भारतको बथनाहादेखि कार्गो रेल विराटनगर–१८ बुधनगरस्थित आईसिपीसम्म आइपुगेको छ।
भारतको बथनाहास्थित रेलवे स्टेशनबाट नेपाली उद्योगका कच्चा मालवस्तु बोकेर भन्सार क्षेत्रमा कार्गो रेल आएको हो। लामो समयदेखि उद्योगी–व्यवसायीले उठाउँदै आएको माग बिहीबारदेखि सम्बोधन भएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेर बथनाहा–विराटनगर रेलमार्गको शुभारम्भ गरे।
विराटनगर आईसिपी क्षेत्रमा अहिले रेल विभाग नेपाल, स्थानीय प्रशासन, भन्सार प्रशासन तथा उद्योगी व्यवसायीको उपस्थित रहेको छ। उनीहरुले कार्गो रेललाई स्वागत गरेका छन्।
भारत सरकारको सहयोगमा निर्माण भएको कार्गो रेल सेवा यो पहिलो हो। यात्रु रेल सेवा जनकपुर जयनगर सञ्चालनमा रहेको छ।
यस अगाडिसम्म नेपालको मालवस्तु रेलमा ल्याउँदा भारतको बथनाहासम्म आउने गरेको थियो। त्यहाँबाट कन्टेनर मालवहाक सवारीमा राखेर ल्याउनुपर्ने बाध्यता रहँदै आएको थियो। अब भन्सार क्षेत्रमै कार्गो रेल अनलोड हुने भएपछि सहज भएको छ।