जुम्लालाई देश विदेशमा चिनाएका छाैँ: ज्ञानेन्द्र शाही

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले जुम्लालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकाे बताएका छन्। उनले आफू जुम्लाबाट निर्वाचित भएपछि जुम्लाकाे पहिचान स्थापित गर्न सकेकाे बताएका हुन्।

साेमबार गृह जिल्लाका पत्रकारहरुसँगकाे छलफलका क्रममा उनले हिजाेकाे दिनमा जुम्ली भनेर कसैले नचिन्ने स्थिति भएपनि हाल सबैकाे जिब्राेमा जुम्ला झुन्डिएको बताएका हुन्।

'इतिहासमा पहिलाेपल्ट सदन चलेकै दिन राेष्टममा गएर विशेष समयमा बाेल्ने माैका जुम्ला र यहाँका सांसदले कहिल्यै पाएनन्,' उनले भने, 'हामी पहिलाे दिनबाट आजका दिनसम्म पनि सदनमा जुम्लाकाे आवाज निरन्तर बाेलिरहेका छाैँ।'

पछिल्लो समय प्रधानमन्त्रीले हरेक हप्ता सदनमा उभिएर जनजिविकाका सवालमा जवाफ दिनुपर्ने र जवाफदेही हुनुपर्ने गरी नियमावली बनाउन भूमिका निर्वाह गरेकाे उनकाे भानाई छ।

उनले कसले के बाेल्याे भन्दा पनि के गर्‍यो भन्ने महत्वपूर्ण भएकाे हुँदा आफू जनताका लागि याे काम गरेँ भनेर नभन्ने बताए।

'अघिल्ला वर्षहरुभन्दा याे आर्थिक वर्षमा जुम्लामा धेरै बजेट आएकाे छ। म एकल क्रेडिट लिन्न,' उनले भने, 'हामी जुम्लाबाट प्रतिनिधित्व गर्ने सबै सांसद, कर्मचारी, पत्रकार, सराेकारवाला सबैकाे याेगदान छ।'

उनका अनुसार जनताकाे मान्छेले काम गर्दा दल नहेरी गर्ने र मैले गरेकाे छु भनेर भनिरहनु पर्दैन। त्यसैले चुनावताका जनतामाझ गएर ठूला सपना नदेखाएकाे हुँदा गरिएका बाचाहरु क्रमश पूरा गर्दै जने उनले बताए।

'हामीले स्विजरल्याण्ड बनाउँछाैँ भनेर भाेट मागेका हाेइनाैँ। जनताकाे आवश्यकता र स्थानीय उत्पादनकाे ब्रान्डिङ गर्ने भनेका थियाैँ,' उनले भने, 'कति काम थालिसकेका छाैँ भने कति प्रक्रियामा छन्।'

व्यक्तिगत रुपमा स्थानीय उत्पादनकाे ब्रान्डिङभन्दा पनि सरकारी तवरबाट किसानकाे उत्पादन खरिद गर्ने र बिक्री गरिदिने चाँजोपाँजो मिलाउनका लागि सक्रिय रहेकाे उनकाे भनाई छ।

जुम्लाका सांसदले कानुन बनाएर मात्रै नहुने र मजदुरले जसरी काम गर्नुपर्ने अवस्था रहेकाे उनकाे भनाइ छ। उनले भने, 'त्यसैले हामी देश विदेशमा अप्ठ्यारोमा परेका जनताका व्यक्तिगत समस्यामा पनि अल्झनु परेकाे छ।'

पछिल्लो समय हिन्दु राष्ट्र र राज संस्थाकाे वकालत गर्दै हिँडेका ज्ञानेन्द्र शाहीलाई दरबार हत्याकाण्डबारे नबाेलेकाे आराेप छ।

'दरबार हत्याकाण्डकाे छानबिन प्रचण्डले गर्नुपर्छ। उहाँले बाेल्नु पनि भएकाे छ। हामीले कहिले छानबिन हुनुहुँदैन र हत्यारा जेल जानू हुन्न भन्याैँ र?,' उनले प्रश्न गर्दै जवाफ दिए, 'यदि उहाँले छानबिन नगर्ने हाे भने कतै उहाँकै संलग्नता पाे छकी भन्ने शंका उत्पन्न हुन्छ।'

प्रकाशित मिति: : 2023-09-26 10:35:00

प्रतिकृया दिनुहोस्