जापानबाट एसिया प्यासिफिकको नेतृत्वमा ‘जम्प’ गर्दै शिवप्रसाद

BreaknLinks
BreaknLinks

कोरोना महामारीले सारा संसार ठप्प भइरहँदा नेपाल पनि त्यो संक्रमणले निकै थलिएको थियो। कोरोना संक्रमण जाँच्ने सामान्य टेस्ट किटदेखि अक्सिजनसम्मको अभावले नेपाली छटपटाइरहेका थिए।

त्यो बेला संसारभरिका देशमा छरिएका नेपालीलले नेपालका लागि स्वास्थ्य सामग्री र आर्थिक सहयोगहरू पनि पठाइरहेका थिए।

तीमध्ये जापानबाट पनि धेरैभन्दा धेरै स्वास्थ्य सामाग्री र पीडितहरूलाई राहत सामग्री नेपाल आयो। त्यसको जोहो गर्ने एकजना अगुवा थिए- शिवप्रसाद पौडेल।

जापानमा रहेका हजारौँ नेपाली हरेकसँग गाँसिएको एउटा चिरपरिचित नाम भइसकेको छ अब, शिवप्रसाद।

यो त्यत्तिकै चिनिएको नाम होइन, कुनै बेला पोखराको एउटा माध्यमिक विद्यालयमा पढाउने शिवका जापानसम्मको यात्रा र सफलता अनि परिचयका पछि एउटा लामो संघर्षको कथा जोडिएको छ।

करिब २० वर्षअघि जापान पुगेका शिव अहिले त्यहाँको नेपाली समुदायका एक सफल व्यवसायीका हुन्। र, उनको परिचय त्यत्तिमात्रै अटाउँदैन।

विदेशी भूमिमा आपत परेर छटपटाइरहेका नेपालीलाई सहयोगदेखि उद्धारसम्म अनि आफ्नो मातृभूमि नेपालका लागिसमेत असिमित योगदानले चिनाएका शिवप्रसाद एक कुसल संगठक, संयोजक र नेतृत्वकर्ता पनि हुन्।

जापान पुगेर एउटा आइटी कम्पनीमा दश वर्षसम्म जागिर गरेका शिवप्रसादले त्यसपछि आफैँ व्यापार र व्यवसायमा जोडिए। सन् २०१५ तिर उनले आफ्नै लगानीमा कम्पनी खोलेर सुरु गरेको घरजग्गाको कारोबार अहिले जापानभरि बलियो व्यावसायिक सञ्जालका रुपमा स्थापित भइसकेको छ।

नेटवर्किङ इन्जिनियर पनि हुन्, शिवप्रसाद। जीवनको एक चरण शिक्षक बनेर गुजारेका उनी सन् २००५ तिर अझ उज्यालो भविष्य खोज्दै जापानतिर हानिएका थिए। त्यहाँ पनि सुरुवाती जीवन जागिरमै बित्यो।

कर्मभूमिलाई उनले चिन्नु थियो। त्यसको चरित्र जान्नु थियो। जब उनले जापानलाई चिने, आफू त्यही माटोसँग अभ्यस्त भए अनि आफूलाई व्यापार व्यवसायमा होमिदिए।

एउटा कम्पनीबाट जापानमा उनले सुरुवात गरेको घरजग्गाको कारोबार अहिले १० वटा कम्पनीहरूले पनि धान्न सकिरहेका छैनन्। 

मेहनत, इमानदारिता र लगनशीलतालाई मूलमन्त्र बनाएर जीवनमा अघि बढिरहेका शिवप्रसादका अघि सफलताहरू ‘प्रसाद’जस्तै बनेर आइदिए।

आज जापानमा धेरै कारोबार गर्नेमध्ये ‘टप टेन’ रियल स्टेट कम्पनीका मालिक हुन्, शिव। व्यापार, व्यवसायमा हात हालेपछि पाइरहेको सफलतासँगै उनी यतिमात्रै रोकिएनन् बरु त्यसका क्षेत्रहरू पनि विस्तार गर्दै गए। र, ग्लोबल होम नेटवर्क जापान, ह्युमन रिसोर्सहरूलाई जापानमात्रै होइन नेपालमा पनि फैलाए। नेपालमा पनि कैयौँ व्यवसायमा उनको लगानी छ। सफलता पनि उत्तिकै छ।

व्यवसायको यो दौडमा शिवले आफ्नो देश र आफ्नो नेपालीपन भने कहिल्यै भुलेनन्। बरू व्यापार, व्यवसायबाट आएको एक हिस्सा कमाइ नेपाल र नेपालीको सेवामा लगाइरहेका छन्।

उनी धेरै संघ संस्थाहरूमा पनि छन्, जो नेपाल र नेपाली समाजमा केही काम गर्नका लागि उनले अगुवाइ गरे।

उनी गैरआवासीय नेपाली संघ (एनआरएन) जापानका निवर्तमान अध्यक्ष हुन्। त्यस्तै कास्की-पोखरा समाजमा पनि उनले नेतृत्वदायी भूमिका निभाए।

जापानमा व्यवसाय गरी बस्ने नेपाली व्यवसायीहरूलाई उनले एउटै छातामुनि राखेर त्यसको नेतृत्व पनि गरे। उनी लायन्स क्लबको अन्तर्राष्ट्रिय कमिटीमा पनि बसेर काम गरिसकेका छन्। यस्ता दर्जनौँ नेपाली संघ संस्थामा उनको योगदान अविष्मरणीय छ।

लामो समय गैरआवासीय नेपालीको अभियानमा गाँसिएका शिवप्रसादले आगामी कार्यकालका लागि (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रको संयोजक(आरसी)मा उम्मेदारीको घोषाण गरेका छन्।

यतिबेला उनी त्यो पदमा पुगेपछि आफूले गर्ने कामहरूको सूची लिएर विभिन्न देशका गैरआवासीय नेपालीमाझ पुगिरहेका छन्। र, संगठनको सुधार अनि नेपाल र नेपालीको हितका लागि काम गर्ने आफ्ना वाचाहरू सुनाइरहेका छन्।

सन् २०१५ देखि एनआरएनएमा जोडिएका शिव एनआरएनएमा लाग्नुअघि पनि विभिन्न नेपाली संघ संस्थामा रहेर नेपाल र नेपालीहरूको सेवामा तल्लीन भएर लागे। स्वदेश वा विदेश नेपालीलाई केही आपत/विपत पर्नासाथ शिव आफूलाई तैनाथ गरिहाल्छन्।

नेपालको स्वास्थ्य, शिक्षालगायत थुप्रै क्षेत्रमा उनले पटक-पटक सहयोग गर्दै आएका छन्।

शिवले सन् २०१७–१९ मा एनआरएनए जापानको उपाध्यक्षमा रहेर काम गरेका थिए। त्यसैगरी २१–२३ मा अध्यक्ष भएर काम गरेका थिए। उनी नेपाल जापान व्यवसायी संघका सदस्यसमेत हुन्।

अब एनआरएनएको क्षेत्रीय संयोजक भएर शिवले आफूले गर्ने कामहरूको यस्तो सूची बनाएका छन्-

- वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनका लागि सम्बन्धित निकायहरूमा पहल गर्ने।

- श्रमिकको हक अधिकारको लागि बिचौलियाको हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पीडित बनाइने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।

- विदेशमा जाने श्रमिकलाई सक्षम र सबल तथा दक्ष बनाउनको लागि गन्तव्य मुलुक जानुअघि सम्बन्धित कार्यको सीपयुक्त बनाउन एनआरएनएमार्फत् निःशुल्क सीप सिकाउन भोकेसनल पार्क तथा कलेजको स्थापना गर्ने।

- श्रम स्वीकृति लिन विद्यमान झण्झटिलो प्रक्रियाको समाधानका लागि नेपाल सरकारसँग पहल गर्ने।

- सामाजिक सुरक्षा कोषबाट पाइने सम्पूर्ण सुविधाको बारेमा प्रवासमा रहेका हरेक नेपालीलाई सुसूचित बनाउन सचेतनमूलक कार्यक्रमका लागि एनएसीसीसँगको समन्वयमा कार्यक्रम गर्ने।

- गैरआवासीय नेपालीलाई नागरिकताको निरन्तरता र विदेशमा बस्ने नेपालीलाई सम्बन्धित मुलुकहरूबाट मताधिकारको सुरक्षा सुनिश्चित गर्न पहल गर्ने।

- एसिया प्यासिफिक क्षेत्रको लागि छुट्टै बैङ्किङ कारोबार गर्नका लागि खाता सञ्चालनमा ल्याएर सोमार्फत् राहत कोषको स्थापनार्थ पहल गर्ने।

- वैधानिक रूपमा रेमिट्यान्स नेपाल भित्र्याउन र वैदेशिक लगानीको वातावरण सिर्जना गर्न पहल गर्ने।

- एनआरएनले गर्ने राष्ट्रिय खेलकूदको लागि विदेशबाट नेपाल जाने खेलाडीका हवाई टिकट, होटल, बिमा र अन्य सहुलियतका लागि खेलकूद प्रतिष्ठानमार्फत् छुट्टै कोष बनाउने।

- पिएनओ परिचय-पत्रका लागि सरकारसँग पहल गर्ने।

मध्यपूर्वबाट एनआरएनएको नेतृत्वमा उदाउँदैछन्, ठाकुर

प्रकाशित मिति: : 2023-09-29 18:28:00

प्रतिकृया दिनुहोस्