काम गर्ने हैसियत नभएकाे भन्दै कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दर्ता भएकाे छ।

जिल्ला न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने भन्दै संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिमा उजुरी दर्ता गरेका हुन्। कार्कीमा प्रधानन्यायधीश पदको सम्मान, गरिमा र ओज कायम राख्न सक्ने हैसियत नभएको उनकाे दाबी छ।

कार्कीलाई प्रधान्यायाधीजस्ताे पदमा नियुक्ति गर्नु अदालत र प्रधानन्यायाधीश पदकै अवहेलना हुने भएकाले सन्तुलन र नियन्त्रणको सिद्धान्तअनुसार उनकाे नाम स्वीकृत गर्न नहुने भट्टराईले उजुरीमा उल्लेख गरेका छन्।

‘न्यायसेवा प्रवेश गरी चालिसौं वर्ष सेवा गरेका राष्ट्रसेवकलाई प्रतिस्पर्धाबिना राजनीतिक भागबण्डा, नातागोता र अन्य अपारदर्शी आधारमा नियुक्ति हत्याएका अयोग्य न्यायाधीशहरूले न्यायालयमाथिको जनविश्वास समाप्त पार्ने गरी कानुनको शासनको उपहास हुन पुगेको छ,’ उजुरीमा भनिएकाे छ।

गत वैशाख २५ गते बसेकाे संवैधानिक परिषद्काे बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेकाे थियाे।

प्रकाशित मिति: : 2023-06-06 22:00:00

प्रतिकृया दिनुहोस्