पुँजीवादी दलालहरुले बनाएको ‘समाजवादी मोर्चा’बाट समाजवाद सम्भव छैन: आहुति

समाजवाद मान्ने कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छ भन्दै करिब एक वर्षदेखिको प्रयासमा रहेका नेकपा (माओवादी केन्द्र)सहितको चार दलले सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा नेपाल घोषणा गरे। यसमा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको समाजवादी मोर्चा घोषणा भयो।

उनीहरूले समाजवाद मान्ने सबै दललाई सामेल गर्ने भने पनि नेपालमा क्रियाशील कम्युनिस्ट पार्टी र अन्य समाजवाद मान्ने दलहरूलाई समेटेर लैजान सकेनन्। वर्ष दिनदेखि वैज्ञानिक समाजवादको मुद्दा बोकेर निरन्तर संघर्षमा रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललाई पनि समेट्न सकेका छैनन्।

उनै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ‘आहुती’सँग किन समाजवादी मोर्चामा सामेल नभएको ? समाजवादी मोर्चाको भविष्य कस्तो छ ? लगायत विषयमा बिएल संवाददाता ध्रुब बस्यालले कुराकानी गरेका छन्।

प्रस्तुत छ, आहुतीसँग गरिएको कुराकानीको सम्पादित अंशः


कम्युनिस्ट पार्टीहरु मिलेर ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा गरे तर तपाईंहरु किन सामेल हुनुभएन ?

समाजवादी मोर्चा कम्युनिस्ट पार्टीहरुको मोर्चा होइन। उपेन्द्र यादव कम्युनिस्ट होइन। त्यस्तै त्यहाँ सामेल भएका अन्य पार्टीहरु पनि कम्युनिस्ट होइनन्। केहीँको नाम मात्र कम्युनिस्ट हो, कसैको त झन नामसमेत कम्युनिस्ट होइन। उहाँहरुले समाजवादी मोर्चा बनाउनु भयो तर समाजवाद भनेको के भन्ने कुरा गरिरहँदै गर्दा अहिलेको संविधानले समाजवाद उन्मुख अर्थात् समाजवादतिर फर्किने भनेको छ।

त्यसैले यो संविधानमा टेकेर समाजवादतिर यात्रा हुँदैन किनभने यो दलाल पुँजीवादी व्यवस्था हो। संसारमा दलाल पुँजीवादको विकास गरेर समाजवाद त आएको इतिहास छैन। उहाँहरुको मोर्चा यहीँ व्यवस्थालाई मलजल टिकाउ गर्ने अथवा चुनावी मोर्चा बन्ने सम्भावना छ। अहिले चुनावी मोर्चा भन्दा पत्याउँदैनन्। तर, यसको तयारी के देखिन्छ भने केही गरेर मध्यावधी चुनाव हुन्छ कि भनेर तयारी गरेका हुन्। नाम मात्रको समाजवादी हो त्यो समाजवादी मोर्चा होइन।

समाजवादी मोर्चामा समाजवाद स्थापना गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि सामेल छ। कसरी चुनावी मोर्चा मात्र हो भन्नुहुन्छ ?

विप्लवजीहरुसँग हामी पहिले एउटै मोर्चामा थियौँ। तर, उहाँको विचारसँग हाम्रो विचार नमिलेपछि हामी छुट्टिएका हौँ। समाजवादी मोर्चा बनाउँदा पनि उहाँले मोर्चामा सामेल हुन प्रस्ताव लिनु भएको हो। तर, हामी त्यो मोर्चामा जादैछौँ भनेपछि हामीले तपाईंहरु गल्ती गर्दै हुनुहुन्छ भनेर गएनौँ। किनकि, संसदवाद र पुँजीवादसँग लड्नेबेलामा ती संसदवाद र पुँजीवादका दलाल मतियार पार्टीसँग संयुक्त मोर्चा बनाएर कहाँ समाजवाद हुनथ्यो र सम्भावना नै छैन।

प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव भनेका दलाल पुँजीवादी व्यवस्थाका सारथीहरु हुन्। त्यही व्यवस्थाको विरुद्ध लड्ने भनेर मोर्चा खोलेको हाेइन र विप्लवजीहरुले। त्यही व्यवस्थाको रक्षाका लागि मोर्चा बन्दी गरेर गए कसरी विश्वास गर्ने।

विप्लवहरु सत्ता बाहिरबाट र अन्य दल सत्ताबाट संघर्ष गर्ने योजनामा छन कि ?

त्यस्तो हुँदै हुँदैन। मोर्चा बनाएपछि संयुक्त कार्यक्रम हुन्छ। उदाहरणका लागि एमसीसी पारित गर्दा विप्लवजीहरु हामीसँग सडकमा आनदोलित हुनुहुन्थ्यो। प्रचण्डसहितका माधव नेपाल, उपेन्द्रजीहरुले एमसीसी पारित गर्नुभयो। अब यो मोर्चाले एमसीसीको विरोध गर्छ कि सर्मथन गर्छ ? समाजवादी मोर्चाले यसो हेर्दा सर्मथन गर्छ अनि विप्लवजीहरुले हिजो सड्कमा किन विरोध गरेको अब विरोध कहाँ लगेर राख्ने त ? यो विरोधावास भयो। यो एक किसिमको बिसंगती भयो। अन्य दल त संसदीय पार्टी भएकाले एक ठाउँ बस्नु होला तर विप्लवजीहरु सत्ताको खेलमा लागेकाहरु मिल्ने फुट्ने भैरहन्छ। अब विप्लवजीहरुले के तर्क गर्ने अब के आधारमा गएको कसरी पुष्टि गर्ने ?

समाजवाद निमार्णको यात्रामा समाजवादी मोर्चा छैन त ?

समाजवाद वर्गीय व्यवस्था हो। मेरो विरोध र आलोचनाको के अर्थ छ र यो मेरो कुरा होइन नि। संसारमा पुँजीवादी पार्टीहरुले समाजवाद कहाँ लिएका छन् त ? समाजवाद पुँजीवादी पार्टीहरुसँग मिलेर कहाँ आउँछ। यो सरकारको नेतृत्व गरेका पार्टीहरुसँग यो संविधानमा मिलेर कसरी आउँछ समाजवाद होइन र हामीले यो संविधानले समाजवाद ल्याउँछ भनेर बुझ्नु पर्‍याे हाेइन त।

तपाईं समाजवाद आउँदैन भनेर भन्नुहुन्छ। समाजवादी मोर्चामा काँग्रेस पार्टीलाई समेत ल्याउने कुरा भइरहेको छ ?

के ठुलो कुरा भयो प्रचण्डहरु काँग्रेसहरुसँग चुनावमा मिलेर जानु भएको होइन र ? काँग्रेसलाई नेता मानेर चुनावमा गएकै हो अब यो मोर्चा पनि त चुनावी मोर्चा बन्दै छ।

कसरी भन्न सकिन्छ चुनावी मोर्चा हो भनेर ?

माधव नेपालको जीवनमा ३६ साल यता चुनावबाहेक अरु केही गर्नुभएको छ ? मधेश आनदोलनपछि उपेन्द्र यादवले चुनावबाहेक अरु केही गर्नु भएको छ, छैन। उहाँहरुको एक मात्र उद्देश्य चुनाव लड्ने, मन्त्री हुने बाहेक के छ अनि विप्लपजीहरु जाने बित्तिकै सबै छोडेर संघर्षमा आइदिनु हुन्छ त। त्यस्तो हुन सक्दैन।

...भनेपछि नेताहरु जनतालाई झुक्काउँदै छन् ?

संसदीय व्यवस्था नै जनतालाई झुक्काउने व्यवस्था हो भने त्यो मोर्चा के गर्छ त ? त्यही त हो नि।

तपाईंहरु समाजवाद भन्दै संघर्ष गरिरहनुभएको छ तर कुनै उपलब्धी देखिदैन ?

हामी संघर्षमै छौँ। एक दिनमा भड्किने कुरै छैन। कुन व्यवस्था एक दिनमा फालिएको छ। कुनै पनि व्यवस्था जब खराब बन्छ, तब नागरिक निश्चित सिद्धान्तलाई मानेर नयाँ सिद्धान्तको परिकल्पना सहित लड्नुपर्छ। हामीले त्यो प्रयत्न सुरु गरेका छौँ।

प्रकाशित मिति: : 2023-06-22 17:50:00

प्रतिकृया दिनुहोस्