किन लगाइएन बालकृष्ण खाँणलाई हत्कडी ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधवार पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे। काँग्रेसका प्रभावशाली नेतासमेत रहेका खाँण बुधबार बिहान काठमाडौंस्थित आफ्नै मैजुवहालबाट पक्राउ परेका हुन। त्यहाँबाट पक्राउ गरी प्रहरीले काठमाडौं प्रहरी परिसर टेकुमा राख्यो र बिहानभरि सोधपुछ गर्‍यो।

त्यसपछि प्रहरीले उनलाई थप अनुसन्धानका लागि सरकारी वकिल कार्यालय बबरमहल लग्यो। दिउँसो साढे तीन बजे मात्र पूर्व गृहमन्त्री खाँण प्रहरीसहित काठमाडौँ जिल्ला अदालत आइपुगे। प्रहरीको निलो रंगको टाटा कम्पनीको गाडीको अगाडि चालकको छेउमा बसेका कांगेस नेता खाँणले निन्याउरो अनुहार लगाएका थिए। पाइन्ट सर्ट, सेतो कोट, मुखमा मास्क र निलो क्याप लगाएका खाँण त्यहाँ आइपुग्ने बित्तिकै प्रहरीले उनलाई हतारहतार झारेर अदालतमा छिरायो।

खाँण नेपालीललाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका हालसम्मका उच्च तहका नेता हुन। उनीसँग हालसम्म १२ जना आरोपित प्रहरी फन्दामा परिसकेका छन्। खाँणबाहेक सबै आरोपित जिल्ला सरकारी वकिलको कार्यालय र अदालतमा उपस्थित हुँदा हत्कडी लगाएरै उपस्थित गराइँदै आएको छ।

सत्तारुढ नेपाली कांग्रेसका प्रभावशाली नेताको हातमा भने हत्कडी लगाइएको थिएन। आखिर एउटै अपराधमा मुछिएका अभियुक्तलाई पनि किन फरक–फरक व्यवहार गरिँदै आएको छ त ? काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले अवस्था हेरेर मात्र हत्कडी लगाइने गरेको बताए।

उनका अनुसार खाँण वरिष्ट भन्दा पनि कार्यविधिको खास खास अवस्था भित्र रहेकाले उनलाई हत्कडी नलगाएको हो। ‘हटकडी लगाउने केही कार्य विधिहरु छन, त्यो कार्यविधि अन्तरगत कसैलाई लगाउनुपर्ने, कसैलाई नलगाउन पर्ने हुन्छ,’ उनले भने, ‘बालकृष्ण खाँण वरिष्ट भएर होइन यस्तो कुरामा वरिष्ठ कनिष्ठ भनेर होइन कार्य विधिमा सुत्केरी, बालबालिका, बिरामी र खास–खास अवस्था रहेका र भाग्दैन भन्ने अवस्था रहेका व्यक्त्तिलाई कार्यविधि हेरेर लगाउने गरिन्छ।’

खाँणलाई मात्र होइन कार्यविधिभित्र रहेकाहरुलाई हत्कडी नलगाउने गरेको एसएसपी कार्कीले बताए। किन नलगाएको भन्नेहरुले अहिले कार्यविधिअनुसार परेकाले नलगाईएको बुझे हुने बताए।

तर, खाँणलाई हत्कडी नलाएको बारेमा विरोध भइरहेको छ। उही प्रकृतिको मुद्धामा कसैलाई हत्कडी लगाउने र कसैलाई हत्कडी नलाउने गरिएको भन्दै विरोधको अवाज उठिरहेको छ। नवराज सपुत नामक फेसबुक चलाउने व्यक्तिले विभेद भएको भन्दै लेखेका छन्।

उनले सन्दीप लामिछानेलाई हत्कडी लगाउने र बालकृष्ण खाँणलाई सम्मान आखिर नेपाल प्रहरी र नेपाल सरकारको कानुन सबैलाई बराबरी हुनु पर्ने होनी भन्दै प्रश्न गरेका छन्। अर्का सुवास बस्नेतले पनि खाँणलाई हत्कडी नलगएकोमा विरोध जनाएका छन्।

यसैबीच प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ।

उक्त घटनाका अर्का आरोपित नेकपा नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन्। नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहमा उच्च पदस्थ व्यक्तिको संलग्नता देखिएपछि राजनीतिमा तरंग छाएको छ।

पक्राउ परेकालाई कहाँ राखिएको छ ?

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न १२ जनालाई  प्रहरीले पक्राउ गरिसकेको छ। जसमध्ये सबै जनालाई एकै ठाउँ राखिको छैन।

विशिष्ठता र अनुसन्धानलाई सहयोग पुग्ने गरी सबैलाई फरक–फरक ठाउँ राखिएको छ। जसमध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँण काठमाडौं जिल्ला परिसर टेकुको हिरासतमा छन्।

यस्तै खाँणका निजी सचिव नरेन्द्र केसी प्रहरी वृत्त लैनचौर, सचिव टेक नारायण पाण्डे प्रहरी वृत्त सिंहदरबार, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी टेकु परिसर, तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई टेकु प्रहरी परिसरको हिरासतमा छन्।

त्यस्तै दाङका सन्देश शर्मा दरबारमार्ग प्रहरी वृत्त, मोरङका केशव दुलाल कालिमाटी प्रहरी वृत्त, मोरङका सागर राई टेकु परिसर, ललितपुरका सानु भण्डारी जनसेवा प्रहरी वृत्त, पाँचथरका कुमार गुरुङ जनसेवा प्रहरी वृत्त, टोखाका रामशरण केसी टेकु प्रहरी परिसरको हिरासत र सुनसरीका गोविन्द चौधरी टेकु प्रहरी परिसरको हिरासतमा राखिएको छ।

प्रकाशित मिति: : 2023-05-11 22:00:00

प्रतिकृया दिनुहोस्