भुटानी नेता टेकनाथ रिजालको दादागिरी

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले सर्वसाधारणलाई धम्काएर दादागिरी देखाएका छन्। त्यो पनि कानुनको पालना गराउने अदालत परिसरमा रिजालको दादागिरी खुलेयाम देखिएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा शरणार्थी प्रकरणमा बयानका लागि उपस्थित गराइएका रिजाललाई अदालत बाहिर रहेका सर्वसाधारणले आफूहरूबीच देश बेचुवा भन्दै गफ गरेका थिए। उक्त गफ सुनेका रिजालले को देश बेचुवा? चिन्नु पर्दैन? भन्दै सर्वसाधारणलाई धम्काएर खुलेयाम दादागिरी देखाए।

उनको यो दादागिरी लोकतान्त्रिक मुलुक नेपालमा सुहाउँदैन। याे दादागिरी राजतन्त्र भएको उनकै देश भुटानमा सुहाउँछ होला। नेपाल लोकतान्त्रिक मुलुक हो र आफ्नो कुरा नेपालीले निर्धक्कका साथ राख्न पाउँछन्। रिजाल देशद्रोही कार्यमा संलग्न भएर नै प्रहरीले पक्राउ गरेकोमा कुनै दुई मत छैन। यद्यपि, उनको संलग्नता कति? त्यो अदालतले टुंगोमा पुर्याउने छ।

तर बाटोमा बसेर आफ्नै सुरमा गफ गरेका नागरिकलाई एक अभियुक्तले खुलेयाम धम्काउने होइन। उनले नागरिकलाई धम्काएर ‘मलाई तिमीहरूले चिन्नुपर्छ। किन नचिनेको? म यो देश बेचुवा होइन। मेरा गल्ती छैन’ भन्दै सडकबाटोमा प्रमाणित गर्ने होइन। त्यो उनले अदालतमा प्रमाणित गरून्। बाटोमा नागरिकलाई धम्काउनु उनको खुलेयाम दादागिरी हो।

सर्वसाधारणले देशद्रोही, अपराधमा संलग्नलाई देश बेचुवा भन्न नपाउने उनी को हुन् र? जे अहिले बाहिर आइरहेको छ, नागरिकले त्यही भन्छन्। उनीहरूले भन्न पाउनु नागरिकको अधिकार हो। नेपालमा नागरिकको अभिव्यक्तिलाई मौलिक हकमा व्यवस्था गरिएको छ। यो हकको विषयमा भुटानी शरणार्थी नेता रिजाललाई हेक्का होस्। थाहा नभएको भए ‘नेपालको संविधान २०७२’ को अध्ययन गरून्।

‘जो चोर उसकै ठूलो स्वर’ गरेर रिजालले नागरिकमाथि हमला गर्नु दुःखद हो। उनले भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको स्विकारेका छन्। प्रहरीले तयार पारेको प्रतिवेदनमा पैसा खाएको विषय उनले अस्वीकार गरेको भएपनि नेपालीलाई नक्कली भुटानी शरणार्थीको परिचय पत्र बनाउनमा सहीछाप गरेको स्विकारेका छन्।

उनले बयानमा भनेका छन्, ‘टोपबहादुर रायमाझीको यस कार्यको सुरूवातमा योजनाकारको रूपमा रहेका र अशोक पोखरेल, सानु भण्डारी र केशव दुलाललाई सल्लाह दिने, गृह मन्त्रालयमा समन्वय गर्ने तथा रकम लिने कार्यमा संलग्न छ। सानु भण्डारी र केशवप्रसाद दुलालले सहीछाप गर्न भनेपछि मैले पनि केही नक्कली परिचय पत्रमा सहीछाप गरेको छु।’

रिजालको देशद्रोही कार्यमा संलग्नता रहेको कुरा उनकै बयानले देखाइसकेको छ। आज एक नेपाली नागरिकले देश बेचुवा भन्दा मन दुख्ने रिजाललाई उतिबेला सदबुद्धि किन पलाएन होला? नक्कली परिचय पत्रमा सहीछाप गरेर आफैँ गल्ती गर्ने रिजालले आज उनलाई औँला उठाउँदा नागरिकलाई धम्काउने हिम्मत आउनु नेपालीका लागि सह्य हुँदैन।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालको उच्च ओहाेदामा बसेर पदको दुरूपयोग गरी देशद्रोही कार्य गर्ने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत भुटानी शरणार्थी नेता रिजालको संलग्नतालाई अदालतले राम्रै मूल्यांकन गर्नेछ।

यति मात्रै होइन, देशद्रोही कार्यमा संलग्न भएका अन्यहरूको पनि शान कम छैन। गल्ती गरेर हीनताबाेध हुनुपर्नेमा टोपबहादुरको हात उठाइ–उठाइ देखाएको शानदेखि औँला ठडाएर पोज दिने सागर राईहरूको शानले पनि देशद्रोही अभियुक्तको शान ठूलै देखिन्छ।

प्रकाशित मिति: : 2023-05-26 21:30:00

प्रतिकृया दिनुहोस्