पहिला गँजडी भनेर हेप्नेहरूले अहिले चिफ गेष्ट बनाएर सम्मान गर्नुहुन्छ: रिगेन्द्र गिरी (अन्तर्वार्ता)

कमल प्रभात

काठमाडौं

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत नेपालमा औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। सरकारको यो निर्णयलाई विभिन्न संघ, संस्था तथा सामाजिक अभियान्ताहरुले भव्य स्वागत गरेका छन्।

नेपालमा वि.सं. २०३३ अगाडि गाँजाको उत्पादन तथा बिक्री वितरण बन्देज थिएन। तर, त्यसयता भने कानुन नै बनाएर उत्पादन गर्न, प्रयोग गर्न र बिक्री वितरण गर्न रोक लगाइएको छ। पछिल्ला दशकहरुमा विश्वका अन्य देशहरुले गाँजालाई आम्दानीको प्रमुख स्रोत बनाउन थालेपछि नेपालमा पनि गाँजालाई वैधानिक बनाउनुपर्ने आवाज उठिरहेको थियो।

करिब डेढ दशकअघिदेखि नै नेपालमा गाँजालाई वैधानिक बनाउनुपर्छ भनेर आन्दोलन सुरु भएको थियो। जसको नेतृत्व ‘गाँजा तथा लोकल रक्सी’अभियान्ता रिगेन्द्र गिरीलगायत युवाको टोलीले गरेको थियो। उक्त टोलीको लामो आन्दोलन, सांसदहरुकाे दबाब र सर्वोच्च अदालतसम्म रिट परेपछि भने सरकारले आगामी आर्थिक वर्षमा बजेटमा गाँजालाई प्राथमिकता दिएको छ।

ढिलै भए पनि सरकारको बजेटमा समावेश भएको गाँजाले नेपालमा वैधानिकता पाउला त ?, यदि नेपालमा गाँजा खेती उत्पादन र बिक्री वितरण वैधानिक भयो भने के र कसलाई फाइदा हुन्छ ? लगायत विषयमा केन्द्रित रहेर बिएल नेपाली सेवाले उनै गाँजा तथा लोकल रक्सी अभियान्ता रिगेन्द्र गिरीसँग कुराकानी गरेको छ।

प्रस्तुत छ, बिएल संवाददाता कमल विकले गिरीसँग गरेको कुराकानीको सम्पादित अंश:


सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् नेपालमा औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ, यो थाहा पाएपछि तपाईं के गर्नुभयो ?

म बजेट आउनुभन्दा पहिला भागेर दाङ गएको थिएँ। किनभने, त्यो बजेटमा अध्ययन, अनुसन्धानको लागि मात्रै छिराउनको लागि पनि हामीले यति धेरै पाप्पड पेलेका छौँ, लगभग १३ वर्षदेखि सडक हुँदै सदनसम्म आइपुग्यो। सर्वाेच्च अदालतसम्म पुगेको मुद्दा अब पनि बजेटमा लेखिदिएनन भने चाहिँ हामी अर्काे वर्षसम्म कुर्नुपर्ने अवस्था थियो। त्याे भएर अलि डर र प्रेसरमा थिएँ। त्यही भएर भागेर गएकाे थिएँ। काठमाडौँभन्दा टाढा गएर बजेट सुन्दिनँ भन्ने साेचेकाे थिएँ। पछि सबैले फेसबुकमा राखेपछि हेरेँ।

जब सांसदहरु गाँजाकाे सम्भाव्यता अध्ययन गर्ने घाेषणाले खुसी भएकाे देखेँ, अनि खुसी लाग्याे। सायद धेरैपछि संसदमा यसरी हाँसो उठेको होला। उहाँहरु बुझेर हाँस्नु भएको हो, अब अर्थ तन्त्रको लागि हामीसँग अरु उपाय छैन नि त।

अनि तपाईं चाहिँ खुसी हुनुभयो कि भएन ?

म जस्तो खुसी त अरु को भएकाे होला र ?

आन्दोलनले सार्थकता पाएको जस्तो अनुभूति भएकाे छ हाे ?

अब हाम्राे आन्दोलन अन्त्यमा गयो। अब हामी नरहे पनि यो आन्दोलन निरन्तर हुन्छ।

अब त सडकमा गएर चिच्याउन नपर्ने भयो हाेइन ?

अब त सडकमा उभिनु पर्दैन तर अलि स्मार्ट हुनुपर्ने बेला आयो। किनभने, विदेशीहरुले धेरै चलखेल गरिरहेका छन्। नेपालकाे गाँजालाई उनीहरुले हत्याउनको लागि धेरै ठुलो चलखेल गरिरहेका छन्। अझै कति जना अभियान्ताहरु नै परिचालित हुनुहुन्छ। एउटा विदेशी कम्पनी आएको छ, जुन कम्पनीले चाहिँ तीन्टा फरक-फरक विद्याका मान्छेहरुलाई घुमाइरहेको छ। उनीहरुको योजना विदेशी बिउ ल्याएर यहाँ रोप्नु हो। त्यो भयो भने त यहाँको बिउ मासिन्छ।

हाम्रो गाँजाको बिउ त्यति धेरै राम्रो छ ?

हो, हाम्रो यो गाँजाको बिउ निकै पुरानो हो। यो हाम्रा रैथाने बिउ पनि हो। यो रैथाने बिउको उत्पादन जहिले पनि राम्रो हुन्छ। औषधिय प्रयोगको लागि पनि एकदमै उत्कृष्ट छ। यसको कपडा पनि एकदमै बलियो हुन्छ। यहाँको बिउ बहुउपयोगी छ। अनि त्यो बिउ मास्नलाई केही विदेशी चलखेल भइरहेको छ। त्यो रोक्नलाई हामीले केही कार्यहरु गर्नुपर्ने छ।

गाँजाले बजेटमा प्रवेश मात्रै पाएको हो, अब के यो वैधानिक भएर उत्पादनको बाटोमा जाला त ?

अघिल्लो वर्षको भन्दा यो वर्षको बजेट घटेर आएको छ। १९ खर्बको बजेट घटेर १७ खर्ब भएको छ। यो देशमा ५ खर्ब बराबरको गाँजा अवैधानिक रुपमा कारोबार हुन्छ। भनेको, हाम्रो १७ खर्बको बजेटमा ५ खर्च जोड्न पाएको भए २३ खर्ब हुने थियो नि त।

नेपालमा यति ठुलाे परिणामकाे गाँजाको तस्करी कसले गर्छ ?

हाम्रो देशको प्रधानमन्त्री प्रचण्ड पनि तस्कर मध्येको एउटा हो। राजसंस्थालाई पनि यसको तस्करको रुपमा हेरिन्छ। लगायत, अलि पावरफुल एजेण्ड छन्।

यसको खोज, अध्ययन र अनुसन्धान नगरी बोल्न मिल्ने कुरा भएन तर प्रचण्ड र गाँजाको ठुलो सम्बन्ध छ। उहाँले पश्चिमबाट जनान्दोलन सुरु गर्नु, ०५० सालमा राप्ती परियोजना नेपाल छाडेर जानु, ०५२ सालबाट माओवादीको उदय हुनु, माओवादीले हामीलाई चाइना र अमेरिकाले सहयोग गरेको छ भन्नु तर माओवादी सत्तामा आइसकेपछि कोहीले पनि सहयोग नगर्नु भनेपछि उहाँहरुले ५ वटा बैंक लुटेर मात्रै त जनान्दोलन सफल पार्नु भएको त होइन्। त्यतिबेला चाहिँ माओवादीको काम के थियो भने पश्चिम नेपाली भेगमा पाइने चरेश कलेक्सन गर्ने र त्यसलाई भारतमा तस्कर गर्ने त्यसबाट आएको पैसाले हतियार खरिद गर्ने र माओवादी जनान्दोलन गर्ने, त्यो कार्यसम्म भएको मैले पश्चिम भ्रमणमा गएको बेला थाहा पाएँ। नेपालको जनान्दोलन सफल हुनुमा चरेशको पनि हात छ।

भनेपछि नेपाली गाँजाको रस नेताहरुले नै खाएका छन् ?

अब अहिले पनि अवैध रुपमा ५ खर्बको कारोबार हुन्छ। लगभग १ खर्बभन्दा पनि कम लगानी हो, ४ खर्ब नाफा हो। अब हामी अभियान्ताको सोच भनेको चाहिँ ५ खर्बको कारोबार हुँदा साढे २ खर्बको राजस्व आउनुपर्न भन्ने हो तर उहाँहरु राजस्वमा किन जना चाहनु हुँदैन भने ४ खर्ब उहाँहरु त्यतिकै कमाइरहनुभएको छ। डेढ खर्ब किन घाटामा जाने ? किन राजस्व तिर्ने ? अब ५ खर्बको कारोबार मैले त्यतिकै हुन्छ भने छैन मिडियामा नै आएको छ।

त्यसो भए नेताहरुले गाँजा किन बजेटमा समावेश गरेका होलान्, आवाज थेग्न नसकेर हो ?

त्यही हो। किनभने, हामी सडक, अदालत र सदनसम्म गयौँ। हामीले अभियान सुरु गर्‍यो। कृषिकहरु नै यसको आन्दोलनमा आइसक्नुभयो। अब भोट पनि नपाइने हो कि भन्ने उहाँहरुले महसुस गर्नुभएको होला। तर, अझै पनि म के कुरामा विश्वस्त छैन भने बजेटको नीतिमा आए पनि अझै चलखेल हुन्छ। यसबाट सबैले बराबर फाइदा लिनुपर्छ भन्ने हाम्राे मान्यता हाे तर उहाँहरु चलखेल गर्न खाेजीहरनु भएकाे छ। उहाँहरु सिमित परिवारलाई लाइसेन्स दिन चाहनुहुन्छ। यो फेरि माफियाको हातमा जाने सम्भावना छ।

सबैलाई फाइदा हुने गरी के गर्नुपर्ला ?

लाइसेन्स सबैलाई दिनुपर्‍यो अनि आफूसँग भएको जमिनको १० प्रतिशत क्षेत्रमा गाँजा लगाउन पाउनुपर्‍यो।

तपाईंहरुले गाँजा वैधानिकताको अभियान कसरी चलाउनुभएको थियो ?

अहिले त लगभग आधा नेपाली नै गाँजा अभियान्ता हुनु भएको छ। यो खुसीको कुरा हामीले यति धेरै सोचेका नै थिएनौँ। त्यसैले तनाव लिनु परेको छैन तर पहिला चाहिँ हामी ४/५ जना मात्रै थियौँ , अरुले हामीलाई विभिन्न लान्छाना लगाउँथे तर अब बल्ल हामी छाती खोलेर घर जान सक्ने भएका छौँ।

म त १० वर्षदेखि कसैले नदेखोस् भनेर लुकेर हिँडेकाे हाे। मलाई कसैले विवाहमा बोलाउँदैन थिए। आजभन्दा २/३ वर्षअघिसम्म मलाई मानिसहरुले विवाहमा बोलाउँदैन्थे। ‘यो त गाँजाको कुरा गर्ने मान्छे’ भन्थे। मलाई कुनै पनि पार्टी समारोहमा बोलाइन्थेन तर अहिले त मलाई चिफ गेष्ट नै बनाएर बोलाउनुहुन्छ।

म त एउटा उदाहरणको पात्र मात्रै हो नि त भनेको अहिले त यति धेरै परिवर्तन आइसकेको छ। अब त सबैले बुझ्नु भयो। अमेरिका, युरोपका देशहरुले गाँजा बेच्न हुने हामी गरीब देशले बेच्न नहुने ? भन्ने कुरा पनि आइसकेको छ। तर, हामीले तिरस्कार भोगेको अनुभव छ, कति समय त रोएर बसियो।

यो दिन देख्न कति वर्ष रुनु पर्‍यो ?

म यो फिल्डमा भएको लगभग १३ वर्ष भयो। झन् म त गाँजा खान पाउनुपर्छ भने आन्दोलन सुरु गरेको मान्छे हुँ। यहाँ त उद्योग र औषधिको कुरा छ। तर, मैले चाहिँ गाँजा स्वतन्त्र रुपमा खानुपर्छ भनेर आन्दोलन गरेको हो। म युरोप भ्रमणमा जााँदा त्यहाँ त मज्जाले गाँजा खाइरहेको देखेँ। अझ नेपालाी गाँजा भनेर बेचिरहेको देखेँ। सबैभन्दा महंगो गाँजा नेपाली नै रहिछ भनेपछि त्यो ब्रण्डेट गाँजा हाम्रो देशको हो भने हामीले त्यही गाँजा खानु हुँदैन ?

यो अभियानभन्दा पनि अब चाहिँ हामी गाँजाको अनुभवको दस्तावेजीकरण गर्न चाहन्छौँ। अब नेपालभरिमा गाँजासम्बन्धी ज्ञान भएका किसानहरु खोजेर अध्ययन अनुसन्धान गरे हिँड्ने भयौँ।

राज्यले गाँजा बेचेर कसरी आर्थिक उपार्जन गर्न सक्छ ?

गाँजाको तेल मात्रै ३ हजार रुपैयाँ लिटर छ। त्यो भनेको अहिले भर्जिन अयलको मूल्य भयो। त्यसैले पनि अचारको कुरा छ। त्यसबाट भन्ने कागज र कपडाको कुरा छ। त्यसपछि फूलबाट चरेश बन्ने कुरा छ। अहिले भारतमा १ केजी चरेश बेचियो भने पनि २ लाख बढी पर्छ। यहाँको भाङको तेल मात्रै इन्डियामा ५ हजार प्रतिलिटरमा बिक्री हुन्छ। गाँजाको भित्र भएका गेडाको भर्जिन तेल मात्रै ३० हजार रुपैयाँमा बिक्री हुन्छ। यस्ता कुराहरु त कति छन कति। अब क्यानडाले गाँजाबाट पानी जहाजको वडी बनाइसक्यो। भनेपछि धेरै अर्थतन्त्र यसमै जोडिन्छ। अनि हाम्रो संस्कृतिसम्म जोडिन्छ। जसले मानव जीवनलाई पनि पीडारहित जीवनयापन गर्न पनि सहयोग गर्छ।

...भनेपछि गाँजाले युवाको अनुहार बिगार्ने मात्रै होइन देशको मुहार नै उज्यालो भनाइदिने रहिछ नि ?

अँ, हेर्नु त संसदको हाँसो। मलाई सबैभन्दा खुसी लागेको कुरा संसदको हाँसो हो के। त्यो हाँसो कसैले जोक गरेर हाँसेको होइन के। अब चाहिँ राम्रो भयो है भन्नेवाला हाँसो हो नि त।

अनि गाँजाले मानिसलाई उत्तेजित बनाउला, आपराधिक गतिविधिमा लाग्न प्रेरित गर्ला यस कुरामा पनि सचेत हुनुपर्ला नि त ?

२०३३ सालअघि नेपालमा गाँजा वैध थियो त्योभन्दा अगाडिको समाजलाई पनि हेरौँ न। त्यसपछि अहिले एकैचोटी गाँजा वैधानिक बनाएको देश क्यानडा हो। क्यानडाले गर्दा चाहिँ के भयो भने त्यहाँको क्राइम रेड घट्यो। त्यहाँ गाँजा वैधानिक भएपछि क्राइम रेट घट्यो। त्यो अचम्मको डाटा आयो के। अब क्यनडाको क्राइम रेड घट्छ भने नेपालमा पनि त घट्छ होला नि। त्यहाँ सुल्टो काम गर्ने यहाँ उल्टो काम गर्छ भन्ने त हुँदैन होला नि।

यदि गाँजाले विध्वंस मच्चाउने थियो भने हाम्रो देशमा ०३३ सालअघि नेपालमा अफगानस्तनमा जस्तो वार हुनुपर्ने हो। यसले विध्वंस मच्चाउँदैन।

नेपालमा कस्ता–कस्ता व्यक्ति गाँजाका उपभोक्ता छन ?

म सँगै प्रयोग गर्ने साथीहरुमध्येमा डाक्टर, इन्जिनियर, पाइलट, नेताहरु हुनुहुन्छ। मसँग गाँजा मागेर खानेहरुमा मन्त्रीहरु पनि हुनुहुन्छ।

अरुलाई गाँजा खुवाउँदै हिँड्ने ? तपाईंलाई त कारबाही गर्नुपर्ने भयो नि ?

मैले त आजभन्दा ३ वर्षअगाडि नै मैले गाँजा खान्छु भनेको हो। मैले प्रहरी चौकीभित्र गएर गाँजा सेवन गरेको छु। पोखराको उच्च अदालतभित्र नै खाएको छु तर त्यो अभियानको रुपमा हो। गाँजा नभई नहुने मान्छे होइन म।

आजभन्दा १३ वर्षअघि तपाईंलाई गँजडी भन्नेहरुलाई अहिले के भन्नुहुन्छ ?

धन्यावद भन्छु। किनभने, तपाईंहरुले आज त्यति गाली नगरिदिएको भए, मलाई र मेरो साथीहरुलाई न हेप्दिएको भए हामी यति जुझारु भएर उपिउँ जसरी चारैतिरबाट टोक्थेनौँ होला हामी संसद जान डराएनौँ किनभने फर्केर घर जाँदा पनि गाली खाने हो नि त, फर्केर समाजमा जाँदा पनि गाली खाने हो। जसरी नराम्रो बनिने भएपछि एउटा लेभलको नराम्रो बनौँ न भनेर लागियो।

अनि संसादहरु जसरी हाँस्नु भयो अबको एक वर्षसम्म त्यसैगरी हास्नु भयो भने हाम्रो देशमा परिवर्तन चाहिँ आउँछ।

त्यो हाँसो त राति सुतेको बेलामा पनि झल्झली सम्झनुहुन्छ होइन ?

एकदमै। संसद बल्ल संसद जस्तै लागको छ। तर, अझै पनि ढुक्क भएर बस्ने अवस्था छैन, विदेशीहरुको चलखेल भइरहेको छ।

प्रकाशित मिति: : 2023-06-01 20:30:00

प्रतिकृया दिनुहोस्