एक झरीमै डुब्छ काठमाडौँ

ध्रुब बस्याल

काठमाडाैं

हरेक दिन उज्यालाे नहुँदै तरकारी किन्ने र बेच्नेहरूको भीडले भरिइसकेको हुन्छ, काठमाडौँको बल्खुस्थित ‘तरकारी बजार’। मंगलबार (आज) पनि मान्छेको भिडभाड उस्तै छ। तर, हरेक दिने हुने भीडमध्ये मंगलबारको भीड बेग्लै थियो। भीडमा हर्ष थिएन। अरू दिनमा बिहानै बजार आउनेहरुसँग तरकारी व्यापारीहरु उत्साहपूर्ण दिनको सुरुवात गर्थे।

मंगलबार त्यो उत्साह व्यापारीबाट हरायो। तरकारी बिक्री गर्न व्यस्त हुने व्यापारी हिलाम्य टहरामुनि मलिन मुहारमा थिए। हातमा फरुवा बोकेका थिए। बाल्टीमा पानी भरेर टहरा बाहिर फाल्दैथिए।

तरकारी किन्नसमेत पालो कुर्नुपर्ने उक्त बजारमा किनबेच ठप्प छ। ग्राहक छैनन्। तरकारी बाढीले बगाइरहेको छ। अदुवा, लसुन, आलु, प्याज, धनीयाँ, खुर्सार्नीलगायत तरकारी तथा किरानाका सामानहरु नदीमा बगिरहेको छ। व्यपारी भन्छन्,‘दैव लागेपछि के गर्नु!’

सोमबार रातिदेखि भएको निरन्तरको वर्षाले बागमती नदी बल्खुको तरकारी बजारमा पसेको छ। उर्लिएको नदीले आफ्नो बाटो बिराउँदै बल्खुको तरकारी बजारमा परेपछि बिहान ३ बजेदेखि तरकारी बजार जलमग्न छ।

दश वर्षदेखि पसल गर्दै आएका सुशीला सिलवाल पसल पुगेर तीन थैली (करिब १५ केजी)च्याउ बेचेकी थिइन्। हल्ला आयो, ‘भागौं–भागौं’। बाहिर पानी झमझम परिरहेको छ। पानी परेकाले मान्छेहरुको भीड कम छ। ‘व्यापार नहुने त होइन’, सोच्दै बसेकी सिलवालको पसलमा बाढी पसिहाल्यो।

हत्तार–हत्तार गर्दै उनी तरकारी पसल छोडेर भागिन्। अन्य व्यापारी पनि भागे। बिहान ५ बजेको थियो होला तरकारी बजार बाढीले डुबिहाल्यो। तरकारी नदीमा तैरदै गए। व्यापारी हेरिबस्नुको विकल्प भएन।

सुशीला सिलवाल भन्छिन्,‘बिहानै उठेर पसलमा आएको पौन ५ बजेतिर ढल पसेपछि सबै तरकारी बगाइदियो। भरखरै आएर दुई चार झोला पनि बिक्री भएको थिएन। मान्छेहरुको भीडभाड व्यापार बढ्दै गर्दा बाढी एक्कासी ह्वात्तै आयो। ज्यान बचाउनै गाह्रो भो।’

बिहान ३ बजेदेखि ९ बजेसम्म खुल्ने तरकारी बजारमा तरकारी छैन। व्यापारी निराश छन्। सबैले मलिन अनुहारमा भन्छन्, ‘धेरै क्षति भयो।’
व्यापारी कमलबहादुर थापाले हरेक व्यापारीको २० देखि ५० हजारभन्दा बढीको क्षति भएको बताए। च्याउलगायत धेरै तरकारी राख्नेको १ लाख बढी क्षति भएको छ। थापा भन्छन्, ‘बिहान साढे ३ बजे म पसलमा आएको थिएँ। बाहिर तरकारी पठाउने गाडीमा सामान हाल्दै थिए। हवात्तै पनी पसेपछि सामानहरु बचाउनै पाएनौँ। सबै बगाएर लग्यो। सबैको गरेर करोडभन्दा बढी क्षति भएको छ।’

बाढीले तरकारी बगाएपछि व्यापारी सरकारी निकायबाट चासो नभएको गुनासो गर्छन्।

०००

काठमाडौँ बल्खु तरकारी पसल मात्र होइन। काठमाडौँको विभिन्न ठाउँ डुबानमा परे। काठमाडौँको गैरीगाउँ सुकुम्बासी बस्ती पनि डुवामा पर्यो। तल्लो तला डुबायो। बंगुर, हाँस, कुखुरा बगायो। बिहानी पानी पसेपछि ज्यान जोगाउन छिमेकीको घरमा गए।

यस्तै च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा बाढी पस्यो। सँगै रहेको च्यासल रंगशालामा बाढी पस्दा १० लाख बढीको क्षति भएको अनुमान रंगशाला व्यवस्थापन समितिको छ। त्यसैगरी काठमाडौँको ढुंगेधारा क्षेत्रमा अबिरल वर्षापछि चार दर्जनभन्दा बढी पसल डुबे। सवारी आवागमन ठप्प भयो। धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा बाढी पसेपछि केही क्षती भएको छ।

नयाँ बसपार्क क्षेत्र, सामाखुसी क्षेत्रमा निजी घर, विद्यालयलगायतका संरचना जलमग्न भए। त्यस्तै भक्तपुरमा पनि डुबान पर्यो। हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा हनुमानघाट क्षेत्र डुबानमा पर्यो। भक्तपुरको सिद्धि स्मृति अस्पताल समेत जलमग्न भयो। अस्पताल नै जलमग्न हुँदा उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परे।

उपत्यकाका गौरीघाट, गुह्येश्वरी, कपन, अनामनगरलगायत नदी आसपासको क्षेत्र डुबानमा पर्दा मंगलबार राजधानी क्षेत्रकै जनजीवन प्रभावित भयो। बाराहीस्थानलगायत क्षेत्र र धान खेतहरु पनि डुबानमा परे।

हरेक वर्ष उपत्यकालगायत तराईका क्षेत्रहरु डुबानमा परिरहन्छन्। सहरी विकास मन्त्रालयका पूर्वसचिव तथा भौतिक संरचनाविज्ञ किशोर थापाले सडक ढलानले गर्दा पानी सोच्न नसक्दा सहरहरु डुबानमा पर्ने गरेको बताए।

‘सहरीकरण बढ्दै गएपछि सडकहरु बन्छन्, सडक बन्दा ढलान हुन्छन्। कडा वस्तुहरुले छोपिन्छ। ती ठाउँहरु छोपिने भएकाले पानीहरु सोच्न पाउर्दैनन्,’ थापाले भने, ‘पहिले पानी सोच्ने ठाउँहरु जता जतै ढलान गरिएकाले घर घरबाट आएको पानी खोलानालमा जान्छ र पानी बढी देखिन्छ। जसले डुबान हुन्छ।’

बढी जसो डुबानमा सहरी क्षेत्रहरु पर्छन्। डुबानबाट सहरका होचा जमिनमा भएका घरहरु धेरै प्रभावित हुने गरेका छन्। थापा भन्छन्, ‘काठमाडौँ उपत्यकामा जताततै सरकारले ढलहरु बनाएको छ। तर, ढल सफा गर्ने चलन छैन,’ उनले भने, ‘सफा नहुँदा पानी बग्न पाउँदैन अनी सहरहरु धेरै दुबानमा पर्छन्।’

उपत्यकामा प्रकृतिले राम्रो ठाउँ दिएको हो। तर, अग्ला र होचा दुबै प्रकारका जमिन पनि छन्।

‘अग्ला जमिनमा बस्ती बसालेर होचा जमिनमा खेती गर्नसके डुबान कम हुन्थ्यो। तर, होचो जमिनमा बाढीग्रस्त जग्गामा सस्तो जग्गा किन्ने र घर बनाउने सो विषय सरकारले रोक्न नसक्नुले अहिले बस्तीहरु होचा जमिनमा ठुलो बस्ती बसेको छ। ती बस्तीहरु बाढीको प्रकोपमा पर्ने नै भए’ उनी भन्छन्, ‘नत्र प्रकृतिले निकास दिएपनि निकासलाई बाटोलाई थुन्ने, छेक्ने, छोप्ने बग्नै नदिने भएकाले यस्तो असर देखिएको हो।’

प्रकाशित मिति: : 2023-08-08 22:14:00

प्रतिकृया दिनुहोस्