एमाले, काँग्रेस र माओवादीको घानमा पिसिइरहेका रास्वपा र राप्रपाहरू

BreaknLinks
BreaknLinks

‘संसद हाइज्याक भयो...’ 
आफ्ना सांसदहरूको भीडले घेरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको ढोकामा उभिएर भनिरहेका थिए, ‘एमाले, काँग्रेस र माओवादीले संसदलाई बन्दी बनाएका छन्…।’

सय किलो सुन समातिएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद चल्न दिएको छैन।

सुनकाण्डको छानबिन गर्न ‘उच्चस्तरीय छानबिन समिति’ बनाउन माग गरिरहेको एमालेले त्यसको हतियार संसदलाई बनाइरहेको छ।

तर सरकार र सरकारमा भएका राजनीतिक दलहरूले त्यसलाई खुलाउन कुनै प्रभावकारी पहल गरिरहेका छैनन्। बरु प्रतिपक्षको मागविपरीत निर्णयहरू गरिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीहरूले संसदै अवरुद्ध त गरेका छैनन्। तर यो सुन प्रकरणमा उनीहरू मौन छन्। राप्रपाले अनौपचारिक रुपमा त्यसका लागि छानबिन समिति बनाउनुपर्छ भन्दै एमालेकै माग समाएको छ। तर रास्वपासँग भने त्यसबारे कुनै धारणा छैन।

के छ पहल ?

संसद निरन्तर अवरुद्ध हुँदा धेरै काम रोकिएका छन्। महँगीले आम उपभोक्ताको दैनिकी सेकिरहेको छ। देशभरि बाढी र पहिराले मान्छेको ज्यान लगिरहेको छ। धनको क्षति भइरहेको छ।

तर सांसदहरू भने संसदभित्र रमिता देखाइरहेका छन्।

प्रमुख प्रतिपक्ष र सरकारबाहिर रहेका अरू दलका सांसदहरू पनि रमिते बनिरहेका छन्।

धन्न सबले त्यो बैठक प्रत्यक्ष देख्न पाएका छन्, त्यो बैठक ‘लाइभ’ हुँदैनथ्यो भने सदनभित्रका कुर्सीहरू फेरि पनि भाँचिने थिए।

बैठकमा एकअर्कासँग बाझिरहेका सांसदहरूलाई सुन्दा लाग्छ, राष्ट्र र आम नागरिकका मुद्दा अनि सरोकार होइन, उनीहरूलाई आफ्नैमात्र चिन्ता छ। सरकारमा भएकाहरूलाई सरकारको चिन्ता छ। सरकारमा नभएकाहरूलाई सरकारलाई कसरी अप्ठ्यारोमा पार्ने भन्ने चिन्ता छ। बाँकी कसैलाई केही छैन।

‘केही नयाँ’ गर्न भनेर आएका दलहरू पनि त्यस्तै रमिते भइरहेका छन्। सरकार चलाइरहेका काँग्रेस, माओवादी र प्रमुख प्रतिपक्ष एमालेको त्यो घानमा रास्वपा अनि राप्रपाहरू पिसिइरहेका छन्।

त्यहाँबाट न उनीहरू उम्किन खोज्छन्, न संसदलाई त्यो बन्धकबाट उम्काउन पहल गर्ने हिम्मत गरिरहेका छन्।

‘सभामुख पनि उनीहरूकै छन्। हाम्रा कुरा सुनिएका छैनन्। संसद हाइज्याक भइसकेको छ’, रास्वपाका सभापति रवि लामिछाने भन्छन्, ‘संसदलाई बन्दी बनाएर दलका सांसदहरूले जे पायो त्यही बोलिरहेका छन्। जे मन लाग्यो त्यही गरिरहेका छन्।’

तर संसद खुलाउने रास्वपाको पहल के छ?

त्यो त केही पनि छैन। बरू रविहरू भन्दै हिँडिरहेका छन्, यहाँ बन्धक बनाइयो। अब हामी सडकमै संसद चलाउँछौँ।

बैठक अवरुद्ध भएर चल्न सकिरहेको छैन। तर रास्वपाका यी ‘नयाँ’हरू भने संसदको ढोकामा खाँदिएर त्यहीँबाट संसद चलाउने चटकमात्रै गरिरहेका छन्।

‘त्यस्तो होइन, हामीले सबै दलका प्रमुख सचेतक अनि सचेतकहरूसँग कुरा गरिरहेका छौँ। हामीले सदन खुलाउने प्रयास गरिरहेका छौँ’, रास्वपाका उपसभापति डोलप्रसाद अर्याल भन्छन्, ‘अहिले जे भैरहेका छ, यसको हामी विरोधमा छौँ। अहिलेसम्म हामीले गर्नसक्ने केही पनि बाँकी राखेका छैनौँ। हाम्रो चाहना सुसंस्कृत राजनीति गर्नुपर्छ भन्ने हो। यसरी उहाँहरूको मात्रै रवैया चलिरह्यो भने आफ्नो धारणा बनाएर अझ फरक धारणा बनाउने आन्तरिक तयारीमा छौँ।’

उनका अनुसार साेमबार बस्न नसकेर भदौ ३ गतेका लागि सारिएको संसदको बैठक चलाउनका लागि रास्वपाले अरू दलहरूसँग पनि पहल गर्नेछ।

‘सबैसँग हाम्रो कुराकानी भइरहेको छ। उहाँहरुलाई यसो नगर्नुस्, सदन चलाएर सदनमै कुराहरू राखेर छलफल गरौँ र एउटा निष्कर्षमा पुगौँ। सदन अवरुद्ध गर्दा जनताका विषयमा बोल्न पाइएन देशको अवस्थाबारे भनेर भनिरहेका छौं’, उनले भने, ‘सबै दल सत्ता र प्रतिपक्षका प्रमुख सचेतकसँग कुरा गरेका छौँ। हाम्रो प्रयास निरन्तर गर्दै आएका छौँ। अब ३ गते संसद चल्छ भन्ने अपेक्षा छ। चलेन भने रास्वपाले कसरी जाने तयारीमै छौँ।’

त्यो तयारीबारे भने उनले खुलाएका छैनन्।

राप्रपा पनि त्यसै पिल्सिरहेको छ। एमालेको जस्तै सुन प्रकरणको छानबिनका लागि ‘उच्चस्तरीय छानबिन समिति’ बनाउनुपर्ने माग अघि सारिरहेको राप्रपा संसद अवरुद्ध गर्नेहरूको भीडमा भने छैन।

‘हामी एमालेको लाइनमा होइन कि हाम्रो पनि त्यही माग हो। त्यस अर्थमा हामीले सुनकाण्डको छानबिन हुनुपर्छ भनेर भनेका हौँ’, राप्रपाका महामन्त्री धवलशमशेर राणा भन्छन्, ‘हामी सदन अवरुद्ध हुनुहुँदैन भन्नेमा हो। त्यसले गर्दा जनताका आवाजहरू थुनिएका छन्।’

त्यसका लागि राप्रपाले के गरेको छ त?

‘हामीले सबै दलहरूलाई भनिरहेका छौँ। कयौँ पटक भनिसकेका छौँ। हाम्रो संसद चलाउने निरन्तर प्रयास छ’, राप्रपाका सांसद ध्रुबबहादुर प्रधान भन्छन्, ‘जनताका समस्या छन्। संसदलाई यसरी बन्दी बनाइयो भने तपाईंहरूको समस्याले गर्दा देश नै बर्बाद भो आइन्दा यस्तो नगरौँ भनेका छौँ।’

प्रकाशित मिति: : 2023-08-15 21:35:00

प्रतिकृया दिनुहोस्