कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्वुले पदबाट राजीनामा दिएकी छिन्।
पहिचानका आधारमा प्रदेशको नामाकरण नभएको भन्दै स्वास्थ्य मन्त्री लिम्वुले बुधबार राजिनामा दिएकी हुन्। एमालेबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा पुस २५ गते बनेको सरकारमा उनी जनता समाजवादी पार्टी (जसपा)बाट स्वास्थ्य मन्त्री भएकी थिइन्। जसपाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै स्वास्थ्य मन्त्री लिम्वुले राजिनामा बुझाएकी छिन्।
उनले राजिनामा बुझाउँदै आफ्नो माग सरकारले नसुनेकाले राजिनामा दिएको प्रेस विज्ञप्ति जारी गर्दै उल्लेख गरेकी छिन्। ‘मैले सरकार र सदनबाट प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्ने माग गर्दै आइरकी छु,’ उनले भनिन्, ‘तर मेरो मागप्रति मुख्यमन्त्रीले वास्ता नगरेको र पहिचानवादीको मागप्रति सरकार गम्भीर नभएकाले मैले नैतिकताको आधारमा राजिनामा दिएकी छु।’