संसदमा इजरायल बहस: ‘नेपालीहरूको उद्धार गरियाेस्, लापरबाही नगरियोस्’

शनिबार बिहानैदेखि इजरायल अशान्त छ। प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गाजा क्षेत्रमा रकेट आक्रमण गरेको छ। स्थलमार्ग हुँदै इजरायल प्रवेश गरेर हमासले केही भूभाग नियन्त्रणमा लिएको छ। त्यसको प्रतिउत्तरमा इजरायल पनि उत्रिइसकेको छ।

अहिले इजरायल–प्यालेस्टाइन युद्धमै छन्। सर्वसाधारण, विदेशी नागरिक र महिला तथा बालबालिकालाई हमास समूहले बन्धक बनाएर क्रूर तरिकाले हत्यासमेत गरेकाे छ। त्यसको मारमा नेपाली विद्यार्थीहरू पनि परेका छन्।

सो विषयमा परराष्ट्रमन्त्री एनपी साउदले आइतबार संसदलाई जानकारी दिँदै हमास समूहले आक्रमण गरेको स्थलमा अध्ययनका लागि रहेको १७ नेपाली विद्यार्थीमध्ये २ जना सकुशल रहेको र ३ जना घाइतेको अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

(आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएकाे पुष्टी भएको छ।)

नेपाल सरकारले प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा केही नेपाली हताहत भएको हुनसक्ने उनको भनाइ छ। ‘राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ’, उनले भने।

मन्त्री साउदकाअनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयरगिभरका रुपमा कार्यरत छन्। २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अन्तर्गत गएका थिए। कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका छन्। सुदूरपश्चिम विश्विद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत छन् र सोही क्षेत्रमा लडाइँ जारी छ।

युद्धको रणभूमिको बनेको इजरायलले संसारको ध्यान तानेको छ। नेपालको संसदमा यस विषयमा चर्कै आवाज उठेको छ। सांसदहरुले एकै स्वरमा भनेका छन्, ‘नेपालीहरुलाई कुनै कुराको कमी नहोस्।’

बैठकमा बोल्दै प्रतिपक्षी ठुलो दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीहरुको उद्धार गरेर राज्य छ भन्ने सहानुभूति दिलाउनुपर्ने बताए। गिरीले प्रधानमन्त्रीले इजरायलको प्रधानमन्त्रीलाई फोन गरेर नागरिको जीवन रक्षा गर्न र उद्धार तथा उपचारको कमी हुन नदिन आग्रह गर्नुपर्ने माग राखे।

उनले कोही नेपाल फर्कन चाहे छिमेकी मुलुकहरुसँग समन्वय गरेर नेपाल ल्यान पहल गर्नुपर्ने बताए। ‘वास्तवमा भन्ने हो भने त्यहाँ रहेका नेपाली दाजु-भाइ दिदीबहिनीहरूको उद्धारका निम्ति र उहाँहरूको जीवन रक्षाका निम्ति एक मिनेट पनि ढिलाइ गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘यो देशमा सरकार छ, मुलुकमा राज्य छ। ती नागरिकहरूको अभिभावक यो राज्य हो, सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले कदम उठाउनुपर्छ।’

उनले इजरायलका प्रधानमन्त्रीलाई सिधैं फोन गर्नुपर्ने बताए। उनले भने, ‘सरकारले एउटा विज्ञप्ति निकालेर मात्र पुग्दैन, सरकारका मन्त्रीले त्यहाँको घटना विवरण दिएर मात्र पनि पुग्दैन, देशको प्रधानमन्त्रीले त्यहाँको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गर्नुपर्‍यो। संवाद गर्नुपर्‍यो। हाम्रा नागरिकको छिटोभन्दा छिटो जीवन रक्षा हुनुपर्‍यो। उनीहरूलाई उद्धार गर्नुपर्‍यो। उनीहरूको उपचारको काम तुरून्तै हुनुपर्‍यो।’

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे नागरिक आतंङ्कीत भएर बस्नु परेको बताउँदै सरकारले विशेष पहल गर्नुपर्ने बताए। ‘इजरायलमा भएका नेपाली नागरिक आतंङ्कीत भएर बस्नु परेको छ। राज्य छ भन्ने किसिमको एउटा अनुभूति सरकारले दिलाओस् विशेष सुरक्षा र उपचारको पहल सरकारले गराओस् ध्यानाकषण गर्न चाहान्छु,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले इजरायलको घटनाले चिन्तित भएको बताउँदै उनीहरुको सुरक्षाको माग गरे। ‘इजरायलमा रहेका नेपाली नागरिकसँग सक्रिय सम्पर्क गरी उनीहरुको सुरक्षाको सुनिश्चिता र मानहितको प्रत्याभूति गराउन माग गर्दछौँ,’ उनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणा उद्धारको व्यवस्था तत्काल गर्नुपर्ने बताए। उनले भने, ‘नेपालीहरुको उद्धारका लागि अहिलेबाट नै व्यवस्था मिलाउनुपर्छ नत्र अन्तिम समयमा गाह्राे पर्ने देखिन्छ।’

यस्तै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपालीहरु असुरक्षित भएकाले नेपाल ल्याउन पहल गर्नुपर्ने माग गरे। ‘इजरायलमा भएका नेपालीहरु अत्यन्तै असुरक्षित भएका छन्। उनीहरु उद्धारका लागि नेपाल सरकारलाई गुहार गरिरहेका छन्। नेपाल सरकारले इजरायलमा फसेका नेपालीलाई उद्धारको लागि विशेष पहलका साथ ल्याउन जोडदार माग गर्दछु,’ उनले भने।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उनीहरुको लडाइँ पुरानो भएको बताउँदै अहिले नेपाली सिकार बन्न पुगेकाले उद्धार गर्नुपर्ने माग गरे।

अन्य सांसदहरुले पनि नेपालीहरुको सुरक्षाको माग गरेका थिए। आजको संसदमा शिक्षा विधेयकमा छलफल गर्नुपर्ने प्रमुख कार्यसूची थियो। तर, इजरायलमा भएको हताहतपछि सांसदहरु नेपालीको रक्षाका लागि सरकारले कुनै कसर बाँकी राख्न नहुने माग गरे।

प्रकाशित मिति: : 2023-10-08 22:10:00

प्रतिकृया दिनुहोस्