जाजरकोटको बारेकोट गाउँपालिका–६ की १८ वर्षीया सुत्केरी सपना बस्नेतको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
सुत्केरी भएपछि स्वास्थ्य अवस्था जटिल भएका कारण उहाँको रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट आज उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको छ।
बारेकोट गाउँपालिकाको लिम्सास्थित स्वास्थ्य संस्थामा उपचार हुननसकेपछि बस्नेतलाई उपचारका लागि रुकुमपश्चिमको चौरजहारी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सुर्खेत लगिएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताएका छन्।
सुत्केरी ब्यथा लागेर गम्भीर भएकी बस्नेतले मृत बच्चा जन्माएकी थिइन्। आमाको स्वास्थ्य अवस्था जटिल बनेपछि गाउँपालिकाको समन्वयमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मार्फत हेलिकप्टरमा प्रदेश अस्पताल सुर्खेत लगिएको हो।