जापानका ‘रकिङ’ रोविन 

त्योबेला उनी भर्खरै २१ वर्ष पुगेका थिए। जापानमा बस्ने एकजना दाजुले उनलाई भने- यतै आऊ। मन लागे यहीँ बस्नू, मन लागेन भने फर्किनू…!

जीवनमा धेरै ‘अप्सन’हरू थिएनन्, लक्ष्यहरू पनि हुर्किसकेका थिएनन्। बेलाबेला लाग्थ्यो- अब बाउआमासँग पैसा माग्दिनँ। आफैँ कमाएर खर्च गर्छु…।’

बस्! त्यही खर्च जुटाउनु थियो।

मुस्ताङ घर भएपनि उनी पोखरातिरै हुर्के र बढे। स्कुले जीवन पोखराकै काखमा बित्यो। अनि क्याम्पस पढ्न काठमाडौँ आए।

काठमाडौँको जीवनशैली नै फरक थियो। खर्च पुगेन। बाउ-आमासँग कति माग्नू…! उनलाई आफ्नो खर्चको जोहो गर्नु पनि थियो।

अहिले त ‘केही छैन’, त्योबेला त झन के हुँदो नेपालमा! 

आफन्तले बोलाएपछि आजभन्दा ३५ वर्ष पहिले अर्थात् १९८८ मा रोविन शेरचन जापान पुगे। त्यो आजको जस्तो जापान थिएन। हिरोसिमा र नागासाकीमा अमेरिकाले खसाइदिनएको ‘परमाणु बम’को घाउ निको भइसकेको थिएन। त्यसबाट तहसनहस भएको जापानले भर्खरै विकासको गतिमा पाइला अघि सार्दै थियो।

रोविनलाई ती दिनका याद अझै ताजै लाग्छन्, त्योबेलाको जापान अनि जापानमा नेपालीको अवस्था। त्यतिबेलासम्म पनि जापानामा त्यतिधेरै नेपाली थिएनन्। मुस्किलले सय जति।

‘भर्खर २१ वर्षको थिएँ। कलेज पढ्दै थिएँ। तर अब त आफ्नो खर्च आफैँ जुटाउनुपर्छ भन्ने पनि लागिरहेको थियो। तर त्यो पढ्ने उमेर थियो, के गर्ने, कसो गर्ने आइडिया त केही थिएन’, उनी भन्छन्, ‘अब केही गर्नुपर्छ। पढ्नु पनि पर्छ भन्ने लागिरहेको थियो। त्यहीबेला जापानमै बस्ने ठूलो बुवाको छोराले बोलायो।’

त्यो बोलावटपछि उनी केही नसोची जापान पुगे।

तर सोचेजस्तो कहाँ थियो र जापान! न भाषा मिल्ने, न जीवनशैली। सुरु सुरुमा त काम पाउनै गाह्रो थियो। सीप थिएन। भाषा थिएन। अरू कुनै उपाय पनि थिएन। त्यसपछि उनले सबैभन्दा पहिला त जापानीज भाषा सिक्न थाले।

‘सुरुसुरुमा त यहाँ एकदमै गाह्रो थियो। भाषा पनि नबुझिने। जापानीजहरू सित्तिमित्ति अंग्रेजी बोल्दैनन्। त्यसैले सुरुमा त भाषा सिक्नुपर्नेरहेछ’, उनी पनि भाषा पढ्न थाले। दुई वर्ष पढेपछि बल्ल त्यहाँ घुलमिल हुन सिके।

सँगै पढ्ने साथीहरूसँग अब जापानीजमै कुराकानी गर्ने भइसकेका थिए। त्यसैबेला जागिरका कुरा निस्के। त्यहीँबाट उनले थाहा पाए, भाषा सिके त रेष्टुरेन्टहरूमा काम पाउन गाह्रै रहेनछ।

उनले केही समय रेष्टुरेन्टमा काम गरे।

जापानमा भएकामध्ये धेरैजसो त थकाली समुदायका थिए। यता, बाउबाजेको पुस्ता नै व्यापार व्यवसायमा थियो। उनका बुवाले भैरहवामा होटेल पनि खोलेका थिए। अनि कपडाका अरू दाेकान पनि थिए। हङकङबाट कपडाहरू ल्याएर भैरहवामा बेच्थे। होटेल अनि कपडा पसलहरू पनि राम्रै चलेका थिए।

कहिलेकाहीँ उनलाई पनि लाग्थ्यो- बुवाकै त्यो व्यापार सम्हालुँ कि! तर अर्को मन भन्थ्यो यहाँ भविष्य छैन।

बुवाको व्यापारका सिलसिलामा उनी पनि धेरैपटक हङकङ पुगिसकेका थिए। त्यसबाट पनि मन त व्यापारमै थियो।

त्यहीबेला उनले काठमाडौँमा एउटा रेष्टुरेन्ट पनि चलाइरहेका थिए। तर मन किन किन चलिरहेको थिएन। कलेज पढ्दापढ्दैका साथीहरू पनि विदेशिन थालेका थिए। उनको मन पनि बसिरहेको थिएन।

‘कोही अमेरिका, कोही बेलायततिर गइसकेका थिए। मेरो पनि मन बसिरहेको थिएन’, उनी भन्छन्, ‘कतै गएर केही गर्न सकिन्छ कि भनेर सोचिरहेका बेला जापानबाट बोलावट भयो।’

पातलो नेपाली समाज। विदेशी भूमि। बिरानो भाषा। केही थकाली समाजका नेपालीहरू थिए। कराँते खेल्ने केही नेपाली युवा पनि थिए। उनका दौँतरीजस्तै।

गाह्रो त कम्ता थिएन। र, पनि केही गर्न भनेर देश छोडिसकेपछि केही त गर्नैपर्थ्यो। त्यसको सुरुवात उनले जापानीज भाषाबाटै गरे।

त्यसपछि त्यहीँको एक रेष्टुरेन्टमा काम गरिरहेका थिए। त्यो इटालीयन रेष्टुरेन्ट थियो। रेष्टुरेन्ट मालिकलाई पनि उनीजस्ता नेपालीको काम मन परिरहेको थियो।

त्यहीबेला उनी एउटी जापानीज केटीको प्रेममा परे। २७ वर्षको उमेरमा उनले जापानीज केटीसँगै बिहे गरे। बिहेपछि जिन्दगीको बाटो अलिकति मोडिन थाल्यो। जापानीज नै भएपनि उनकी श्रीमती अर्को देशमा पढेर आएकी थिइन्। अंग्रेजी भाषाको राम्रो ज्ञान थियो।

नयाँ जीवनको सुरुवात भइसकेको थियो। अब बाटो पनि नयाँ हुन थाल्यो। उनीहरूले अब आफ्नै केही व्यवसाय गर्ने सल्लाह गरे।

श्रीमतीको रुचि बाहिरी देशको संस्कृतिसँग थियो। उनले आफ्नो देशको संस्कृति अर्को भाषामा बुझाउनका लागि केही गर्ने सोच बनाइरहेकी थिइन्। तर सुरुवातमा उनीहरूले मैनबत्ती अनि झोला बनाउने व्यवसाय थाले। विस्तारै दुवैजना मिलेर एउटा सांस्कृतिक विद्यालय खोल्ने सल्लाह भयो।

‘त्यो मेरो श्रीमतीकै रुचि थियो। उनले सिकेको कुरा अरूलाई पनि सिकाउनुपर्छ भन्ने चाहन्थिन्’, उनी सम्झिन्छन्, ‘त्यसपछि हामीले एउटा सांस्कृतिक स्कुल खोल्यौँ। र त्यहाँ अंग्रेजी अनि अरू पनि सांस्कृतिक कुराहरू र विदेशी भाषा पढाउन थालियो।’

त्यसका लागि केही व्यावसायिक शिक्षकहरू चाहिन्थ्यो। त्यसपछि उनीहरूले अमेरिकन र अष्ट्रेलियन शिक्षक पनि ल्याए।

त्योबेला पत्रपत्रिकाको जमाना थिएन। ‘माउथ टु माउथ’ विज्ञापन यसैगरी हुन्थ्यो। तर एकदिन उनीहरूले एउटा जापानीज पत्रिकामा आफ्नो स्कुलको बारेमा केही सामग्रीहरू प्रकाशित गरे।

‘त्यसपछि त स्कुल सोचेभन्दा पनि राम्रो चल्न थाल्यो’, रोविन भन्छन्, ‘हामी पनि खुसी थियौँ। मनले चाहेको काम राम्रैसँग चलिरहेको थियो।’

जीवन सोचेजस्तो अनि चाहेजस्तो कहाँ चल्छ र! अचानक आइदिने चोटहरूलाई सहेर बाँच्नुपर्छ जीवन। रोविनको जीवनमा पनि एउटा त्यस्तै चोट लाग्यो।

३९ वर्षीया उनकी श्रीमतीलाई क्यान्सरले निल्यो। उनी फेरि एक्लो भए। केही समय त्यत्तिकै बित्यो। दुईजनाको मन मिलेर खोलेको स्कुल अब एक्लै सम्हाल्नुपर्ने थियो।

‘त्योबेला मन निकै भारी हुन्थ्यो। कुनै भारले थिचिरहेको हुन्थ्यो। जीवनसाथी मलाई छोडेर गइसकेकी थिइन्’, उनी भन्छन्, ‘तर पनि सम्हालिएर बाँच्नु त छँदैथियो।’

१०-१२ वर्षसम्म त्यो स्कुल उनले राम्रोसित चलाइहरेका थिए। त्यसपछि उनले फेरि आफ्ना भाइहरूसँग मिलेर एउटा बार खोले, जहाँ १३० देशका विभिन्न ब्रान्डका बियरहरू बेचिन्थ्यो। अनि त्योसँग मिल्ने खानेकुराहरू बेच्न थाले। त्यो पनि राम्रै चल्यो।

जीवनमा यस्तो भइरहेको थियो कि रोविनले जहाँ हात हाल्थे, सफलता त्यहाँ आफैँ आफैँ आइपुग्थ्यो। त्यसपछि फेरि अर्को ठाउँमा उनले इटालीयन रेष्टुरेन्ट पनि खोले।

त्यतिञ्जेल उनले स्कुल अर्का एकजना साथीको जिम्मा लगाइसकेका थिए। त्यहाँबाट आफ्नी श्रीमतीको याद बोकेर उनी व्यवसायको अर्को पहाड उक्लिरहेका थिए।

अहिले उनले आफ्नो त्यो रेष्टुरेन्ट व्यवसाय निकै फैलाइसकेका छन्। उनका जापानभरि २२ भन्दा धेरै आउटलेटहरू चलिरहेका छन्।

समाजसेवाको बाटो

त्योबेला नेपाली समाज निकै पातलो थियो, तथापि मान्छेको जीवनमा समस्या त आउँछ नै। सानो सर्कल भएका कारण कहाँ के भयो र भइरहेको छ भन्ने खबर आइहाल्थ्यो।

कसैलाई केही समस्या परेको थाहा पाउनासाथ उनी अघि सरिहाल्थे। अहिले संसारका धेरैजसो देशहरूमा ‘गैर आवासीय नेपाली संघ’ (एनआएरएनए) छ।

तर त्योबेला केही थिएन। एनआरएनए जन्मिनुभन्दा अघि नै रोविनहरूले नेपाली समाजका लागि काम गर्दै आएका थिए।

‘त्योबेला एनआरएनए जन्मिसकेको थिएन। जे भने पनि हामी नै थियौँ। व्यक्तिगतरूपमै पहल गरेर हामीले समस्यामा परेका नेपालीलाई सहयोग गर्थ्यौं।’

अहिले श्रमिकसँगै जापान नेपाली विद्यार्थीहरूले पनि भरिन थालेको छ। एनआरएनएमात्रै होइन, त्यस्ता धेरै नेपाली संघसंस्थाहरू खुलेका छन्।

२०२१ मा मात्रै रोविन पनि एनआरएनएमा जोडिए। सुरुमै उनी एनआरएनएको केन्द्रीय (आइसिसी) सदस्य भए। अब अर्को कार्यकालको लागि चुनाव हुँदैछ।

अब उनले आफ्नो जिम्मेवारी अलि बढाउने तयारीमा छन्। आगामी नेतृत्वका लागि उनी उपाध्यक्षको दाबेदार हुन्।

‘एनआरएनए नहुँदै पनि हामी जापानमै थियौँ। अहिले गर्ने काम त हामीले त्यो बेलादेखि नै गर्दै आएका हौँ’, उनले भने, ‘त्यही कामलाई अब अलिकति संस्थागत पनि गरौँ भनेर संस्थामा पदीय जिम्मेवारी लिन खोजेको हुँ।’

यद्यपि बाहिर हुँदा पनि उनले नेपाली समाजका लागि थुप्रै कामहरू गरेका छन्। नेपालमा भूकम्प जाँदा होस् वा बाढी पहिरा जाँदा उनले त्यहाँ ‘च्यारिटी’ गरिहाल्छन् अनि जुटेको सहयोग नेपाल पठाउँछन्।

नेपालको स्वास्थ्य, शिक्षा तथा दैवीय र प्राकृतिक विपत्तिका बेला उनले व्यक्तिगतरूपमै थुप्रै सहयोग गरेका छन्।

‘जीवनका ३६ वर्ष यो भूमिमा बिताएको छु। तर नेपाल र नेपालीकै माझमा छु। मैले यहाँ रहेका होस् वा आफ्नै जन्मभूमिमा रहने नेपालीका लागि सकेको सहयोग गरेको छु’, रोविन भन्छन्, ‘अझै गर्नुपर्ने धेरै काम छन्। देशका लागि गर्नुपर्ने कामहरू छन्। नेपालीका लागि गर्नुपर्ने काम छन्। गैरआवासीय नेपालीका लागि गर्नुपर्ने थुप्रै कामहरू छन्।’

अनि रोविनलाई लाग्छ, ‘त्यसका लागि एउटा जिम्मेवारी बोक्न चाहन्छु। जसले म अब नेपाल र नेपाली समाजकै लागि संस्थागतरुपमा केही गर्न सकूँ।’ 

प्रकाशित मिति: : 2023-08-24 22:00:00

प्रतिकृया दिनुहोस्