ठूलो दल भनेर घमण्ड गर्ने दिन गए: मेटमणी चौधरी

नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले नेपाली समाजमा अहिले दलभन्दा पनि उत्कृष्ट व्यक्तिको खोजी भइरहेको बताएका छन्।

दाङको घोराहीमा शनिबार पार्टी जिल्ला कमिटिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता चौधरीले ठूलो दल भनेर घमण्ड गर्ने दिन सकिएको बताएका हुन्।

‘कुनै समय दल भनेपछि एकढिक्का भएर लाग्ने अवस्था थियो’ उनले भने, ‘तर अहिले त्यो अवस्था छैन।’

हालै सम्पन्न उपनिर्वाचनमा तनहुँ जस्तो काँग्रेसको गढ इलाकामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले निर्वाचित भएको र सोही पार्टीले बारामा जमानत समेत जोगाउन नसकेको उदाहरण दिँदै नेता चौधरीले अब काँग्रेस, एमाले र माओवादी ठूला दल भनेर घमण्ड गर्ने युगको अन्त्य भएको बताए।

‘अहिलेको समाजले उत्कृष्ट व्यक्ति खोजीरहेको छ’ उनले भने, ‘त्यसैले सबै दलहरुले घमण्ड त्यागेर सहि व्यक्तिको पहिचान गर्न नसके ठूलो दल नभएर व्यक्तिले नै देशको नेतृत्व गर्ने अवस्था अउनुसक्छ।’

यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजबादीका पोलिट् ब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधवकुमार नेपाल अहिलेसम्म कुनैपनि भ्रष्टाचार काण्डमा नमुछिएको भन्दै यसमा पार्टीका सबै नेता तथा कार्यकर्ताले गर्व गर्नुपर्ने बताए। प्रशिक्षण कार्यक्रममा सो पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2023-06-03 18:52:00

प्रतिकृया दिनुहोस्