अमेरिकाको नेपाली डायस्पोरामा 'बालेन 'मेनिया'

प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका

नेपाली जाति तथ्यमा भन्दा तर्कमा, यथार्थमा भन्दा भावनामा र वर्तमानमा भन्दा विगतमा बाँच्ने जाति हो । त्यसका लागि घरदेशमा होस् वा परदेशमा यो जातिलाई समर्थनका लागि होस् वा विरोधका लागि, कोही न कोही पात्र चाहिरहन्छ। 

यो सनातनी कायम राख्न समय समयमा नयाँ नयाँ पात्र पनि आइरहन्छन् । केही दिन नायक भएर ती पात्रहरू अन्तत: खलनायकमा परिणत हुन्छन् । नेपालीलाई ती पात्र नायक हुन पनि खास कारण चाँहिदैन, खलनायक हुन पनि कुनै कारण चाहिदैन।

अमेरिकाको नेपाली डायस्पोरा नेपाली जातिको खास्सा मिनियचर हो । भूगोलको देशान्तर र अक्षांस मात्र फेरिएको हो, यहाँका नेपालीको मन, मस्तिस्क र ती दुईलाई चलाउने तन्तु ठ्याक्कै उही छ ।

यहाँको नेपाली डायस्पोराका लागि केही समय अघिसम्म रवि लामिछानेको नायकत्वको भूत चढेको थियो । एक किसिमको रवि मेनिया नै थियो । तर, केही समययता त्यो भूत बिस्तारै उत्रन थालेको छ । उनी नायक थिए अब बिस्तारै त्यो नायकको पाइन सकिदैछ र समयक्रममा उनी खलनायकमा परिणत हुनेछन् ।

न उनी नायक बन्नका लागि कारण चाहिएको थियो न खलनायक बन्नकै लागि कारण चाहिन्छ।

आखिर नेपालीलाई बाँच्नकै लागि मात्र पनि कोही न कोही नायक त चाहिन्छ नै । अहिले त्यो नायकको ठाउँ बालेनले लिन थालेका हुन् कि जस्तो छ ।

नेपाली जाति नै यस्तो हो जसलाई समर्थन वा विरोध गर्नका लागि कोही न कोही पात्र नभइ हुदैन। अमेरिकाका नेपाली अमेरिकामा हैन, अमेरिकामा बनाइएका नेपालको मिनयचरमा बस्ने हुन्। उनीहरूले ठाउँ ठाउँमा ससाना नेपालका मिनियचर बनाएका छन्। 

यिनै अमेरिकामा बनाइएका नेपालका मिनियचरमा बस्ने नेपाली दिमाखबाट रवि लामिछानेको  ठाउँ बिस्तारै बालेनले लिन थालेका छन् । 

बालेन किन र केका लागि नायक हुँदैछन्, त्यो उनीहरूलाई पनि थाहा छैन । केही दिन पछि उनको ठाउँ अर्को कोहीले लिन्छ। जसरी रविको ठाउँ बालेनले लिदैछन् । 

त्यसको एउटा दृष्टान्त हो यो तस्बिर । न्युयोर्कमा एक नेपालीले मायालु नामको गाडीको नम्बर प्लेट लिएका रहेछन् । उनले त्यो गाडीको पछाडी बालेनको स्टिकर टाँसेर हाँकिरहेका छन्। 

यो गाडी भट्ट ल एशोसियट्सका उपेन भट्टको आँखामा परेछ । सबै अनौठो समाचार हुन्छ भन्ने घ्राणशक्ति भएका उपेनले गाडीको तस्विर खिच्दै फेसबुकमा पोष्ट्याए । उनको क्याप्सन थियो, If you see something, say something. Balen is in New York.

यो पंक्तिकारको ध्यान उपेनले लिएको यो तस्बिरले तान्यो । आखिर न्युयोर्कमा बालेन-मेनिया चल्नुको कारण के हुनसक्छ भनेर सोच्नुपर्ने स्थितितिर धकेलियो ।  यो पंक्तिकारलाई लाग्छ, अमेरिका जस्तो प्रजातन्त्रको मसिहा देशमा बसेको मानिसले एक व्यक्ति त्यो पनि बिगत केही दिनयता कानुन हातमा लिएर सनकका भरमा चलिरहेको छ, उसको पक्षपोषण गर्नुपर्ने केही कारण छैन । 

नेपालमा दलीय व्यवस्था छ । त्यसैलाई सुहाउने संविधान, राजनीतिक प्रणाली, पद्धति ऐेन, कानून, नियम छन् । त्यस्तो स्थितिमा एक व्यक्तिले के गर्न सक्छ ? केही दिन चटक देखाउन सक्ला तर लामो समयसम्मका लागि उसले केही नै गर्न सक्दैन । त्यस्तो सोच्नु बेकारको कुरा हो र त्यो समयको बर्बादी मात्र हो । यदि त्यस्तो हुन्थ्यो भने बोकाले नै दाइँ हुन्थ्यो, गोरू नै चाहिदैनथ्यो ।

नेपाललाई चाहिएको अमेरिकाको जस्तौ वैचारिक धरातलमा आधारित दुई दलीय ध्रुवीकरण नै हो । यसले दीर्घकालका लागि नेपालको आन्तरिक राष्ट्रियता बलियो बनाउँदै राजनीतिक स्थाियत्व दिन्छ । यसो गर्दा अन्तरराष्ट्रिय जगतमा पनि नेपालको दरिलो उपस्थिति हुन्छ। जनतालाई विचार र मुद्दाका आधारमा आवधिक विकल्प प्राप्त हुन्छ।

अहिलेको विश्व यही राजनीति समाधानको विन्दुमा आइपुगेको छ। यो विन्दुमा आइपुगेको नेपालका लागि अमेरिकामा बसेको एक नेपाली एक निर्दलीय व्यक्तिका लागि यति ठूलो मेनियामा पर्नुपर्ने कुनै कारण छैन ।

तर, पनि नेपाली जाति नै नेपाली जाति तथ्यमा भन्दा तर्कमा, यथार्थमा भन्दा भावनामा र वर्तमानमा भन्दा विगतमा बाँच्ने जाति हो । त्यसका लागि घरदेशमा होस् वा परदेशमा यो जातिलाई समर्थनका लागि होस् वा विरोधका लागि, कोही न कोही पात्र चाहिरहन्छ। 

बालेन अहिले केहीका लागि समर्थनको पात्र बनेका छन् । यो बालेन मोनिया पनि केही दिनको पाहुना जस्तै हो, अर्को चुनाव अघि नै बालेन फोवियामा परिणत भैसक्नेछ ।

प्रकाशित मिति: : 2023-09-17 06:45:00

प्रतिकृया दिनुहोस्