
बिएल संवाददाता
काठमाडौं
पूर्वमुख्यमन्त्रीसमेत रहेका नेपाली काँग्रेस काेशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीका सांसदहरूलाई पार्टी आचारसंहिताविपरीत गए कारबाही गर्ने चेतावनी दिएका छन्।
थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका केदार कार्की र उनलाई समर्थन गरेका सात सांसदलाई यस्ताे चेतावनी दिएका हुन्।
नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले सरकार गठनकाे लागि गरेकाे आवह्वान अनुसार केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। केदार कार्कीले एमालेकाे समर्थनमा दाबी पेश गरेपछि थापाले यस्ताे चेतावनी दिएका हुन्।
सरकार गठनकाे क्रममा पार्टीकाे ह्वीप नलागे पनि पार्टीकाे आचारसंहिताअनुसार सांसदहरुलाई कारबाही गरिने थापाले बताए।
‘दलको ह्वीप त नलाग्न सक्छ तर पार्टीको अनुशासन भने पक्कै लाग्छ,’ थापाले भने, ‘उहाँहरुले ख्याल गर्नुपर्याे किनभने पार्टी बनाएको सांसदले पार्टीको अनुशासन आचासंहिता लाग्न सक्छ।’
यद्यपि, उनले केदार कार्कीले दाबी फिर्ता लिने र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बाे (माैसम) नै मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरे।
यस विषयमा कुराकानीकाे लागि बिएल नेपाली सेवाकाे सम्पर्कमा आएका केदार कार्कीले प्रश्न सुने पनि जवाफ नदिएर फाेन काटे।
प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेअनुसार आज (शुक्रबार) साँझ पाँच बजेभित्र दाबी प्रस्तुत गर्नुपर्ने छ।
१ .
२ .
३ .
४ .
५ .