गगन थापाहरूकै सल्लाहमा ‘आममाफी’ पाएका थिए ‘रिगल’ले 

सडकदेखि सदन र सरकारसम्म अहिले एउटा ‘बदनाम’ भइरहेको एउटा नाम हो– रिगल। जो हरेक दिन मिडियामा ‘हेडलाइन’ बनेर छाइरहेका छन्।

हत्यारा, क्रूर अनि गुण्डा–नाइके र डन उपशीर्षकसँगै प्रचार गरिएको त्यो एउटा ‘बदनामी’मा जोडिएको पार्टी हो, नेपाली काँग्रेस। जसले आफूलाई संविधान, कानुन र विधिको मसिहा ठान्छ।

एउटा आरोपमा ‘दोषी’ ठहर भएका बाँके नेपालगन्जका योगराज ढकाल अर्थात् ‘रिगल’ पाँचवर्ष जेल बसेर राष्ट्रपतिको तोकादेशमा छुटे। संविधान दिवसको अवसर थियो, सरकारले भनेको थियो अनि राष्ट्रपति रामचन्द्र पौडेलले ‘लालमोहर’ लगाए। जहाँ– रिगलको पनि नाम थियो।

जो एकजना मान्छेको हत्या आरोपमा ‘मुख्य योजनाकार’ भनेर अदालतले प्रमाणित गरिदिएको थियो र उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। घटना हुँदा उनी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा बाँके क्षेत्र–३ को सभापति थिए।

त्यो राष्ट्रपतिको निर्णय थिएन, सरकारको थियो। सरकारको मात्रै पनि थिएन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को थियो। प्रचण्डको मात्रै थिएन, त्यो सिङ्गो मन्त्रिपरिषद्काे थियो। अझ भन्नुपर्दा त्यो मन्त्रिपरिषद्काे मात्रै थिएन, त्यो उनका सत्ताघटक काँग्रेसको थियो। अझ त्यसमा पनि काँग्रेस सभापति शेरबहादुर देउवाको थियो।

देउवाको मात्रै पनि थिएन, त्यो त देउवाले नेतृत्व गरेको पार्टी नेपाली काँग्रेसभित्रको एउटा समूह ‘गगन–शेखर’ (महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य शेखर कोइराला)को थियो।

अनि, त्यसलाई प्रचण्ड बसिरहेको मन्त्रिपरिषद्काे बैठकमा पेश गरेका थिए– कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले। उनी काँग्रेसका उपसभापति हुन् र शेखर–गगन समूहका नेता पनि।

शेखर कोइराला र गगन थापाकै सिफारिस र भागबण्डामा गुरुङ मन्त्री भएका हुन्।

शेखर–गगनको ‘दोक्लापन’

असोज ३ गते, संविधान दिवसको दिन राष्ट्रपतिको सिफारिसमा ६७० सय जना कैदीहरूले ‘आममाफी’ पाए। त्यसको सूचीमा एउटा नाम थियो– योगराज ढकाल अर्थात् ‘रिगल।’

यो त्यही नाम हो, जसले अहिले सडकदेखि सदन र सरकारसमेत तातिएको छ। कुनैबेला पश्चिम नेपालको नेपालगन्जमा ‘डनगिरी’मा उनको नाम थियो। पछि एक जनाको हत्याकाण्डको मुख्य योजनाकार भनेर उनलाई जन्मकैद सुनाइयो। त्यसपछि उनी जेलमै थिए।

उनले हत्या गरेको भनिएका बाँके कोहलपुरका चेतन मानन्धरकी पूर्वपत्नी अहिले त्यो आममाफीविरुद्ध सडकमै अनसन बसिरहेकी छिन् र सर्वोच्चमा मुद्दासमेत दायर गरेकी छिन्।

प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलगात जोडिएका सबै व्यक्ति र निकायसँग ‘कारण’ माग्दै सर्वोच्चले अब यो मुद्दा ‘पूर्ण इजलास’मा सुनुवाइ गर्ने फैसला गरिसकेको छ। त्यसको सुरुवात आजदेखि हुनेछ।

यो आममाफीका बारेमा सरकार र राष्ट्रपतिको चर्को आलोचना हुन थालेपछि गत असोग ८ गतेको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा कानुनमन्त्री तथा काँग्रेसका उपसभापति गुरुङले त्यसबारे आफूलाई थाहै नभएको भनेर केन्द्रीय सदस्यहरूलाई ढाँटे।

तर, सभापति शेरबहादुर देउवालाई थाहा थियो। ‘रिगललाई किन छोडेको?’ भनेर प्रश्न गरिरहेका महामन्त्री गगन थापालाई पनि थाहा थियो। नेपाली काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि त्यो बैठकमा थिए, उनीहरूलाई पनि थाहा थियो।

तर, अन्तिममा सभापति देउवाले त्यसबारे कुनै जवाफ दिएनन्। काँग्रेसले ‘लाइभ’ गरेर संसारभरि देखाइरहेको यो बैठकमा मन्त्री गुरुङले भने त्यसबारे सरकार र आफूलाई थाहै नभएको भनेर चर्को स्वरमा बोलिरहेका  थिए।

‘जेलबाट फाइल उठेर सुरुसुरु उतै राष्ट्रपति कार्यालयमा पुग्दोरहेछ। त्यो मन्त्रिपरिषद्मा आउँदै नआउँदोरहेछ। बडो अप्ठ्यारो रैछ। अनि कसरी उत्तर दिने,’ केन्द्रीय सदस्यहरूको प्रश्नमा उनले भने, ‘अब कानुनमन्त्रीले तरुण दलको गुण्डालाई छुटायो भनिरहेका छन्। लेखिरहेका छन्। हामीले त नबुझेको कुरा रहेछ अनि पत्रकारलाई गाली गरेर के गर्ने? त्यो बिचरो पत्रकारले झन के बुझ्दो हो?’

उनले आफ्नै नेताहरूले पनि कुरा नबुझेर आफ्नै मन्त्री र सरकारलाई गाली गरिरहेको भन्दै मनको बह पनि पोखे।

‘त्यसैले कम्तीमा हामीले अनि हाम्रा नेताहरूले त बुझेर डिफेन्स गर्नुपर्‍यो नि। त्यसैले बुझेरमात्रै कुरा गर्दा राम्रो हुन्छ। यसबारेमा त्यसका फाइलहरू मन्त्रिपरिषद्मा आएजस्तो लाग्दैन। यो मन्त्रीपरिषद्मा आउँदो रहेनछ। यो चाहिँ नआउँदोरहेछ,’ उनले भने, ‘मैले बुझेको यही हो। तर हाम्रै नेता साथीहरूले मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिलाई कठपुतली बनाउने? भन्दिनुहुन्छ। मैले नबुझेको हो कि नेता साथीहरूले नबुझेको हो? हामीलाई पनि थाहा छैन, संविधान दिवसका नाममा ६ सय, ७ सयजनाले आममाफी पाएछन्।’

तर, आममाफी दिनेबारे जानकारी दिन राष्ट्रपति कार्यालयले संविधान दिवसको अघिल्लो दिन जारी गरेको एउटा जानकारीपत्रमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘मन्त्रिपरिषद्का मिति २०८०–०५–२९ को बैठकको सिफारिस बमोजिम’ भनेर उल्लेख गरेका छन्।

गत बिहीबार संसदको बैठकमा गुरुङकै समूहका एक नेता तथा नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले त्यो आममाफीबारे सरकारलाई प्रश्न सोधेका थिए।

उनले कानुनका छिद्रहरू टाल्नुपर्ने पनि जिकीर गरेका थिए। र, सरकारले तिनै छिद्रका आधारमा पटकपटक गल्ती दोहोर्‍याइरहेको आरोप पनि लगाए।

‘कानुनका छिद्र प्रयोग गरेर बदनियतसाथ आममाफी दिइने प्रचलन गलत छ। आममाफीसम्बन्धी बनेका विभिन्न कानुन र अदालतका व्याख्याका बर्खिलाप पटकपटक माफी मिनाहा गरेर सरकारले गल्ती दोहोर्‍याइरहेको छ,’ थापाले भनेका थिए।

थापाले सरकारसँग यसको जवाफ पनि मागे र त्यो जवाफ संसदमा उभिएर दिन पनि आफ्नै पार्टी सामेल भएको संसदलाई चुनौती दिए।

यसअघि पनि पटकपटक थापाले प्रश्न उठाउन सुरु गरेपछि गुरुङले पार्टीको केन्द्रीय समितिको बैठकमै आफ्नै नेताहरूले कुरा नबुझेर आफूमाथि प्रहार गर्ने गरेको भन्दै पीडा पोखेका हुन्।

गुरुङ गगन–शेखर समूहले काँग्रेसभित्र स्थापित गर्दै गरेको समूहका नेता पनि हुन्। गगन–शेखरकै सिफारिस र उनीहरूकै कोटाबाट गुरुङ कानुनमन्त्री भएका हुन्।

‘यसमा सरकारले जवाफ दिनुपर्छ। आममाफीसम्बन्धी यस्ता घटना बाहिरिएपछि त्यसको विरोध हुन्छ तर यसको जरोसम्म पुगेर काम नै भएको छैन,’ थापाले भनेका थिए, ‘आममाफीसम्बन्धी छरिएर रहेका विभिन्न कानुनलाई एकीकृत गराएर सम्पूर्ण प्रक्रियाको व्याख्या गरौँ र कानुनी छिद्र टालौँ।’

उनले यसबारे सरकारलाई निर्देशन दिनका लागि सभामुखलाई पनि आग्रह गरे।

‘आसन अनुसार भाषण बदलेर हामी यो समस्याको समाधानमा पुग्दैनौं,’ थापाले भनेका छन्, ‘त्यसकारण, मेरो आग्रह छ, सदनले सरकारलाई निर्देशित गरोस्। अहिले भएका गल्ती र भविष्यमा हुन नदिन काम  गरौँ।’

यसबारे मुख नखोलेका काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले अदालतमा यो मुद्दा प्रवेश गरिसकेपछि मात्रै सामाजिक सञ्जालमा लामो भाषण लेखेका थिए।

‘आममाफी प्रकरणमा अदालतको प्रवेश स्वागतयोग्यl विसंगतिविरुद्ध नवीन बहस। लोकतन्त्रमा धब्बा लाग्ने कुनै पनि निर्णय बदरभागी हुनुपर्छ भन्ने विषय लोकको मतमात्रै होइन, मानवीय भावको अपेक्षा र सुशासनको माग पनि हो,’ उनले लेखेका थिए, ‘सकारात्मक आदेशमार्फत् अदालतले नकारात्मक कर्महरू नियन्त्रणमा `रचनात्मक हस्तक्षेप´ गर्नसक्छ l नकारात्मक आदेशले त्यसलाई वैधता मात्रै दिँदैन, निरन्तरतालाई प्रोत्साहित गर्नेछl मुद्दा चलिरहँदा यो भन्दा बढी नबोलौंl आगे अदालतकै मर्जी!’

उनले कानुनले दिएका कतिपय सहजता र सुविधाजन्य प्रावधानहरू ‘लोकतन्त्रको बदनाम तुल्याउन दुरुपयोग भएको’ पनि बताएका छन्।

‘संविधान र कानुनको व्याख्याको अधिकार अदालतमा हुनुलाई प्राविधिक होइन प्राज्ञिक कोणबाट हेरिनुपर्छl सजाय मिनाहा, सजाय अवधि कटौती, आममाफीजस्ता कानुनी प्रावधान लोकतन्त्र बदनाम तुल्याउन दुरुपयोग भएका छन्,’ उनले लेखेका छन्, ‘अदालतको आदेशले नवीन नजिर स्थापित गर्ने सकारात्मक अपेक्षामा छ देश।’

आममाफीका भइरहेका आलोचनाका विषय लिएर केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसदहरू राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका थिए।

तर, राष्ट्रपति पौडेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर त्यस विषयमा सम्झाउनुपर्ने भन्दै रास्वपाका नेताहरूलाई आफूले मन्त्रिपरिषद्ले ल्याएको विषयलाई इन्कार गर्न नसक्ने जवाफ दिए।

‘त्यो संसदीय र संवैधानिक व्यवस्थाअनुसार नै भएको हो। मन्त्रिपरिषद्बाट आएको विषयलाई मैले (राष्ट्रपतिले) इन्कार त गर्न सक्दैन’, उनले रास्वपाका नेताहरूलाई भनेका थिए, ‘प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर भन्नुपर्ने विषय यहाँ ल्याएर उल्टो पो गर्नुभयो कि!’

यसबारे सर्वोच्चले गत साता सरकार र राष्ट्रपति कार्यालयगायत विपक्षी बनाइएका सबै निकायहरूसँग लिखित जवाफ दिन मिति तोकेरै आदेश दिइसकेको छ।

मन्त्रिपरिद्मा भएको के थियो?

राष्ट्रपतिले संविधान दिवसको अघिल्लो दिन अर्थात् २ गते साँझपख सार्वजनिक गरेको एउटा सूचनाअनुसार भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘रिगल’को समेत नाम भएको ‘कैदीबन्दी’हरूको नाम भएको एउटा ‘आममाफी’को प्रस्तावलाई राष्ट्रपतिकहाँ सिफारिस गर्ने भनेर पारित गरिसकेको थियो।

भदौ ३० गते राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गए। उनी त्यतैबाट चीन गए र १५ दिन घुमेर असोज १३ गतेमात्रै फर्किए।

तर, प्रधानमन्त्री विदेश भ्रमण लागेपछि सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भदौ ३१ मात्रै सार्वजनिक गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूमा ‘आममाफी’को विषय कहिँकतै लेखिएको छैन।

नेपाली काँग्रेसका एक जना मन्त्रीकाअनुसार कैदीबन्दीहरूलाई आममाफी दिने सम्बन्धको प्रस्ताव मन्त्री धनराज गुरुङले नै मन्त्रिपरिषद्मा सुनाएका थिए। जो अहिले ‘हामीलाई त केही थाहा छैन। त्यो त सिधैं जेलरले फाइल बनाएर राष्ट्रपति कार्यालयमा पठाउने रहेछन्’, भनेर ढाँटिरहेका छन्।

‘त्यो प्रस्ताव हाम्रै मन्त्रीज्यूले मन्त्रिपरिषद्मा पेश गर्नुभएको थियो र प्रधानमन्त्रीज्यूले पनि फटाफट निर्णय गरिदिनुभयो,’ नेपाली काँग्रेसका तर्फबाट सरकारमा रहेका ती मन्त्री भन्छन्, ‘अहिले त सारा मन्त्रीहरू अनि नेपाली काँग्रेसलाई अपराधिजस्तो बनाइएको छ।’

उनकाअनुसार रिगललाई ‘आममाफी’ दिने प्रस्ताव र त्यसको निर्णय पनि कानुनअनुसार नै गरिएको हो। ‘रिगल’लाई त धेरैजसो काँग्रेसकै नेताहरूले चिन्दा पनि चिन्दैनन्।

‘मैले पनि अहिलेसम्म भेटेको छैन। उहाँ (कानुनमन्त्री)ले चिन्नुहुन्छ कि,’ उनी भन्छन्, ‘अब पार्टीभित्र के कस्तो छ, त्यो त हामीले भन्नुभन्दा पनि तपाईंहरूले नै धेरै लेखिरहनुभएको छ। त्यो आममाफीबारे मन्त्रीहरूलाई थाहा नहुने कुरा त हुँदैन। आफैँले प्रस्ताव ल्याउने अनि अहिले आफूमाथि आइपर्‍यो भनेर पन्छिन खोज्ने, अरुलाई दोष देखाउनु त भएन नि!’

उनकाअनुसार बरु छुट्ने दिनमा काँग्रेसका नेताहरूले ‘धेरै तामझाम नगर्नू’ भनेर भनेका थिए।

‘तर केटाहरूले धेरै तामझाम गरेछन्,’ ती मन्त्री भन्छन्, ‘हाम्रा मन्त्रीज्यूले प्रस्ताव लगेपछि मन्त्रिपरिषद्मा कानुन र संविधानका व्यवस्थाबारे पनि छलफल भएको थियो। त्यसकै आधारमा मन्त्रिपरिषद्बाट निर्णय भएको छ। यसमा राष्ट्रपतिज्यूको पनि कुनै हात छैन।’

कानुनमा के छ?

बाँके जिल्ला अदालतले २०७५ साल वैशाख ११ गते ‘सर्वस्वसहित जन्मकैद’को फैसला गरेको थियो। तर, उनले २०७२ सालको भदौमा नै जिल्ला अदालतमा ‘आत्मसमर्पण’ गरिसकेका थिए।

र, आममाफी नपाउञ्जेल उनी जेलमै थिए।

सुरुमा केही महिना बाँके जिल्ला कारागारमा रहेका उनलाई काठमाडौँ सारिएको थियो। त्यसपछि फेरि नेपालगञ्ज लगियो र ‘कैदमाफी’ हुनेबेला उनी दाङ जिल्ला कारागारमा थिए।

यही जिल्ला कारागारले उनको ‘कैदमाफी’ सिफारिस गृहमन्त्रालयमा पठाएको थियो। त्यो फाइल गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुँदै कानुनमन्त्रीकहाँ पुग्यो र मन्त्री गुरुङले त्यसलाई मन्त्रिपरिषद्मा पेश गरे। मन्त्रिपरिषद् बैठकले त्यसलाई पारित गर्‍यो अनि राष्ट्रपतिकहाँ सिफारिस गर्‍यो। त्यसपछि राष्ट्रपतिले प्रमाणित गरेपछि उनीसँगै ६७० जनाको ‘कैदमाफ’ भयो।

कारागार प्रशासनले कारागार व्यवस्थापन विभागको मापदण्डका आधारमा उनलाई आममाफी दिइएको जनाएको छ।

कारागारका निमित्त जेलर नवराज शर्माकाअनुसार आममाफीका लागि कारागार व्यवस्थापन विभागले आममाफी सिफारीसका लागि मापदण्ड तय गरेर कारागारहरूलाई परिपत्र गरेको हुन्छ।

परिपत्रमा २०७५ अघिको मुद्दामा जन्मकैदको मुद्धामा सजाय तोकिएकालाई २० वर्ष जेल सजाय तोकिन्थ्यो।

२०७५ अघिको मुद्दामा सजाय तोकिएकाहरूलाई ४० प्रतिशत जेल भुक्तान गरेको खण्डमा आममाफीको सिफारिस गर्न मिल्ने प्रावधान कारागार व्यवस्थापन विभागसँग छ।

यसैगरी २०७५ साल पछिको जन्मकैदको सजाय २५ वर्ष जेल सजाय कायम गरिएको छ। २०७५ पछिको घटनामा जन्मकैदको सजाय तोकिएकाको हकमा भने आममाफीका लागि ५० प्रतिशत जेल भुक्तान गरेको हुनुपर्छ। तर, रिगल भने २०७५ अघिको घटनामा सजाय तोकिएको र उनले ४० प्रतिशत जेल सजाय भुक्तान गरेकाले उनलाई घोराही कारागारले आममाफीका लागि सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा रिगलले आममाफी पाएको घोराही कारागारका निमित्त जेलर शर्माको दाबी छ। ‘०७५ अघिको घटनामा संलग्न भएका रिगलले आममाफीका लागि तोकिएको मापदण्ड अनुसार ४० प्रतिशत जेल भुक्तान गरेकाले उहाँलाई आममाफीका लागि कारागरले सिफारिस गरेको हो,’ निमित्त जेलर शर्मा भन्छन्, ‘सोही सिफारीसका आधारमा उहाँलाई आममाफीको घोषणा भयो होला।’

शर्माका अनुसार रिगलसँगै ०७५ अघि त्यही जेलमा रहेका जन्मकैदको सजाय तोकिएका र ४० प्रतिशत जेल भुक्तान गरेका अरू पाँच जनालाई पनि आममाफीका लागि सिफारिस गरिएको थियो। पाँच जनामध्ये रिगलसँगै दुई जनाले मात्रै आममाफी पाए।

यसैगरी २०७५ भन्दा पछिको घटनामा जन्मकैदको सजाय सुनाइएका र ५० प्रतिशत जेल भुक्तान गरेका ७ जनालाई आममाफीका लागि सिफारिस गरिएको थियो। तीमध्ये ६ जनाले आममाफी पाएका छन्।

यो मापदण्ड मात्रै नभई जेल सजाय काटिरहेकाहरूले आचरण सुधार भएको भए मात्रै आममाफी दिइने कारागार व्यवस्थापन विभागको नीति छ।

उक्त मापदण्ड पूरा गरेको प्रमाणसहित सम्बन्धित कैदीको आचरण सही भएको प्रमाणित गरेर कारागारका जेलरले कारागार व्यवस्थापन विभागमा सिफारिस गर्नुपर्ने हुन्छ।

कारागार प्रशासनले रिगलले कारागारभित्र भौतिक निर्माणको कामसँगै जेलमा रहेका कैदीहरूसँगको सम्बन्ध र समन्वय बलियो रुपमा स्थापित गरेको जनाएको छ।

कारागार प्रशासनकाअनुसार आफ्ना निकटस्थहरूको समन्वयमा रिगलले कारागारभित्र शौचालयहरू निर्माण गरेका थिए।

‘रिगलले आफ्ना निकटस्थहरूको सहयोगमा कारागारभित्र शौचालय लगायतका भौतिक निर्माण पनि गर्नुभएको थियो,’ निमित्त जेलर शर्मा भन्छन्, ‘कारागारमा रहेका कैदीहरूसँगको सम्बन्ध, समन्वय पनि राम्रो भएकाले उहाँलाई आचरणमा सुधार आएको प्रमाणित गरिएको हो।’

कैदीहरूसँगको समन्वय बलियो भएको र भौतिक निर्माणमा समेत भूमिका निर्वाह गरेको भन्दै रिगललाई दुई वर्षअघि कारागार प्रशासनले चौकीदार नियुक्त गरेको थियो।

‘कारागारको चौकीदार नियुक्त आचरण सुधार भएकाहरूलाई नै गरिन्छ’, शर्मा भन्छन्, ‘उहाँको आचरणमा सुधार भएकै कारण दुई वर्षअघि उहाँलाई चौकीदार नियुक्त पनि गरिएको थियो।’

के छ आममाफीको मापदण्ड?

जन्मकैदको हकमा ०७५ सालअघिको मुद्दाका कैदीलाई ४० प्रतिशत र २०७५ पछि जन्मकैदको सजाय भुक्तान गरिरहेका कैदीहरूले ५० प्रतिशत जेल भुक्तान गरेको खण्डमा उनीहरू आममाफीको सिफारिसमा पर्नसक्ने प्रावधान छ। यसका लागि उनिहरूको ‘आचरण’मा सुधार आएको हुनुपर्छ।

कारागारका निमित्त जेलर शर्माकाअनुसार तेजाव, ज्वलनशील, रासायनिक पदार्थ प्रयोग गरेर अंगभंग बनाएको मुद्दामा संलग्न भएकाले आममाफी पाउँदैनन्। यसैगरी जबर्जस्ती करणी, भ्रष्टाचारका दोषी, मानव बेचविखन, अपहरण शरीर बन्धकका दोषीहरूले पनि आममाफी पाउँदैनन्।

लागुऔषध, संगठित अपराध, सम्पत्ति शुद्धिकरण, यातना क्रुर वा अमानवीय वा अपमानजनक व्यवहारमा संलग्न दोषीहरूलाई आममाफीको सिफारीस गर्न नमिल्ने कानुन छ। कारागार व्यवस्थापन विभागले राज्यकाविरुद्ध कसुर, विध्वंशात्मक अपराध, नाबालिकामाथि यौन शोषणको मुद्दाका दोषीहरूलाई पनि आममाफीका लागि वर्जित गरेको छ।

प्रकाशित मिति: : 2023-10-11 18:00:00

प्रतिकृया दिनुहोस्