको छ। तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव प्रेमकुमार राई, टेकनारायण पाण्डे संलग्न भएको बरामद प्रमाण र हिरासतमा रहेका अभियुक्तहरूले बयान दिएका छन्।

पूर्वमन्त्री टाेपबहादुर रायमाझी, दाङबाट रकम उठाइरहेका गजेन्द्र बुढाथोकी र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छाेरा प्रतिक थापा हालसम्म फरार छन्।

पूर्वबाट रकम उठाउने सागर थुलुङ राई, टंक गुरुङ, सानु भण्डारी, गिरोहका नाइके केशव दुलाल, टाेपबहादुर रायमाझीका छाेरा सन्दीप रायमाझी, सचिव पाण्डे प्रहरी हिरासतमा छन्। पूर्वगृहमन्त्री खाँण र तत्कालीन गृहसचिव राईलाई थप प्रमाणका आधारमा अनुसन्धानमा तानिँदैछ।


सिंहदरबारमा भ्रष्ट, ठग र दलालहरूको रजगज

सत्ता र शक्तिको आडमा सिंहदरबारभित्र के–कस्ता कुकर्म भइरहेका छन्? यसको एउटै प्रमाण हो– नक्कली भुटानी शरणार्थी प्रकरण। कहिलेकाहीँ सुन्छौँ– दलालहरूले देश बिगारे, राज्यसत्ता भ्रष्ट भयो। जताततै ठगहरूको बिगबिगी छ। नहोस् पनि कसरी– पूर्वगृहमन्त्री, पूर्वमन्त्री र बहालवाला सचिव नै बिचौलिया प्रयोग गरेर ‘भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने’ भन्दै सयौँ नेपालीबाट प्रतिव्यक्ति लाखौँ कुम्ल्याउँछन्।

देशका प्रधानमन्त्री, मन्त्री, मन्त्रीका भाइछोरा–सालासाली, सचिवालयका बिचौलिया र मन्त्रालयका सचिवहरूले सिंहदरबारभित्र बेग्लै ‘लुट साम्राज्य’ चलाइरहेका छन्। उनीहरू आफूलाई कानुनभन्दा माथिको बलवान व्यक्ति ठान्छन्। लोकतन्त्रको नाममा राज्यसत्ताको चाबी बोकेर दलाल र ठगसँग साँठगाँठ गरिआएका सांसद–मन्त्रीहरू भ्रष्टलाइनको शीर्ष पंक्तिमै पूरा स्टाेरी... छन् ।

प्रकाशित मिति: : 2023-05-07 19:25:00

प्रतिकृया दिनुहोस्