स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताएका छन्।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था (जिनेसोग)ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज शुभारम्भ गर्दै उनले अरनिको र बिपी राजमार्गको छेउमा रहेको यस अस्पतालका लागि विदेशी दातृ संस्थाबाट प्राप्त रकम नेपाल सकारले स्वीकार गरिसकेकोले आवश्यक व्यवस्थाका लागि सहजीकरण गरी अब छिट्टै सेवा सुरु गरिने बताएका हुन्।
समुदायस्तरमा सञ्चालन भएको उक्त अस्पताल गुणस्तरीय हुनाका साथै गरिब, असाहाय र विपन्न नागरिकलाई सहज, सुलभ र राम्रो सेवा पुर्याएकामा मन्त्री बस्नेतले यसको प्रशंसा गरे। राज्यको सानो सहयोगमा पनि आफ्नो बुद्धि र विवेकले सामुदायिक अस्पताल सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै उनले सामुदायिक अस्पताल सञ्चालन गर्न चाहनेले एक पटक धुलिखेल अस्पतालमा गएर हेर्नुपर्ने सरकारले पनि यहाँ भएको राम्रो कुरा अन्य अस्पतालमा पनि लागू गर्नुपर्ने आवश्यकता औँल्याए।
सो अवसरमा उनले धुलिखेल अस्पतालले यसअघि पनि महिलामा पिसाब चुहिने समस्याको राम्रो उपचार गर्न सफल भएको र अहिले पनि स्त्री तथा प्रसूति रोग विशेषज्ञबीच गरिएको सम्मेलनबाट थप तथा गुणस्तरीय सेवा प्रदान हुनेमा आफू विश्वस्त रहेको बताए।