एनआरएनए उपाध्यक्षका लागि रोविनको उम्मेदवारी किन ?

आउँदो अक्टोबर दोस्रो साता हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौँ महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र उम्मेदवारी घोषणाको लहर बाक्लिन थालेको छ।

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति(आइसिसी)मा पुग्नका लागि अहिले विश्वभरि छरिएका नेपाली आ-आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन्। सदस्यदेखि पदाधिकारीसम्म हुन खोजिरहेकाहरूले आ-आफ्ना एजेन्डाहरू सार्वजनिक गर्दै धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्।

उम्मेवारी घोषणाको यही लहरमा उभिएकामध्ये रोविन प्रसाद शेरचन पनि एक हुन्। विश्वभरि नेपालीमाझ चिनिएका उनी एक बलियो दाबेदार पनि हुन्।

२० वर्षदेखि एनआरएनको अभियानमा औपचारिक रुपमा जाेडिएका रोविन जापानमा बस्दै आएका छन्। काम खोज्दै ३६ वर्षअघि जापान पुगेका रोविन उतै पढेर त्यहीँ आफ्नो व्यवसाय थाले।

औँलामा गन्न भ्याइने नेपाली थिए त्योबेला जापानमा। एनआरएनएका बारेमा विश्वमा बस्ने कुनै नेपालीले समेत परिकल्पना नगरिसकेको त्योबेलामा रोविनले जे सके जापानमै बसेर गरे।

मन भयो भने समाजका लागि, आफ्नो समुदायका लागि काम गर्न कुनै संघसंस्था चाहिन्छ भन्ने जरुरी हुन्न।

२००३ तिरमात्रै एनआरएनएको औपचारिक ‘न्वारान’ हुँदै गर्दा जापानबाटै रोविनले नेपाल र विश्वभरि रहेका अरू नेपालीहरूसँग जाेडिइसकेका थिए।

‘मलाई त्यहाँ गएर पनि गर्नु त के नै छ र! सबै काम मैले एनआरएनए नजन्मिँदै पनि गर्दै आएको थिएँ। एनआरएनएमा जोडिएपछि पनि गरिरहेको छु’, रोविन भन्छन्, ‘हो यो एउटा ठूलै सञ्जाल हो। नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित बनाएर चिनाउनसक्ने एउटा फोरममा मैले पनि योगदान गर्न सकूँ भनेर उम्मेदवारी दिन लागेको हुँ।’

सुरु सुरुमा जापानमा चिनिएका रोविन विस्तारै विस्तारै विश्वभरि नै चिनिन थाले। विश्वको जुनसुकै कुनामै होस् जहाँ जहाँ नेपालीलाई समस्या पर्थ्यो, त्यहाँ रोविन हुन्थे। वा उनले पठाएको ‘सहयोग’ पुग्थ्यो। धेरैका लागि त्यो जीवनको वरदानै पनि भएको छ।

भर्खरै बन्दै गरेको जापानमा काम खोज्न पुगेका रोविनलाई थाहा छ, श्रमिकको पीडा कस्तो हुन्छ भनेर। विदेशी भूमिमा पैसा कमाउनका लागि गर्नुपर्ने संघर्ष, त्यसको सामना र पीडाहरू उनी आफैँले बोध गरेका छन्।

‘एक समयमा आएर मैले आफ्नै विजनेस सुरु गरेँ। रेस्टुरेन्ट व्यापार राम्रै चल्यो। मैले धेरैलाई रोजागरी पनि दिएँ। केही पैसा पनि कमाएँ। अनि फेरि घरजग्गाको काममा पनि हात हालेँ’, रोविन भन्छन्, ‘त्योबेला पर्दा पछि भएर काम गरेँ। अब विश्वभरका नेपालीसँग एकाकार भएर नेपाल र नेपालीका लागि अझै केही गर्न मन छ।’

आफन्त, अग्रज र सहपाठीहरूसँगको सल्लाहमा अब नेतृत्वमा पुग्ने यात्रा थालेका रोविनलाई आश छ- धेरै गैरआवासीय नेपालीलाई उनको उम्मेदवारीलाई समर्थन गर्नेछन्। अनि उनले नेपालीकै लागि काम गर्ने एउटा विश्वव्यापी संस्थाको नेतृत्वमा पुग्न सहयोग पाउनेछन्।

‘मैले त गर्दै आएको कामलाई संस्थागत गर्न र अझ जिम्मेवार हुनका लागि यो उम्मेदवारी दिन लागेको हुँ’, उनी भन्छन्, ‘बाहिर बसेर केही गर्नै नपाइने वा गर्नै नसकिने होइन। तर एउटा विश्वव्यापी सञ्जालमा बसेर गरेका कामहरू अनि नीतिगत कुराहरूले सबैलाई फाइदा नै हुन्छ।’

जापानका ‘रकिङ’ रोविन

प्रकाशित मिति: : 2023-09-06 20:22:00

प्रतिकृया दिनुहोस्