एनआरएनएमा उज्यालिएका ‘रोशन’: जसले ल्याउनेछन् १ मिलियन डलरको ‘युथ फण्ड’ 

डिल्ली पाण्डे

काठमाडाैं

रोशन थापा। जापान र अफ्रिकाका कतिपय देशमा जमेका सफल नेपाली युवा व्यवासायी हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पनि छोटो समयमै लोकप्रियता कमाएका व्यक्ति हुन्, रोशन।

रोशन संघमा अहिले युवा उपाध्यक्ष भएर काम गरिरहेका छन्।

लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका थापा अनुभवी र नेतृत्वको सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्।

२ दशकअघि अध्ययनका लागि इलामबाट जापान पुगेका थापाले अहिले आफूलाई सफल व्यवासायीमात्रै होइन, गैरआवासीय नेपालमाझ आफूलाई जबर्जस्त उभ्याउन सफल भएका छन्।

थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन्। उनी अटो मोबाइल र रियल स्टेट व्यवसायी हुन्। थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन्। नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी छ।

थापासँग यसअघि एनआरएनए ताम्जिानियाको दुई कार्यकाल नेतृत्व गरेको अनुभव पनि छ।

उनले एनआरएनए अफ्रिकाको क्षेत्रीय संयोजक पनि भएर काम गरे।

आगामी अक्टोबरमा हुने एघारौं महाधिवेशनमा थापाले फेरि युवा उपाध्यक्ष पदमै उम्मेदवारी दिने तयारी थालेका छन्। त्यसका लागि उनी विश्व दौडाहमा निस्केका छन्।

उनले आगामी कार्यकालमा एनआरएनएको निर्वाचन प्रणाली अमेरिकी मोडलमा गराउने लक्ष्य राखेका छन्। ‘अब सबै क्षेत्र, भूगोल र जनसंख्याको उचित प्रतिनिधित्व हुनेगरी मतभारको आधारमा सबैले मतदान गर्न पाउने व्यवस्था अपरिहार्य भइसकेको छ,’ थापाले भने।

युवा तथा विदेशमा हुर्किदैँ गरेका दोस्रो पुस्ताका लागि राष्ट्रिय समितिहरू (एनसीसी)लाई परिचालन गरेर एक मिलियन डलरको युथ फन्ड स्थापना गर्ने एजेन्डा उनले अघि सारेका छन्।

व्यवसायसँगै सामाजिक काममा पनि उल्लेखनीय योगदान पुर्‍याएका रोशनले एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएका छन्।

एनआरएनएको देश विदेशमा हुने प्रायः कार्यक्रममा र अभियानहरूमा उनी छुट्दैनन्।

युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको भन्दै रोशनले विभिन्न देशहरूमा छरिएर रहेका नेपाली युवाहरूको सीप, क्षमता र दक्षतालाई नेपाल निर्माणमा जोड्ने योजना अघि सारेका छन्।

‘देशभन्दा बाहिर जति पनि युवा छन् उनीहरुसँग एउटा ज्ञान, सीप र अनुभव छ, त्यसलाई कसरी नेपालमा रहेका युवाहरुसमक्ष पुर्‍याउन सकिन्छ,भन्ने मेरो प्रमुख एजेन्डा हो। विश्वभरमा रहेका नेपाली युवाहरूसँगको सहकार्यबाट देशको विकासमा योगदान दिनेछु,’ थापा भन्छन्।

युवाहरूलाई नेपालमै रोजगारीको अवसर सिर्जना गरेर उनीहरुको भूमिका स्वदेशमै बढाउन आफूले पहल गर्ने उनको भनाइ छ।

छोटो समयमै विश्वभर लोकप्रियता कमाएका थापालाई युवा उपाध्यक्षमा दोहोरिन दबाब बढेको हो। युवा उपाध्यक्षमा साझा उम्मेदवार बन्ने सम्भावना पनि प्रवल छ।

महेश श्रेष्ठले युवा उपाध्यक्षमा अर्को उम्मेदवार नउठाउने वाचा गरिसकेका छन्।

युवा उपाध्यक्षमा रोशनलाई नै सघाउँदैछ महेशको टीम।

यता डा. केसीले पनि रोशनको नाम आफ्नो टीममा राखेका छन्। आरके शर्माले पनि रोशनलाई सहयोग प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति: : 2023-09-30 06:40:00

प्रतिकृया दिनुहोस्