रत्ननगरमा विपन्न उपचार कोष सञ्चालन

फाइल तस्बिर
फाइल तस्बिर

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ। कोषबाट गत १० महिनामा ४०  नगरवासीले सेवा लिएका छन्।

अतिविपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाख रुपैयाँको उपचार कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो। 

कोष सञ्चालनमा आएपछि आर्थिक अभावका कारण उपचार गराउन नपाएका अतिविपन्न परिवारका बिरामीको उपचारमा आर्थिक सहयोग गरिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए।

नगरपालिकाले कार्यविधि बनाएर गत आर्थिक वर्ष २०७९/८० को भदौ महिनाबाट कोष सञ्चालनमा ल्याएको थियो। कोषको कार्यविधिअनुसार एउटा बिरामीलाई १० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ। 

आवश्यकताअनुसार रकम थप गर्ने विकल्प खुल्ला गरिएको नगर प्रमुख सापकोटाले बताए। शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्रतिव्यक्ति २० हजारसम्म प्रदान गरिएको उनले बताए। १० हजारभन्दा बढी पाउने बिरामीको संख्या ३ जना रहेको जनाउँदै नगर प्रमुख सापकोटाले वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाले कोषबाट रकम प्रदान गर्दै आएको बताए।

कोषबाट ३७ बिरामीको उपचारको लागि प्रतिव्यक्ति १० हजार र ३ बिरामीको उपचारको लागि प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले कोषबाट प्रदान गरिइएको छ। कोष सञ्चालनमा आएपछि हालसम्म २ लाख ५० हजार खर्च भएको उनले बताए। ‘आर्थिक अभावका कारण उपचार गर्न नपाएर कसैले ज्यान जानु हुँदैन,’ उनले भने, ‘गरीब तथा विपन्न नगरवासीको उपचारको लागि कोष स्थापना गरेका हौं।’ 

नगरपालिकाले विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गरेको छ। गत आव २०७९/८० मा ३ हजार २ घरधुरीको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ। विपन्न समुदायको उपचारको लागि स्वास्थ्य बीमा र आकस्मिक उपचारको लागि कोष स्थापना गरिएको नगर प्रमुख सापकोटाको भनाइ छ।

प्रकाशित मिति: : 2023-07-17 06:38:00

प्रतिकृया दिनुहोस्