जब प्रचण्डलाई खाेजियाे...

‘आज महत्वपूर्ण बिषयमा छलफल चलिरहेको छ। प्रधानमन्त्री पनि बैठकमा आइदिँदा राम्रो हुन्थ्यो। समितीको पनि गरिमा र महत्व बढ्थ्यो। जे होस् मेरो धारणा प्रधानमन्त्रीसम्म पुगोस्,’ नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व–प्रधानमन्त्री माधव कुमार नेपालले गुनासो गरे।

बिहीबार (आज) ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति’को पहिलो बैठकमा सांसदहरुले प्रधानमन्त्रीको खोजी गरेका थिए। समितिमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सहितको उच्चस्तरीय टाेलीको भदौँ ३० गतेदेखि अमेरिकाको (न्युओर्क) हुदैँ चीनसम्म हुने भ्रमणकोबारे एजेण्डा तय लगायतका बिषयमा छलफल गर्ने कार्यसूची थियो।

बिहीबार बसेकाे बैठक भदौँ ११ गते समितिको सभापति चयनपछिको पहिलो बैठक हो। बैठकको कार्यसूची अनुसार प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र मन्त्री नाराणप्रसाद साउद (एनपी) लाई बैठकमा आमत्रित गरिएको थियो।

काम बिशेषले काठमाडौं बाहिर रहेका साउदलाई तत्काल बैठकमा सहभागी हुन आग्रह गर्दै  भम्रणबारे केही एजेण्डा बोकाएर प्रधानमन्त्रीले परराष्ट्र मन्त्रीलाई बैठकमा पठाए। तर, कार्यसूची अनुसार प्रधानमन्त्री र परराष्ट्र मन्त्री बैठकमा अनिवार्य सहभागी हुने कार्यक्रम थियो। 

औपचारिक रुपमा बैठक सुरु गर्दै समितिका सभापति राजकिशोर यादवले बैठकको सम्भावित कार्यसूची प्रस्तुत गरे। उनले भने, ‘आजको कार्यसूची प्रधानमन्त्रीको विदेश भ्रमण, चीनले सार्वजनिक गरेको नक्सामा नेपालको बिषयमा सत्य के हो जानकारी र नेपालको आन्तरिक मामिलाबारे चीनको राजनदुतले दिएको अभिव्यति लगायत बिषय हाम्रो बैठकको एजेण्डा हो।’

सांसदहरु प्रधानमन्त्री आएपछि आफ्नो बिषय सुनाउन खोजिरहेका थिए। पहिलो पटक बोल्ने पालो पाएका नेपालले प्रधानमन्त्री नभएपनि परराष्ट्र मन्त्री सहभागी नहुँदै नबाेल्ने बताए। जसले एकछिन बैठक नै अल्मलियो। केही समयपछि परराष्ट्र मन्त्री आए।

साउदले प्रधानमन्त्री बैठकमा सहभागी हुन नसक्ने भन्दै सांसदहरुलाई केही एजेण्डा सुनाएका थिए।

नेकपा एसका अध्यक्ष नेपालले चीन भ्रमण तारिफ गर्न लायक बनाउन प्रचण्डलाई शुभकामना दिए। नेपालले वर्तमान परराष्ट्रमन्त्री र पूर्व परराष्ट्रमन्त्रीतर्फ संकेत गर्दै केही समय पहिले नेपाल र भारतको बिषयमा चिनिया राजदुतले दिएको अभिव्यक्तिबारे प्रश्न गरे।

सांसदहरुको चासो नै प्रधानमन्त्रीलाई भम्रणको बिषयमा आफ्नो कुरा सुनाउनु थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा.धवल शम्शेर राणाले संसदीय समितिको बैठकमा सहभागी भएर जानुपर्ने माग राखे। ‘प्रधानमन्त्रीको भ्रमण निकै महत्वपुर्ण हो। देशलाई अप्ठ्यराे पर्ने, मान्छेहरुले खिल्ली उडाउने भन्दापनि एजेण्डाबारे प्रस्ट बुझेर सल्लाह गरेर अगाडी बढ्नु हुनेछ। एक पटक समितिमा सहभागी भएर सल्लाह गरेर जानुपर्छ,’ राणाले भने।

चिनिया राजदुतले दिएको अभिव्यक्ति गलल रहेको उनको भनाइ थियो। नेपाललको परराष्ट्र नीति प्रस्ट रहेकाले ध्यान दिनसमेत उनले आग्रह गरे।

राष्ट्रिय स्वतनत्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री आफ्नो शुरमा रहेको आक्रोस पोखे। ‘दुइ देशमा एकै पटक भ्रमण हुँदैछ। दुबै भम्रण सफल बनाउन हाम्रो भुमिका के हो? एजेण्डा तय भएको जानकारी पाइयो तर, प्रधानमन्त्रीको उपस्थिति देख्न पाए धन्य हुनेथियौँ ,’खनालले भने।

नेपाल भुराजनैतिक मुलुक भएकाले अन्य देशका नागरिकले स्वतः अभिव्यक्ति दिँदा जटिलतातर्फ जाने र क्षती पुग्ने तर्क गरे।

आम जनता पार्टीका सांसद प्रभु साहले भ्रमणमा ठुलो टाेली गएर देशलाई आर्थिक भारमा नपार्न प्रधानमन्त्रीलाई आग्रह गरे। उनले भम्रणको समयमा चीनसँग सम्बन्ध मजबुद बनाउन, सीमा र दुई देश बिचको व्यापारिक सम्बन्ध किलेर गर्न प्रस्ट गर्नुपर्ने बताए।

‘असंलग्न परराष्ट्र नीती साझेदारी रुपमा जाँदा स्पष्ट हुनुपर्छ। शैन्य सहकार्य गर्ने पक्षमा दुबै देश हुनु हुँदैन। आफ्नो निणर्य आफै गर्न सक्नुपर्छ। सकेसम्म भम्रणका क्रममा लाभ लिने खालको सम्झौता गर्न आवश्यक छ,’ माओवादी सांसद बर्षमान पुनले भने। 

प्रधानमन्त्रीलाई समितिकाे बैठकमा पुनः बोलाउनुपर्ने सांसद प्रेम सुवाललको भनाइ छ। ‘प्रधानमन्त्रीको एजेण्डाबारे छलफल गर्न जुटेका हामी सांसदीय व्यवस्था होइन। पञ्चायती व्यवस्था मान्नु पर्ने जस्तो देखियो। भ्रमण पहिले प्रधानमन्त्री बैठकमा सहभागी हुनुपर्छ,’ सुवालले भने।

बैठकमा सबै सांसदले प्रधानमन्त्री बैठकमा आएर छलफल गर्नुपर्ने माग गरेका थिए। 

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरे। 

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा व्यहोरिरहेको अभिव्यक्ति दिएका थिए। राजदूतको सो अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको भम्रण कार्यतालिका

पराराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण र चीन भ्रमणबारे संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई जानकारी दिए। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डले यही भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका भ्रमणमा रहने जानकारी गराए।

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री प्रचण्डको नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिव, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरूसहित अमेरिकाका लागि नेपाली राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, महावाणिज्य दूतावासका पदाधिकारी लगायत नेपालबाट मिडिया प्रतिनिधिहरू समेत सो भ्रमणमा सहभागी हुने जानकारी दिए।

प्रधानमन्त्रीले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग नेपाल सरकारको विकास र प्राथमिकता, उपलब्धिहरू र चुनौतीहरू प्रस्तुत गर्ने तयारी छ। महासभा साइड लाइनमा विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ताको कार्यक्रम तय गरिएको उनले बताए।

अमेरिका भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति जो वाइडेनले गर्ने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने उनले बताए। मन्त्री साउदले भने– ‘संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति जो वाइडेनले आयोजना गर्ने रात्रीभोजमा समेत प्रधानमन्त्रीज्यू सामेल हुने कुरा जानकारी गराउन चाहन्छु। अति कम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि प्रयासरत नेपालले यस वर्ष उक्त समुहको अध्यक्ष समेत ‘शेयर अफ द ग्लोबल को अर्डिनेशन ब्युरो अफ लिस्ट डेभेलोपमेन्ट कन्ट्री’का हैसियतबाट सभाको बैठक सञ्चालन गर्ने कार्यक्रम रहेको छ।’

संयुक्त राष्ट्रसङ्घ महासभाको ७८औँ महासभामा सहभागी भएर असोज ५ गते प्रधानमन्त्री सहितको टोली चीनको औपचारिक भ्रमणका लागि  जानेछ।   भदौ १९ गतेदेखि राष्ट्रसङ्घको महासभा सुरु भइसकेको जानकारी गराउँदै सो महासभामा भदौ ३१ देखि असोज ९ गतेसम्म उच्चस्तरीय तहको सहभागिता रहने उनले बताए।

मन्त्री साउदले चीन भ्रमणको एजेन्डा निर्माण र प्राथमिकता निर्धारणका लागि मन्त्रालय र सरकार क्रियाशील रहेको पनि जानकारी गराए।

प्रकाशित मिति: : 2023-09-07 20:00:00

प्रतिकृया दिनुहोस्